बोल्टलाई छैटौ ओलम्पिक स्वर्ण

लन्डन, २९ साउन । स्टार एथलेट युसान बोल्ट सम्मिलित जमैकाको टोलीले विश्व कीर्तिमानसहित पुरुष चारगुणा १०० मिटर रिले दौडको स्वर्णपदक जितेको छ । शनिबार राति भएको खेलमा नेस्टा कार्टर, माइकल फ्राटर, योहान ब्लेक र बोल्ट सम्मिलित जमैकाको टोलीले ३६.८४ सेकेन्डमा रेस पूरा गर्‍यो । उक्त स्पर्धामा अमेरिकाले रजत तथा ट्रिनिडाड एन्ड टोबागोले कांस्यपदक जिते । यो सफलतासँगै बोल्ट लगातार दुवै ओलम्पिकमा १००, २०० र रिलेको तीनवटैको उपाधि रक्षा गर्ने खेलाडीका रूपमा रहन सफल भएका छन् ।
महिलाको चारगुणा ४०० मिटर रिलेमा अमेरिकाले स्वर्णपदक जित्यो । उक्त स्पर्धामा रुसले रजत तथा जमैकाले कांस्यपदक जिते । अमेरिकी टोलीमा समावेश एलिसन फेलिक्स पनि यो ओलम्पिकमा तेस्रो स्वर्णपदक जित्न सफल भइन् । उनले २०० मिटरमा स्वर्णपदक जित्न सफल भइन् भने चारगुणा ४०० मिटरको रिलेमा पनि स्वर्णपदक जितिन् । दोस्रो ल्यापमा कुदेकी फेलिक्सले अन्य सबै प्रतिद्वन्द्वीलाई धेरै पछि पारेकी थिइन् ।
महिला ८०० मिटर दौडमा रुसकी मारिया सारिनोभाले स्वर्णपदक जितिन् । लैंगिक विवादमा मुछिँदै आएकी दक्षिण अफ्रिकी धाविका कास्टर समान्याले रजतपदक जितिन् भने रुसकै एटटारिना पोस्टिकोभाले कांस्यपदक जितिन् । पुरुष ५ हजार मिटर दौडमा घरेलु टोलीका मोहम्मद फराहले स्वर्णपदक जिते । इथोपियाका डेजान गेब्रेमेस्केलले रजत तथा केन्याका थोमस केन्विकाइ लोब्सिकवाले कांस्यपदक जिते ।
ज्याभलिन थ्रोमा ट्रिनिडाडका केस्कर वालकोटले स्वर्णपदक जिते । १९ वर्षीय वालकोट विश्व युथ च्याम्पियनसमेत हुन् । युुक्रेनका ओलेक्सान्डर प्याटिन्स्काले रजत तथा फिनल्यान्डका एटिन रुस्केनाले कांस्यपदक जिते । महिला हाइजम्पमा रुसकी अन्ना चिकेरोभाले स्वर्ण तथा अमेरिकाकी ब्रिगेटा बारेटले रजतपदक जितिन् । रुसकै स्वेतलाना सोकेलिनाले कांस्यपदक जितिन् ।
महिला भलिबलमा अमेरिकालाई हराउँदै ब्राजिलले स्वर्णपदक जित्यो । पहिलो सेट ११–२५ ले गुमाएको ब्राजिलले दोस्रो सेटदेखि सानदार प्रदर्शन गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो ।
पुरुष पेन्टाथलनमा चेक गणतन्त्रका डेविड सोबोडाले स्वर्णपदक जिते । उक्त स्पर्धामा चीनका झोंग रोंगकोले रजत तथा हंगेरीका एडम मारोसीले कांस्यपदक जिते । महिला हयान्डबलमा नर्वेले मन्टेनेग्रोलाई हराउँदै स्वर्णपदक जित्यो । स्पेनले कांस्यपदक पायो । डाइभिङमा भने अमेरिकाले पहिलो स्वर्णपदक जितेको छ । १० मिटर प्लेटफर्ममा अमेरिकी डेविड वुइडियाले स्वर्ण तथा चीनका बो क्विइले रजतपदक जिते । बेलायतका थोमस डेलीले कांस्यपदक जिते । यसपटक डाइभिङमा अस्वाभाविक प्रदर्शन गरेको अमेरिकाले १ स्वर्ण र २ रजतपदक जित्यो ।
बक्सिङको पुरुष फ्लाइवेटमा विश्व च्याम्पियनसमेत रहेका सिमिउ जोले थाइल्यान्डका कोइ पोंग्रियोगलाई हराउँदै स्वर्णपदक जिते । उक्त स्पर्धामा रुसका डेविड आर्यटन र आयरल्यान्डका पेडी बारनेसले कांस्यपदक जिते । बेन्टमवेटमा बेलायतका लुक क्यामबेले स्वर्णपदक जिते । आयरल्यान्डका जोन ओ नेचिनले रजतपदक जिते भने जापानका सातोसी सिमिजु र क्युवाका लाजारो असट्रजाले कांस्यपदक जिते । लाइट फेल्टरवेटमा क्युवाका रोनियल इग्लेसियास सोटो लोन्गोले स्वर्णपदक जिते । युक्रेनका डेनिस बारुन्चुकले रजतपदक जिते । मंगोलियाका मुक उर्डेन तथा इटालीका भिन्सेन्टे म्याथ्निकाप्रेले कांस्यपदक जिते । बक्सिङकै हेभिवेटमा युक्रेनका अलेक्जेन्डर युसुकले स्वर्णपदक जिते भने इटालीका क्लेमेन्टे रुसोले रजतपदक जिते । अजरबैजानका टेमेम मामारोभ र बल्गेरियाका टार्भेल पुलेभले कांस्यपदक जिते ।
तेक्वान्दोको महिला हेभिवेटमा सर्बियाका मिलिका मान्डिकले फ्रान्सकी आने क्यारोल गारेफलाई हराउँदै स्वर्णपदक जिते । रुसकी अनास्टासिया बिरिस्चिन्कोभा र मेक्सिकोकी मारिया डे रोसारियाले कांस्यपदक जिते । पुरुष हेभिवेटमा इटालीका कार्लो मोर्पेmटाले स्वर्ण, गाबोनका एन्थोनी ओबामेले रजत, चीनका जिउ बाओ लिउ र क्युवाका रोबलेस डेस्पानेले कांस्यपदक जिते । महिला बास्केटबलमा फ्रान्सलाई हराउँदै अमेरिकाले स्वर्णपदक जित्यो । अस्ट्रेलियाले कांस्यपदक जित्यो ।
पुरुष भलिबलतर्फ रसियाले ब्राजिललाई हराउँदै स्वर्णपदक जित्न सफल भएको छ । ब्राजिलले पहिलो दुई सेटमा जित हासिल गरेपनि खेलमा फर्किदै रसियाले पछिल्ला तीन सेटमा जित हात पार्न सफल भएको थियो ।

