मोर्चामा सहभागी हुन विपक्षीलाई आग्रह

काठमाडौं, २९ साउन । एकीकृत माओवादी सहितका सत्तारुढ दलहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गर्दै कांग्रेस र एमालेलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ र सरकारलाई समर्थन गर्ने २६ दलको बैठकले मोर्चा बनाएर जाने सहमति गर्ने निर्णय गरेको फोरम गणतान्त्रिकका अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । मोर्चामा सबै दलका अध्यक्ष सहभागी हुने छन् ।
संघीय गणतान्त्रिक शक्तिहरुलाई समेटेर मोर्चा बनाएको यादवले बताए । सत्तारुढ दलहरुको मोर्चा बनाउने निर्णयसँगै दलहरुका वीच धु्रविकरण बढ्ने भएको छ । विपक्षी दलहरुले पनि अलग गठबन्धन बनाई सकेका छन् ।
मोर्चालाई बिहीबार अधिकारिक रुपमा घोषणा गर्ने निर्णय गरेको बताएका यादवले मोर्चामा नागरिक समाजलाई पनि समेट्ने बताए ।
बैठकले कांग्रेस र एमालेलाई पनि मोर्चामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया