‘दाहालको बोलीको ठेगान छैन’

काठमाडौं, २८ साउन । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोलीको ठेगान नभएको नेताको संज्ञा दिएका छन् । दाहालले शनिबार चुनावमा जाने हो भने चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्न नपाउने अभिव्यक्ति दिएपछि कांग्रेस सभापति कोइराला आक्रोशित भएका हुन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रमपछि पत्रकारसँग सभापति कोइरालाले दाहालको बोलीको ठेगान नभएको भन्दै प्रतिप्रश्न गरे, ‘उहाँ (अध्यक्ष दाहाल) को हो र प्रधानमन्त्री बनाउने र नबनाउने भन्ने ?’ अहिलेको राजनीतिक अवस्थामा सहकार्यको विकल्प नरहेको स्पष्ट पार्दै कोइरालाले सहमतिको राजनीति सफल भएर छाड्ने विश्वास व्यक्त गरे ।
‘मुलुकको जे परिस्थिति छ, जतिसुकै अस्वीकार गरे पनि अन्ततोगत्वा मूलधारको राजनीतिमा आउनैपर्छ, सहमति र सहकार्य सफल भएर छाड्छ, यसको कुनै विकल्प छैन,’ उनले भने ।
दाहालको भनाइ पाँचबुँदे सहमतिविपरीत हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सबैलाई थाहा छ, सहमति एउटा गर्ने काम अर्को गर्ने, एउटासँग एउटा कुरा अर्कोसँग अर्को कुरा । उहाँको (अध्यक्ष दाहालको) बोलीको ठेगानै छैन ।’

प्रतिक्रिया