सुशील कुमार रजतमा सीमित
यसपटकको ओलम्पिकमा स्वर्णपदकको सम्भावना बोकेका अन्तिम दक्षिण एसियाली खेलाडी भारतीय कुस्तीवाज सुशील कुमार पुरुष ६६ किलो तौलसमूहको फाइनलमा योनुमित्सु ताकीहिरोसँग पराजित भए । पुरुष ९६ किलो तौलसमूहको फाइनलमा अमेरिकाका भारनर ज्याकोब स्टाफेनले युक्रेनका भालेरी एन्द्री भेत्सलाई पराजित गरे ।
अमेरिकाको यो लन्डन ओलम्पिकको ४५आँै स्वर्णपदक हो । आइतबार भएको बक्सिङको ५२ किलो तौलसमूहमा क्युवाका रेमिरेज काजारानाले मंगोलसियाका टुगासेट नमबायरलाई १७–१४ ले पराजित गरे । ६० किलो तौलसमूहको फाइनलमा भायल लोमाचेन्कोले दक्षिण कोरियाका भान सोचुललाई १९–९ ले पराजित गरे । ६९ किलो तौलसमूहमा काजाकिस्तानका सारिक सामियेभले बेलायतका फ्रेडल इभान्सलाई १७–९ ले पराजित गरे ।

