खेलकुद विकासका लागि कांग्रेसमा बहस

काठमाडौं, २६ साउन । संस्थापन पक्षका नेताको बाहुल्यबीच नेपाली कांग्रेस खेलकुद विभागले बिहीबार ‘खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्‍यो । कार्यक्रममा पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहलगायत पार्टीको मुख्य भूमिकामा रहेका अधिकांश नेताको उपस्थिति थियो तर कार्यक्रममा न देउवा थिए न त उनी पक्षका नेता र कार्यकर्ता नै ।
त्यसो त आफ्नै पक्षका नेताले पनि कांग्रेस नेतृत्वको मञ्चमै विरोध गरे । नवलपरासी जिल्लाका पार्टी सभापति देवेन्द्रराज कँडेलले भने, ‘म खेलाडी थिएँ भन्ने मेरो पार्टीलाइ पनि थाहा छैन । घरभित्रको प्रतिभा नचिन्ने पार्टीले अन्य खेलजगतका प्रतिभालाई कसरी चिन्न सक्छ ?’ उनले मञ्चमा बसेका सभापतिलाई प्रश्न गरे । कँडेल हक्कीका पूर्वराष्ट्रिय खेलाडी हुन् । त्यसो त उनी हक्कीकै केही प्राविधिकको अनुरोधमा संघको अध्यक्षको प्रत्यासीसमेत रहेका थिए ।
महामन्त्री प्रकाशमान सिंहले खेलकुदलाई कांग्रेसले विशेष चासो दिएकोले नै कांग्रेसकै सरकारको पालामा खेलकुद मन्त्रालय गठन गरिएको बताए । उनले भने, ‘अब खेलकुद विभागले सम्पूर्ण युवा तथा खेलाडीलाई एकत्रित पार्नेछ ।’ केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसले खेलाडीलाई राजनीतिको आँखाले नहेर्ने भन्दै खेलाडीको नाम भजाएर सम्पत्ति जोड्ने खेलपदाधिकारीको सम्पत्ति अब खेलाडीलाई नै बाँडिने बताए । त्यसो त कांग्रेसको शासनकालमा भएको आठाँै दक्षिण एसियाली खेलकुद नै नेपाली इतिहासमा सबैभन्दा भ्रष्टाचारले बदनाम खेल महोत्सवको रूपमा परिचित छ ।
केन्द्रीय सदस्य शंकर भण्डारीले खेलकुदलाई उत्साह मिल्ने कार्ययोजना तय गर्दै व्यावहारिक रूपमा खेलकुद विभाग अगाडि बढ्ने बताए । युवानेता बद्री पाण्डेले भने खेलकुद क्षेत्रमा समन्वय र व्यवस्थापन गर्न नसक्नु कांग्रेसको कमजोरी भएको स्वीकार गरे । खेलकुद विभागले खेल क्षेत्रलाई राजनीतिमुक्त राख्न पहल गर्ने उनले बताए । उनले भने, ‘खेलकुद क्षेत्रको भ्रष्टाचार निर्मूल पार्नका लागि हामी सधँै खेलाडीको साथमै रहनेछौँ ।’ पाण्डेले जस्तो दाबी गरे पनि नेपाली खेल प्रशासनमा माथिल्लो हैसियत भएकाहरू मात्र लायक रहन्छन् भन्ने सोचलाई संस्थापन गर्ने काम खेलकुदमा कांग्रेसको नेृतत्व भएकै समयमा भएको थियो ।

प्रतिक्रिया