बेलायत, २४ साउन । ग्रेनाडाले ओलम्पिक इतिहासमा नै पहिलो स्वर्णपदक जितेको छ । चार सय मिटरका युथ तथा विश्व च्याम्पियन किरानी जेम्सले लन्डन ओलम्पिकको सोमबार राति भएको रेसमा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै स्वर्णपदक जिताएका हुन् । उक्त स्पर्धामा डोमिनिकन रिपब्लिकका लुगिलियन सान्टोसले रजत तथा ट्रिनिडाड एन्ड टोबागोका लानोन्डे गोर्डनले कांस्यपदक जिते ।
जेम्सले ४३.९४ सेकेन्डमा रेस पूरा गरे । उनको यो नयाँ ओलम्पिक कीर्तिमानसमेत हो । सान्टोसले ४४.४६ सेकेन्डमा रेस पूरा गरे । जोर्डनले उक्त दूरी ४४.५२ सेकेन्डमा पूरा गरेका थिए ।
लन्डन ओलम्पिकसँगै सन् २००८ यता जेम्सले कमनवेल्थ युथ, द वल्र्ड जुनियर र वल्र्ड च्याम्पियनसिपमा स्वर्ण जितिसकेका छन् । ट्रयाकमा यो नै एउटा स्पर्धा रहेको थियो जुन स्पर्धामा कुनै पनि अमेरिकी खेलाडी फाइनल पुग्न सकेका थिएनन् । रजतपदक जित्ने सान्तोस १८ वर्षीय खेलाडी हुन् ।
चार सय मिटर हर्डल्समा डोमेनिक गणतन्त्रका फेलिक्सी साचेजले स्वर्णपदक जिते । अन्तिम २० मिनेटमा आश्चर्यजनक रूपमा गति बढाएका साचेजले अमेरिकी ट्रायलमार्फत उदाएका माइकल टेन्सलीलाई अन्तिम समयमा उछिनेका थिए । स्वर्णपदकको दाबेदारको रूपमा रहेका प्युरेटिकाका जेभियर कुल्सेनले कांस्यपदक जिते । एथेन्स ओलम्पिकका स्वर्णपदक विजेता साचेज यसबीचमा त्यति जम्न सकेका थिएनन् ।
महिला तीन हजार स्टेपल चेजमा रुसकी युरिया जालिपोभाले स्वर्णपदक जितिन् । उक्त स्पर्धामा टयुनेसियाकी हबिबी हिब्रीले रजत तथा इथोपियाकी सोफिया असेफाले कांस्यपदक जिते । ट्रायथलनमा बेलायतका एलिस्टर ब्रेनलीले स्वर्णपदक जिते । यसैगरी, स्पेनका जेभियर गोमेजले रजत तथा बेलायतकै जोनाथन ब्रोनलीले कांस्यपदक जिते । महिला सटपुटमा बेलारुसकी नाडजो ओस्टापचुकले स्वर्णपदक जितिन् भने डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डकी भालेरी एडम्सले रजतपदक जितिन् । रुसकी एगेनिनो कोलोडोडोले कांस्यपदक जितिन् ।
महिला पोलभोल्टमा अमेरिकाकी जेनिफर सुरले स्वर्ण तथा क्युवाकी यारिसले सिल्भाले रजतपदक जिते । एथेन्स र बेइजिङ ओलम्पिककी स्वर्णपदक विजेता एलेना इसेन्बायेभा कांस्यपदकमा सीमित भइन् । सुर र सिल्भा दुवैले ४.७५ मिटर नाघेका थिए ।
स्क्वार्जर डोपिङमा असफल
लन्डन ओलम्पिकमा सोमबार दुई खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् । रक्तपरीक्षणमा अमेरिकाका जुडो खेलाडी निकोलास डेल्पोलो र वाक रेसका इटालियन खेलाडी एलेक्स स्क्वार्जर असफल भएपछि दुवै खेलाडीलाई ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित लागुऔषध सेवन गरी ओलम्पिकमा सहभागिता जनाएको प्रमाणित भएपछि अमेरिकी जुडो खेलाडी निकोलास डेल्पोपोलोलाई लन्डन ओलम्पिकमा प्रतिबन्ध लगाइएको हो । उनको पिसाबको नमुनामा लागुपदार्थ गाँजा पाइएको थियो । ३० जुलाईमा लिइएको उनको पिसाबको नमुनामा प्रतिबन्धित पदार्थ भेटिएको थियो । उनको पिसाबको नमुना छनोटचरणमा मंगोलियाका नाइम ओचिल सइनजर्गालसँग पराजित भएपछि लिइएको थियो ।