यस्तो रहयो लन्डन ओलम्पिक २०१२

एजेन्सी
लन्डन ,२९ साउन । यसपटकको लन्डन ओलम्पिक बेइजिङ ओलम्पिकभन्दा केही फरक रहयो । साइक्लिङको सानदार प्रदर्शनका कारण आयोजक बेलायतले विश्व खेलकुदमा आफ्नो भिन्न पहिचान बनाउन सफल भयो । पछिल्लो ओलम्पिकमा ५१ स्वर्णपदकसहित पहिलो स्थानमा रहेको चीन ३८ स्वर्णपदकमा सीमित रहँदा महिला जिम्न्यास्टिकको पुरानो साख जोगाउन असफल भयो । यसैगरी महिला भारोत्तोलनमा चिनियाँ साख गिर्दा यसको फाइदा अर्को एसियाली राष्ट्र उत्तर कोरियाले प्रभाव जमायो । डाइभिङ, ब्याडमिन्टन र टेबलटेनिसमा महाशक्तिको सान कायम राखेका चिनियाँले पौडीमा विगतको ओलम्पिकको तुलनामा राम्रो गरे पनि सन् २००९ को विश्व च्याम्पियनसिपभन्दा राम्रो प्रदर्शन गर्न असफल रहे । फेन्सिङमा भने चिनियाँहरू यसपटक प्रभावकारी बने ।
विश्व खेलकुदका लोकप्रिय खेलमा आफ्नो साख कायम राख्दै खेल अर्थतन्त्रलाई प्रभावमा राख्ने अमेरिकी नीति पूर्णत: सफल रहयो । एथलेटिक्सका ३६ मध्येका ९ स्वर्णपदक जितेको अमेरिकाले लन्डन एक्वेटिक्स सेन्टरको पुलमा भएका ३२ मध्ये १६ स्वर्णपदक जित्यो । जिम्न्यास्टिकको महिला स्पर्धा अमेरिकाले अपेक्षा गरेअनुसार सफलता नपाए पनि ३ स्वर्णपदक जित्यो । यसमा पनि प्रतिष्ठित टिम र अलराउन्डको स्वर्ण अमेरिकाले जित्यो । पुरुष स्पर्धामा चीनले ४ स्वर्णपदक जित्यो । बास्केटबलमा अमेरिकाकै प्रभाव रहयो । बिच भलिबलको महिला स्पर्धामा स्वर्णपदक जित्यो । ट्रयाकको स्प्रिन्टतर्फ पुरुष स्पर्धामा गत ओलम्पिकदेखि जमैकाको दबदबा रहेको अमेरिकाले यसपटक पहिलोतर्फ आफूलाई शक्तिराष्ट्रको रूपमा स्थापन गर्‍यो भने फिल्डमा पनि नयाँ शक्तिको उदय भएको संकेत गर्‍यो ।
चीनको हकमा व्यावसायिक दुनियाँमा सबैभन्दा प्रभावकारी रहेका एथलेटी लिउ जियांग घाइते भए भने एनबिए स्टार पनि निष्प्रभावी बने । जुडोमा जापान र बक्सिङमा क्युवा दुवै परम्परागत महाशक्तिको साख ध्वस्त हँुदा तेक्वान्दोमा दक्षिण कोरियाका सामु पनि आफ्नो देशमा रहेको हेडक्वार्टरको सान मात्र बाँकी रहेको छ । पूर्वी अफ्रिकीहरूले लामो दूरीको दौडमा साख कायम राख्दा भूमध्यसागरीय राष्ट्र केन्याको मध्यमदूरी यसखाले प्रभाव रहयो । क्यारेबियनहरूको पुरुष स्प्रिन्टमा रहेको जगजगी त चर्चायोग्य छँदै छ ।
पौडीमा फ्रान्सले ५ तथा चीनले ४ स्वर्णपदक जित्दै प्रभाव जमाए । सोभियत संघअघि फिल्डमा दबदबा रहेका रुसीहरूले यसपटक पनि ट्रयाक एन्ड फिल्डमा समेत गरी कुल ८ स्वर्णपदक जिते । जमैकाले स्प्रिन्टमा ४ स्वर्णपदक जित्यो ।

