त्रिविका प्राध्यापक निजीका प्रिन्सिपल

काठमाडौं, २८ साउन । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र प्राध्यापक नियमविपरीत निजी कलेजमा लगानी गर्नुका साथै अध्यापन गराइरहेका छन् । कतिपय प्राध्यापक त निजी कलेजको प्रिन्सिपल नै बसेका छन् ।

पदाधिकारी र प्राध्यापकको ध्यान निजी कलेजतर्फ केन्द्रित हुन थालेपछि इन्जिनियरिङ अध्ययन संस्थानको गुणस्तर खस्किन थालेको छ । हरेक वर्ष संस्थानअन्तर्गतका क्याम्पसको रिजल्ट घटिरहेको छ ।
नियमानुसार त्रिभुवन विश्वविद्यालयका कुनै पनि पदाधिकारी र प्राध्यापक निजी कलेजमा लगानी गर्न, सञ्चालक समितिमा बस्न र प्रिन्सिपल बन्न पाउँदैनन् । निजी कलेजमा पढाउनसमेत प्राध्यापकको सिºट फरक रहेछ भने त्रिविको स्वीकृति लिएर मात्रै पढाउन पाउँछन् ।
‘त्रिविका कोही पनि प्राध्यापक निजी कलेजको प्रिन्सिपल बस्न पाउँदैन । त्यसरी कोही बसेको छ भने कारबाहीको भागिदार हुन्छ,’ त्रिविका शिक्षाध्यक्ष प्राध्यापक गुणनीधि न्यौपानेले सौर्यसँग भने । उनका अनुसार

निजी कलेजमा पढाउन पनि प्राध्यापक सिºट फरक छ भने स्वीकृति लिएर मात्रै पढाउन पाउँछ । तर, इन्जिनियरिङ संस्थानअन्तर्गतका पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका प्राध्यापकले अनुमति नलिईकनै निजी कलेजमा लगानी गर्ने, प्रिन्सिपल बस्ने र अध्यापन गराउने गरिरहेका छन् । संस्थानका डिन डा.भरतराज पहारीले नै पदाधिकारी र प्राध्यापकलाई त्यसका लागि प्रोत्साहित गरिरहेको स्रोतको दाबी छ ।
डिन कार्यालयअन्तर्गत ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्रा.डा. त्रिरत्न बज्राचार्य नेसनल कलेज अफ इन्जिनियरिङ ललितपुरको सञ्चालक समितिका बहालवाला अध्यक्ष हुन् । यसअघि सो कलेजको सञ्चालक समितिको अध्यक्षमा अहिलेका डिन पहारी थिए । उनी अध्यक्ष हुँदा बज्राचार्य सञ्चालक समितिको सदस्य थिए ।
थापाथली क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक धनभक्त पौडेल नेसनल कलेज अफ इन्जिनियरिङको प्रिन्सिपल छन् । त्यस्तै, पदेन सहायक डिन रामचन्द्र सापकोटा सोही कलेजका सञ्चालक समिति सदस्य छन् । अर्का सहायक डिन संगितलाल नकर्मी पनि सञ्चालक समिति सदस्य हुन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख अभिमन्युलाल सिंह ललितपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल छन् । त्यसैगरी, सिभिल इन्जिनियरिङ विभागका पूर्वप्रमुख प्राध्यापक प्रेमचन्द्र झा एड्भान्स इन्जिनियरिङ कलेजका प्रिन्सिपल हुन् ।
स्रोतका अनुसार संस्थानका पदाधिकारीदेखि प्राध्यापकसम्मले त्रिविलाई स्थायी जागिर खाने ठाउँका रूपमा मात्रै लिन थालेका छन् । उनीहरूको ध्यान निजी कलेजमा लगानी गर्ने तथा पढाउनेमा केन्द्रित हुन थालेपछि त्यसको प्रभाव सरकारी क्याम्पसको रिजल्टमा देखिन थालेको छ । निजी कलेजको प्रथम, दोस्रो र तेस्रो वर्षमा रिजल्ट १५ प्रतिशत रहेको छ भने पुल्चोक इन्जिनियरिङ क्याम्पसको ८० प्रतिशतभन्दा माथि हुने रिजल्ट अघिल्लो वर्ष ६० प्रतिशतको हाराहारीमा पुगेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा.पहारीले पदाधिकारी र प्राध्यापकले कार्यालय समयमा निजी कलेजमा जान नपाउने बताए । ‘आºनो कामको समयमा अन्यत्र नजान मैले सर्कुलरसमेत गरेको छु,’ उनले भने । तर, उनी आफँैले पनि निजी कलेजमा लगानी गरेको तथा अन्य पदाधिकारी र प्राध्यापकलाई पनि प्रोत्साहित गर्ने गरेको स्रोतको दाबी छ । ‘कारबाही गर्ने जिम्मेवार व्यक्तिले नै निजी कलेजमा लगानी गरेको छ भने अरूलाई कारबाही गर्ने त कुरै भएन,’ स्रोतले भन्यो ।
एड्भान्स इन्जिनियरिङ कलेजका प्रिन्सिपल पनि रहेका पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक प्रेमचन्द्र झा ‘दुईतिर काम गर्नुहुँदो रहेछ’ भनेर प्रतिक्रिया लिन खोज्दा उल्टै सौर्यसँग कड्किए । ‘मजस्तो एकेडेमिक मान्छेलाई तपार्इंले यस्तो प्रश्न गर्न उचित हुन्छ ?’ उनले भने । एकेडेमिक व्यक्तिलाई कसैले प्रश्नै गर्नुहुँदैन भन्ने बुझाइ भएका बौद्धिक व्यक्तित्व झालाई दुईतिर काम गर्नु नियमविपरीत हो भन्ने ज्ञानचाहिँ रहेनछ ।
अनेरास्ववियु क्रान्तिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाइ अध्यक्ष सागर चौधरीले प्राध्यापक र पदाधिकारी निजी कलेजतिर मात्रै व्यस्त हुन थालेकाले अब त्यसविरुद्ध संघर्ष गर्ने बताए । ‘प्राय: सबै प्राध्यापकको निजी कलेजमा लगानी छ,’ उनले भने, ‘आम्दानी निजीमै धेरै भएकाले सबैको ध्यान त्यता छ ।’

प्रतिक्रिया