आफन्तबाटै घाँटी निमोठियो

दाङ : ‘सानो हुँदा मर्लान् भन्ने डर, ठूलो भएपछि मार्लान् भन्ने डर’ भन्ने नेपाली उखान लागू भयो बमकली पुनमगरमा । घोराही–१ सराकी ७७ वर्षीया पुनलाई छोरा नारायणले नै निर्ममतापूर्वक हत्या गरे ।
हत्या दर्दनाक र भयावह मानिन्छ, क्रूरताको पराकाष्ठा पनि । तुलसीपुरकी १८ वर्षीया टीका पुनले पनि २३ दिनकी छोरी मुनाको हत्या गरिन् । पतिले छोरी मेरो होइन भन्दै मानसिक यातना दिएपछि उनले छोरीको हत्या गरेकी हुन् ।
यस्तै, डुरुवाका ३५ वर्षीय प्रेमलाल चौधरीले ३१ वर्षीया पत्नी प्रदेशनीको हत्या गरे । जीवनभर सँगै रहने कसम खाएका दम्पती नै एकअर्काको हत्यामा सामेल हुन्छन् । प्रेमलालले हेमन्तपुर प्रहरी चौकीमा पुगेर पत्नीको हत्या गरेको भन्दै आत्मसमर्पण गरे । सामान्य घरझगडामै उनले पत्नीलाई कुटेर
मारेका हुन् ।
दाङमा एक आर्थिक वर्षमा २९ हत्याका घटना भएको प्रहरीले जनाएको छ । अधिकांश घटनामा आवेशमा आएर आफन्तको हत्या भएको पाइएको छ । प्रहरीले त योजनाबद्ध हत्यासमेत हुन छाडेको दाबी गरेको छ । (सौस)

प्रतिक्रिया