दक्षिण कोरियालीले राजनीतिक रंग देखाए
लन्डन : विजयोत्सव मनाउने क्रममा राजनीतिक संकेत झल्कने व्यवहार गरेको भन्दै दक्षिण कोरियाली फुटबल टिमका एक सदस्यमाथि अनुशासन कारबाही सुरु भएको छ । छानबिन नसकिँदासम्म ती फुटबलरको पदक आइओसीले नै राख्ने पनि जनाइएको छ ।
शुक्रबार राति जापानविरुद्ध तेस्रो स्थानका लागि भएको पुरुष फुटबल भिडन्तमा जितपछि राजनीतिक संकेत झल्कने व्यवहार प्रदर्शन गरेको अभियोगमा दक्षिण कोरियाका पार्क जोङ–वुलाई शनिबार पदक वितरण समारोहमा पदक दिइएन ।
आइओसी अध्यक्ष ज्याक्स रोगीले यस विषयमा फिफाले पहिलो निर्णय लिने र त्यसपछि पदकका विषयमा के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने जानकारी दिए ।
जापानविरुद्ध प्राप्त जितपछि दक्षिण कोरियाका पार्कले राष्ट्रिय झन्डा बोकेर जापानले पनि दाबी गरिरहेको भूभागको सार्वभौमिकताबारे दक्षिण कोरियाको समर्थन गरेको जनाइएको छ । आइओसी र फिफाले मैदानमा राजनीतिक व्यवहार प्रदर्शन गर्न प्रतिबन्ध गरेको छ ।

बढी पदक जित्ने शीर्ष १० खेलाडी
नाम/देश/खेल स्वर्ण रजत कांस्य जम्मा
माइकल फेल्प्स (अमेरिका, पौडी) ४ २ – ६
मिसी फ्रयांकलिन (अमेरिका, पौडी) ४ – १ ५
समिट एलिसन (अमेरिका, पौडी) ३ १ १ ५
युसान बोल्ट (जमैका, एथ्लेटिक्स) ३ – – ३
फेलिक्स एलिसन (अमेरिका, एथ्लेटिक्स) ३ – – ३
डाना भोल्मर (अमेरिका, पौडी) ३ – – ३
रायन लोक्टे (अमेरिका, पौडी) २ २ १ ५
सुन साङ (चिन, पौडी) २ १ १ ४
एड्रिआन नाथन (अमेरिका, पौडी) २ १ – ३
एज्नेल यानिक (फ्रान्स, पौडी) २ १ – ३
पदक तालिका
क्र.सं. देश स्वर्ण रजत कांस्य जम्मा
१. अमेरिका ४६ २९ २९ १०४
२. चीन ३८ २७ २२ ८७
३. बेलायत २९ १६ १९ ६४
४. रसिया २४ २५ ३३ ८२
५. दक्षिण कोरिया १३ ८ ७ २८
६. जर्मनी ११ १९ १४ ४४
७. फ्रान्स १० ११ १२ ३३
८. इटाली ८ ८ ११ २७
९. हङ्गेरी ८ ४ ५ १७
१०. अस्ट्रेलिया ७ १६ १२ ३५
११. जापान ७ १४ १७ ३९
१२. काजाकिस्तान ७ १ ५ १३
१३. नेदरल्यान्ड्स ६ ६ ८ २०
१४. युक्रेन ६ ५ ९ २०
१५. क्युबा ५ ३ ६ १४

प्रतिक्रिया