हेटौंडा, २६ साउन । मकवानपुरका विभिन्न गाविस तथा हेटौंडा नगरपालिका क्षेत्रका पति र पत्नीबीच असमझदारीको दूरी बढेर सम्बन्धविच्छेद बढेको छ ।
जिल्लामा गत आव ०६८/६९ मा ९३ विवाहिता जोडीले सम्बन्धविच्छेद गरेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । गत आवमा मात्रै अदालतमा ८८ विवाहिता जोडीले सम्बन्धविच्छेद गर्न निवेदनपत्र दर्ता गरेका थिए । अदालतमा गतभन्दा अघिल्लो आव ०६७/६८ को अवधिमा सम्बन्धविच्छेदको निवेदनपत्र दर्ता गरिएकामध्ये ३१ निवेदनपत्रको मुद्दा गत आवमा जिम्मेवारी सरिआएको जिल्ला अदालतले जनाएको छ ।
जिल्लाका विभिन्न गाविस र नगरपालिका क्षेत्रबाट पति रोजगारीका लागि खाडीलगायत अन्य देश जाने गरेको र रोजगारी गरिरहेका त्यस्तै व्यक्तिका पत्नीमध्ये ७० प्रतिशतले जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदनपत्र दर्ता गराएको अदालतका स्रेस्तेदार अधिकृत कौशलेश्वर ज्ञवालीले बताए ।
रोजगारीका लागि खाडी मुलुक र अन्य देशमा गएका पुरुषले पठाएको रकम तिनका पत्नीले बालबालिका र घरपरिवारको हेरचाहमा खर्च नगरी परपुरुषसँग सम्पर्क स्थापित गरी ती व्यक्तिको नाउँमा जग्गासहित पोस्ने गरेको पत्नीबाट पीडित हेटौंडा नगरपालिका–८ बस्ने रामप्रसाद शर्माले बताए ।
अदालतबाट सम्बन्धविच्छेद गर्ने विवाहिताबाट पतिको नाममा रहेको घरजग्गा, धनसम्पत्ति र रकम फिर्ता दिलाइएको मकवानपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले बताए ।
प्रतिक्रिया