निकोलास डेल्पोपोलोले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले आफ्नो खानामा मिसावट भएको हुन सक्ने दाबी गरे पनि उनको साथमा सो कुरालाई पुष्टि गर्ने कुनै प्रमाण नभएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ । डोपिङ परीक्षणमा असफल भएपछि उनले अमेरिकी ओलम्पिक कमिटी र आफ्ना सहखेलाडीसमक्ष माफी मागेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय जुडो महासंघमा उनका सबै रेकर्ड हटाउन र उनलाई कारबाहीको प्रक्रिया अघि बढाउन अपिलसमेत गरेको छ ।
त्यस्तै इटालियन वाक रेसका धावक एलेक्स स्क्वार्जर पनि डोपिङ परीक्षणमा असफल भएका छन् । वेइजिङ ओलम्पिकको ५० किलोमिटर वाक रेसका स्वर्णपदक विजेता स्क्वार्जरको परीक्षणमा प्रतिबन्धित पदार्थ भेटिएपछि उनलाई लन्डन ओलम्पिकबाट प्रतिबन्ध लगाइएको इटालियन ओलम्पिक कमिटीले जनाएको छ । इटालियन ओलम्पिक कमिटीले उनलाई टिमबाट हटाएको जनाएको हो । यसअघि उनी २० किलोमिटर वाक रेसमा पनि सहभागिता जनाइसकेपछि नाम फिर्ता लिएका थिए । उनले बेइजिङ ओलम्पिकमा स्वर्णपदक जित्नासाथ नयाँ ओलम्पिक कीर्तिमानसमेत कायम गरेका थिए । दुई खेलाडीको बहिर्गमनसँगै डोपिङका कारण लन्डन ओलम्पिकमा प्रतिबन्धित हुने खेलाडीको संख्या चार पुगेको छ ।
महिला फुटबल
एसियाली राष्ट्र जापान र संयुक्त राज्य अमेरिका लन्डन ओलम्पिकको महिला फुटबलको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएको छ । सोमबार सम्पन्न सेमिफाइनलमा जापानले फ्रान्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा अमेरिकाले क्यानडालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
सोमबार इंगल्यान्डको वेम्ब्लीमा भएको पहिलो सेमिफाइनलमा जापानले फ्रान्सलाई २–१ ले पराजित गर्यो । सेमिफाइनलमा जापानले खेललाई सुरुदेखि नै दबाबमा राखेको थियो । खेलको ३२औँ मिनेटमा युकी ओगिमीले गोल गरेकी थिइन् । कप्तान आया मियामाको फ्रिकिकलाई ओगिमीले गोलमा परिणत गरेकी थिइन् । पहिलो हाफमा १–० को अग्रता लिएको जापानले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ४९औँ मिनेटमा कप्तान आया मियामीकै फ्रिकिकलाई मिजुहो साकागुचीले हेडमार्फत गोल गर्दै जापानलाई २–० को अग्रता दिलाएकी थिइन् । ७६औँ मिनेटमा फ्रान्सकी इयुगेनी ली सोमेले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याएकी थिइन् । उनले इलोडी थोमिसको क्रसपासलाई गोलमा परिणत गरेकी थिइन् । खेलको ७८औँ मिनेटमा जापानका