महिनावारी छल्न सदरमुकाम


‘अछामसँग जोडिएको छाउपडी प्रथाबारे सुन्दासुन्दा कहिले त हाम्लाई दिक्कै लाग्छ,’ प्रेस चौतारी अछामका अध्यक्ष पुष्प भट्टले भने, ‘छाउपडीको कुरा दिमागमा आयो कि बाहिरबाट आएका पत्रकारले हामीलाई खोजिहाल्छन् ।’ हुन पनि आगन्तुकले अछामको सम्पन्न संस्कृति, प्राकृतिक सम्पदा र इतिहासभन्दा पर पुगेर सोधखोज गर्ने नम्बर एक विषय हो– छाउपडी । अनि, सुरु हुन्छ अमानवीय प्रकारको, अस्वस्थ संस्कारको अवशेष छाउपडीको बेलिबिस्तार । कस्तो हुन्छ मानिस हुल्ने त्यो गोठ र कसरी तिनका रजोवृत्तिका दिन बित्छन् अनि के–कस्ता असुरक्षा र असहजतामा जिउनुपर्छ मासिक धर्मका बेला ? यिनै तर्कना, बहस, पर्यवेक्षण, भ्रमण र अन्तर्वार्तामा यात्राको आनन्द सकिन्छ । त्यहाँका महिला पनि आफ्ना भोगाइ र सास्तीको बेलिबिस्तार लाउन अभ्यस्त भइसकेका छन् ।
समाजमा महिलाको मासिक स्रावबारे फरकफरक दृष्टिकोण र अभ्यास छन्, मासिक रजोवृत्तिलाई बार्ने आ–आफ्नै खालको चलन छ । काठमाडौंको नेवारी समाजको रजस्वला नभइसकेकी किशोरीलाई गुफा राख्ने चलन अद्यापि बलियै छ भने कतिपय स्थानमा पहिलो वा दोस्रोपटक महिनावारी हुँदा घरबाहिर बस्ने चलन छ । मध्यपश्चिम र सुदूरपश्चिमका केही समुदायमा महिनावारीलाई छुवा अर्थात् छाउ भएको भन्ने गरिन्छ । त्यही छाउ बार्ने परम्पराका नाममा सयौँ वर्षदेखि महिला पीडित छन् । उनीहरूका लागि छाउपडी गोठ एक प्रकारको यातनागृह जस्तै छ । नसुनेका र नबुझेका मानिसका लागि यो अनौठो र अविश्वसनीय लोककथाजस्तो लाग्न सक्छ ।
अछामका महिला रजस्वला हँुदा रातमा चन्द्रमा र दिनमा सूर्य देखिने गोठमा बस्छन् । एकजना आरामले सुत्न पुग्ने ठाउँमा पन्ध्रजनासम्मले रात बिताएको अनुभव छ, मंगलसेन–५ निवासी अधबैँसे राधा नेपालीसँग । पाँचदेखि सात दिनसम्म उनीहरूका लागि त्यही सानो छाप्रो सुत्ने/खाने घर हो । ‘केही महिनाअघि मात्रै छाउपडी गोठमा सर्पले टोकेर दुई महिलाले ज्यान गुमाए,’ ६ दशक उमेर पार गरिसकेकी र छाउपडीका कष्ट भोगिआएकी समाजसेवी मना भण्डारीले भनिन् ।
यस प्रथाको मनोवैज्ञानिक परिणाम– छाउ भएर गोठमा बस्नेले शान्तिले रात बिताउन पाउँदैनन् न त उनीहरूलाई छाउपडीमा पठाएर घरमा बस्नेको मन नै शान्त हुन्छ । छाउका बेला एकातिर जंगली जनावरको आक्रमणको सम्भावना हुन्छ अर्कातर्फ आपराधिक मनोवृत्तिका पुरुषको डर । दुवै पक्षमा त्रास र भय, आशंका र दुर्घटनाको छाया मडारिइरहेको हुन्छ ।
अलि बढी पढेका, सचेत नागरिक बस्ने सदरमुकाम मंगलसेनको हालत त यस्तो छ भने विकट गाउँका महिलाको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । मंगलसेनमा महिला र बालबालिकाको विकास गर्ने जिम्मा पाएको महिला विकास शाखाजस्ता सरकारी कार्यालय मात्र होइन, घरैपिच्छेजसो गैरसरकारी संस्थाका अड्डाहरू छन्, परिवर्तनका नाममा हप्तैजसो कुनै न कुनै तालिम र गोष्ठी गरिरहेका हुन्छन् । महिला सशक्तीकरण र छाउपडीकै नाममा काम गर्ने दाबी गरिआएका संस्थाहरूको पनि कमी छैन । तर, पनि छाउपडी संस्कार अछामी जनताको मुटुमा गाडिएको किलोकै रूपमा छ र त्यसलाई फेदैदेखि हल्लाउने काम कसैले गर्न सकेको देखिएन ।
