बढयो आङ खस्ने समस्या

नेपालगन्ज, २८ साउन । मध्य तथा सुदूरपश्चिमका ग्रामीण भेगका महिलामा प्रजनन स्वास्थ्यको समस्या बढेको पाइएको छ । हुम्ला, जुम्ला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लाको सुदूरक्षेत्रमा बसोबास गर्ने महिलाले प्रजनन स्वास्थ्यमा भोग्दै आएको समस्यामध्ये पाठेघर (आङ खस्ने) समस्या सबैभन्दा बढी छ ।

कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षितरूपमा सुत्केरी गराउनाले पाठेघरको समस्या जटिल हुँदै गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले बताए ।
आङ खस्ने समस्याबाट पीडित कैलाली अत्तरियाकी ३० वर्षीया फागुनी सिंह भन्छिन्, ‘काममा दिनभरि खटिनुपर्छ, समयमा खान पाइँदैन, मेलापात पनि गर्नुपर्छ, त्यसैले स्वास्थ्यको विषयमा ध्यान दिने समय नै हुँदैन ।’
गत आर्थिक वर्षमा बाँकेका विभिन्न गाविसमा विभिन्न समयमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये एक सय ८४ मा आङ खस्ने समस्या देखिएको थियो । प्रजनन स्वास्थ्यभित्र पाठेघरको समस्या अधिक रहेको पाइएको छ ।
‘शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एकचौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, उनीहरूको शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव नै हुँदैन,’ जनस्वास्थ्य प्रशासक मल्लले बताए ।
बाँकेको गनापुर, साईगाउँ, नौबस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिलामा सबैभन्दा बढी समस्या रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गत वर्ष कार्यालयले आङ खस्ने समस्याबाट पीडितमध्ये संवेदनशील अवस्थाका ४७ को नि:शुल्क शल्यक्रिया गरेको थियो । कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्यांकले देखाएको छ ।
‘जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको सीतापुर गाविसमा केही महिनाअघि सञ्चालन गरेको पाठेघर उपचार शिविरमा उपचारार्थ आएका ८८ मध्ये १७ को शल्यक्रिया गर्नुपर्ने अवस्था डरलाग्दो थियो,’ जनस्वास्थ्य प्रशासक मल्लले भने ।
पाठेघरको समस्यासँगै महिलाले गर्भावस्था तथा सुत्केरी अवस्थामा पनि समस्या भोग्नुपरेको पाइएको छ । ४६ गाविस र एक नगरपालिका रहेको बाँकेमा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमार्फत जनस्वास्थ्य कार्यालयले गर्भवती, सुत्केरी तथा शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आए पनि ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव, बजेटको अपर्याप्तता, स्वास्थ्यचौकीमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुनु, जनस्वास्थ्य कार्यालय र जिल्लाका अस्पतालबीच समन्वयको अभावलगायतका कारण सेवा प्रभावित हुने गरेको छ ।
‘जिल्लामा सञ्चालित अस्पतालले जनस्वास्थ्य कार्यालयलाई प्रत्येक महिनाको १५ गतेभित्र तथ्यांक उपलब्ध गराउनुपर्ने प्रावधान भए पनि अस्पतालबाट समयमा तथ्यांक नआउँदा मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम प्रभावित हुने गरेको छ । गत आर्थिक वर्ष ०६८/६९ मा बाँकेमा गर्भावस्था, प्रसूति अवस्था तथा सुत्केरीपछिको ६ साताभित्रमा २२ को मृत्यु भएको थियो ।

प्रतिक्रिया