खेलाडीले डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । फ्रान्सले त्यो पेनाल्टीलाई उपयोग गर्न सकेन । त्यस्तै अन्तिम समयमा फ्रान्सले पाएको गोल गर्ने मौकालाई जापानको रक्षापंक्तिले असफल बनाएको थियो । २–१ को जित दर्ता गर्दै जापान फाइनलमा पुगेको छ । जापानले अमेरिकाको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा अमेरिकाले क्यानडालाई अतिरिक्त समयमा ४–३ ले हराउँदै फाइनलमा पुगेको छ । एलेक्सजेन्द्रा मोर्गनको अतिरिक्त समयको निर्णायक गोलको सहयोगमा अमेरिकाले क्यानडालाई हराएको थियो । यसअघि निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो । निर्धारित समयमा क्यानडाका लागि क्रिस्टिन सिनक्लेयरले हयाट्रिक पूरा गरेकी थिइन् । उनले खेलको २२औँ मिनेट, ६७औँ मिनेट र ७३औँ मिनेटमा गोल गरेकी थिइन् । उता अमेरिकाका लागि मेगान रापोनीले ५४औँ र ७०औँ मिनेटमा गरी दुई गोल गरेकी थिइन् भने म्यारी वाम्ब्याकले ८०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन् । महिला फुटबलको फाइनल शुक्रबार हुनेछ, तेस्रो स्थानको प्लेअफ भने बिहीबार हुनेछ । एजेन्सी
लिउ जियांग घाइते
लन्डन : चीनले जारी ओलम्पिकमा सानदार प्रदर्शन गरे पनि लिउ जियांगको चोटले ठूलो धक्का लागेको छ । चीनका सबैभन्दा लोकप्रिय स्टार जियांग अभ्यासको क्रममा घाइते भएका हुन् । एथेन्स ओलम्पिकमा १ सय १० मिटर हर्डल्सका स्वर्णपदक विजेता जियांगले बेइजिङ ओलम्पिक पनि चोटका कारण गुमाएका थिए । यसपटक विश्व कीर्तिमानधारी जियांगले नै उपाधि जित्ने अनुमान गरिएको थियो ।
उनी लडेपछि अन्य चिनियाँ एथलेट उनलाई भेट्न आएका थिए । अमेरिकाका रिचर्डसन, मेरिट र पोर्टर सेमिफाइनलमा प्रवेश गरेका छन् । जिम्न्यास्टिकको पुरुष प्यारलल बारमा चीनका झेन पेंmगले स्वर्णपदक जिते । उक्त स्पर्धामा जर्मनीका मार्सेल नागुयनले रजत तथा फ्रान्सका हेमिल्टन साबोटले कांस्यपदक जिते ।
सेलिङको महिला आरएस एक्स (आरएसएक्स) मा स्पेनले स्वर्ण, फिनल्यान्डले रजत तथा पोल्यान्डले कांस्यपदक जितेका छन् । पुरुष स्पर्धामा नेदरल्यान्डले स्वर्ण, बेलायतले रजत तथा पोल्यान्डले कांस्यपदक जिते ।
क्यामरुनका खेलाडी हराए
लन्डन ओलम्पिकमा सहभागी क्यामरुनका सात जना खेलाडी हराएका छन् । यसरी हराउनेमा मुक्केवाज थोमस इसोम्बा, क्रिस्चियन डोनाम्फाक, एबोडने मेओली, ब्लासिए मेनडाओ र सर्जी एम्बोओ रहेका छन् । यिनीहरूको खेल आइतबार सकिएको थियो । ५० मिटर फ्रिस्टाइलका पौडीवाज पाउल एकाने एडिंगे र फुटबल खेलाडी ड्रयुसीले गाको पनि लन्डन ओलम्पिक भिलेजबाट हराएका छन् । यसरी खेलाडी हराउनुको कारण क्यामरुनमा बढेको बेरोजगारी नै भएको जनाइन्छ । क्यामरुनमा दुई करोड जनसंख्यामा १ करोड २० लाख बेरोजगार छन् ।
प्रतिक्रिया