उमेरले पाको भइसकेकी र मासिक धर्म बन्द भइसकेकी मंगलसेनकी पाटु विकलाई हिजोआज छाउ गोठमा दिन–रात बिताउन पर्दैन तर उनले आफ्नो जीवनका करिब ३० वर्ष गोठमा बिताएका असह्य पीडाका क्षण भने कहिल्यै बिर्सिन सकिने खालका छैनन् । पाटुलाई महिनावारी हँुदा दिनभर काम गरेर खान भने कहिलेकाहीँ मात्र मिल्थ्यो । कहिलेकाहीँ घरकाले लगेर परबाट दिन्थे । पानी मात्र खाएर बिताएका दिनका स्मृति पनि ताजै छन् ।
‘कम दु:ख पाया होइन, उतिबेला छाउ हुँदा हाम्ले,’ पाटुको अनुहारमा एक प्रकारको घृणाको लहर दौडेको देखियो, ‘रातभर कताबाट के आउन्या हो भनीकन अनिदो बस्नेअथ्र्यांै हामी †’
किसान परिवारका भएकाले दूधदही त दिँदा हुन् कि भनी अनुमान लगाइन्छ, स्वाभाविक रूपमा । तर, दूधदहीलाई पवित्र मान्ने र त्यसलाई महिनाबारी भएकी महिलाले छुन नहुने अन्धविश्वास बलियोसँग गाडिएको रहेछ । ‘त्यो सम्भव हुन्या कुरै होइन,’ मेरो जिज्ञासा मेट्दै पाटुले भनिन्, ‘ओ हजुर † छाउकी बेला घर बस्न नदिन्याले गाईभैँसीको दूध–दही दिँदा हुन् क्या ?’
छाउपडीमा ओछ्यानको नाममा परालमाथि पातलो तन्ना हालिएको हुन्छ । मुटु छेड्ने सिरेटोमा पातलो ओढ्नेले के थामोस् † मंगला विकको अनुभवमा समाजलाई पूरै फेर्न सकिँदो रहेनछ । उनका विचारमा अन्धविश्वास र कुरीतिबाट समाजलाई मुक्त गर्ने भनी आयोजना गरिएका तालिम गोष्ठीमा जाने अनि छाउ हुँदा बारेन भनेर कुरा काट्ने प्रवृत्ति अझै बलशाली छ । सुत्केरी बस्ने अवधिमा तातोतातो झोल र न्यानो ओछ्यान होइन, बरु गोठको बास र नुनभातको गाँस दिने चलन रहेछ ग्रामीण अछाममा आज पनि ।
अन्तरपार्टी महिला सञ्जाल अछामकी अध्यक्ष सरिता उपाध्याय भन्छिन्– ‘म त गुल्मीकी चेली, बाबाआमाले बिहे गरेर यहाँ पठाए । न यहाँको चालचलन थाहा थियो न त कोही चिनेका । पहिलोपटक गोठमा बस्दा रोएरै बिताएँ मैले, खाना पनि खाइनँ ।’
गुल्मीजस्तो तुलनात्मक दृष्टिले उन्नत समाजबाट छाउपडी प्रथाले बदनाम जिल्ला अछाममा आएकी सरिताका लागि बाँकी दिन अन्धकारमय लाग्न थालेका थिए– ‘म त अब मर्छु होला, यस्तो जीवन पनि के बाँच्नु जस्तो लाग्यो ।’ कहिलेकाहीँ माइत जाँदा आफन्तहरू उनको भोगाइलाई बडो चाख मानेर सुन्छन्, बाजेबज्यैबाट लोककथा सुनेजस्तै । तर, आज उनीहरू घरभित्रै अलगअलग बस्छन् । छाउपडीको समाजमा यो पनि प्रगतिशील अनुभव हो । हामीले भेटेकामध्ये केही महिलाले केही समयअघि बयला गाविस कालेकाँडाका दुई महिला गोठमा निसास्सिएर मरेको सुनाए । सुत्केरी बस्दा बच्चालाई बाघले खाएको, अस्वस्थ चिसो वातावरणका कारण न्युमोनियाले मरेका घटना पनि रहेछन् । छाउ भएकी महिलाले टेकेको चिसो ठाउँसमेत अपवित्र मान्छन् त्यहाँ । तर, एउटा बग्ेलै अभ्यास पनि चल्दो छ अछाममा– नजिकका गाउँतिरका पेसा व्यवसायमा लागेका वा राजनीतिकर्मीका परिवारका महिला अचेल महिनावारी हुने बेला मंगलसेन आएर बस्न थालेका छन् । कसलाई के पत्तो ?

प्रतिक्रिया