काठमाडौं, २९ साउन । एक वर्षअघिसम्म निक्षेप आकर्षित गर्न विज्ञापन गर्ने बैंक तथा वित्तीय संस्था अहिले कर्जा लगानी गर्न नयाँ योजनाका साथ विज्ञापन गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाको निक्षेप वृद्धिदरसँगै कर्जा वृद्धिदरको तालमेल मिल्न नसकेपछि बैंकहरू कर्जा आकर्षित गर्न नयाँ योजना तथा विज्ञापन गर्न बाध्य भएका हुन् ।
ऋण उपलब्ध गराउन बैंक अहिले धमाधम ब्याजदर घटाउने एवं विभिन्न सेवासहितका योजना घोषणा गर्ने तयारीमा छन् । अहिले निश्चित अवधिसम्म ब्याज नबढ्ने आवास तथा घर कर्जा, सुन खरिदका लागि एकवर्षे कर्जा, दुई दिनमा दुई लाखसम्म कृषि कर्जालगायत नाममा विविध कर्जा योजना बजारमा ल्याउन थालिएको छ ।
बैंकले नौलो कर्जा योजना सार्वजनिक गरेको भने पनि रिटेल बैंकिङसँग सम्बन्धित पुरानै आवास तथा गाडी खरिदका लागि सुलभ दरमा कर्जा प्रदान गर्ने योजना नै बैंक तथा वित्तीय संस्थाले अगाडि सारेका छन् । हालै हिमालयन बैंकले निश्चित अवधिसम्म ब्याज नबढ्ने गरी आवास र सवारी कर्जा योजना सार्वजनिक गरेको छ । हिमालयन बैंकले तीन वर्षसम्म ब्याजदर परिवर्तन नहुने घर कर्जा ल्याएको छ । त्यसको ब्याज १० दशमलव ९० प्रतिशत छ । त्यस्तै दुई वर्षसम्म ब्याज परिवर्तन नहुने सवारीसाधन कर्जा योजना ब्याजदर ११ दशमलव २५ प्रतिशत छ । विशेषगरी घर बनाउन निश्चित आय भएका व्यक्तिले १० देखि १५ वर्षसम्मका लागि लिएको कर्जा बीचैमा बैंकहरूले पटकपटक बढाएर दोब्बर ब्याजदर पुर्याएपछि बैंकमा ऋण लिन हच्किएका थिए । बैंकले ऋण दिँदा एउटा दर कायम गर्ने तर सम्झौतापत्रमा सानो अक्षरमा कुनै पनि समयमा ब्याजदर परिवर्तन गर्न सकिनेछ भन्ने उल्लेख भएको सर्तको भने जानकारी नदिने परिपाटी थियो ।
त्यसताका बैंकले एसएमएस, इमेल र फ्याक्स माध्यमबाट ऋणी ग्राहकसँग सरसल्लाह नै नगरी एकतर्फी ढंगले ब्याज बढाउने गरेका थिए । बैंकको यस्तो व्यवहारका कारण बैंकमा थप ऋणको माग हुन छाडेको थियो । बैंकहरूले भने निक्षेप संकलन लागत नै बढी भएकाले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन नसकिने भन्दै ब्याज बढाउँदै गएका थिए । ऋणीको समस्या पहिचान गरी बैंकले नौलौ कर्जा योजना ल्याएको र यस्तै योजनाका प्रतीक्षामा आफू घर बनाउन खोज्दै गरेका टेकुका रामचन्द्र केसीले बताए । ‘निश्चित आय भएको हुँदा बैंकले विनासूचना बीचैमा ब्याज बढाउँदा तिर्न नसक्ने हो कि भन्ने चिन्ता थियो । बैंकले घोषणै गरेपछि त पहिलाजस्तो समस्या नआनेमा उनी आशावादी छन् । तरलता घटबढसँगै ब्याज तलमाथि हुँदैन भन्ने सन्देश दिन निश्चित अवधिसम्म ब्याज नबढ्ने योजना ल्याएको बताउँदै हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणाले त्यस योजनामा ग्राहकको विशेष चासो रहेको जानकारी दिए ।
११ महिनाको राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा १८ दशमलव २ प्रतिशतले निक्षेप बढी एक खर्ब ४९ अर्ब रुपियाँ थपिएको छ भने कर्जा र लगानी दुवै गरी १४ दशमलव १ प्रतिशतले वृद्धि भई एक खर्ब २० अर्ब मात्रै प्रणालीबाट बाहिर गएको छ । प्रणालीमा भित्रिने भन्दा प्रणालीबाट कर्जा तथा लगानी रूपमा बाहिरिने रकम कम भएपछि बैंक तथा वित्तीय संस्थाको तरलताको थुप्रो लागेको छ । बंैकिङ प्रणालीमा करिब ६० अर्ब निष्क्रिय रकम रहेको बताइन्छ । बढ्दो निक्षेप लगानी गर्न नसक्ने एवं विगतमा गएको ऋण पनि खराब ऋणमा परिणत भएर थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएपछि बैंक दोहोरो मारमा परेको छ । बैंकले कमाएको रकम कर्जा नोक्सानी व्यवस्थापन गर्दै सकिने हँुदा नयाँ आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरणमा अत्यधिक नाफा देखाउन जोडतोडका साथ कर्जा विस्तार अभियानमा बैंकहरू लागेका छन् । विगतमा निक्षेप ल्याउन मासिक लक्ष्य तोक्ने गरेकामा अहिले मासिक निश्चित रकमको कर्जा निकासा गर्नुपर्ने लक्ष्य तोक्ने गरिन्छ । लक्ष्यअनुसार कर्जा निकासा गर्न नसक्ने शाखा प्रमुखका कार्य सम्पादन नराम्रो मानिने गरिन्छ ।
नबिल बैंकले भने ऋणीलाई सहुलियत दिने उद्देश्यले कर्जाको ब्याजदर पुनरावलोकन गरी केही सस्तो बनाएको छ । सरकारसँग सेयर लगानीकर्ताको नौ बँुदे सम्झौता भएपछि सेयर खरिद कर्जालाई केही सहज बनाउने बुँदा उल्लेख थियो । सरकारसँगको सहमतिपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी सेयर दलालको सिफारिसमा पनि कर्जा दिन निर्देशन दिएको छ । केही बैंक तथा वित्तीय संस्था सुधारिएको सेयर बजारको अवस्थासँगै सेयर कर्जा प्रदान गर्ने सम्बन्धमा पनि सकारात्मक देखिएको एक सेयर दलालले बताए ।
सेन्चुरी बैंकले पनि हालै सुन खरिदका लागि ‘सेन्चुरी स्वर्णलक्ष्मी योजना’ ल्याएको छ । १५ प्रतिशत ब्याजमा पाइने सो योजनाअन्तर्गत पाँच लाख रुपियाँसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ । कर्जाको अवधि भने एक वर्षसम्म रहन्छ । ग्राहकले आफूले रोजेको सुन तथा सुनका गरगहना खरिद गर्न न्यूनतम २० प्रतिशतसम्म नगद भुक्तानी गरेपछि मासिक किस्ताबन्दीमा एक वर्षमा भुक्तानी गर्नेगरी गहना खरिद गर्न सकिने पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया