काठमाडौंमा मनाईयो गौरा

काठमाडौ, २६ साउन । प्रत्येक वर्ष काठमाडौंको खुलामञ्चमा मनाइँदै आएको सुदूरपश्चिमेलीको पर्व गौरामा यसपटक शेरबहादुर देउवा उपस्थित भएनन् । सुदूरपश्चिमका वरिष्ठ नेता देउवा यस वर्ष बुबाको निधनका कारण उपस्थित नभएका हुन् । गौरा कार्यक्रमको उद्घाटन लोकेन्द्रबहादर चन्दले गरेका थिए ।

कार्यक्रममा एमाले नेता भीम रावल, कांग्रेस नेता रमेश लेखकलगायतका नेता तथा बुद्धिजीवी उपस्थित थिए । गौरापर्वका अवसरमा बोल्दै सुदूरपश्चिमका नेताहरूले सबै सुदूरपश्चिमवासी एकजुट भएर अघि बढ्नुपर्ने जिकिर गरेका छन् । नेताहरूले दुबईको जेलमा फाँसीको सजाय भोगिरहेका दार्चुलाका अमर बमलाई बचाउने अभियान झन् सशक्त बनाउँदै लैजाने बताएका थिए । सुदूरपश्चिमका विवाहित महिलाले गौरादेवीको व्रत बस्छन् । गौरापर्वलाई गौरादेवी अर्थात् भगवतीका रूपमा समेत पूजाआजा गरिन्छ । भदौको प्रतिपदादेखि गौरा पवनी सुरु हुने र पञ्चमीका दिन गौरालाई गौराघर अर्थात् मन्दिरमा दमाहका साथ (बाजागाजा) विरुडा पञ्चमीका रूपमा भित्र्याइन्छ ।
गौरादेवीको व्रत बसेका व्रतालु महिलाले जलाशय अर्थात् धारामा गएर विरुडा धुने र फाग गाउने गर्छन् । पञ्च अन्न गहुँ, गुराँस, कलौउ, मास, गहतलगायतका अन्नको मिसावटबाट विरुडा बनाइन्छ । विरुडा पञ्चमीको दिन भिजाइएको विरुडाले अठ्वालीको दिन गौरादेवीलाई पूजा गर्छन् । धार्मिक विधिअनुसार बुधबार गौरादेवीलाई भित्र्याइएको गौरीलाई बिहीबार दमाह बजाउँदै आँगनमा ल्याउने र व्रतालुले देउडा गाउँछन् ।
शिव, पार्वतीको स्वरूप मानिएको गौरादेवीको डालो (देवी राखिएको) र शिवको स्वरूप बनाएको पिर्कालाई शीरमा राखेर नाचिन्छ । गौरापर्वमा युवासमेत विभिन्न लयमा देउडाका भाका हाल्दै देउडा खेल्छन् । सुदूरपश्चिममा बडादशैँभन्दा गौरालाई महत्त्व दिइन्छ ।

प्रतिक्रिया