ट्रेड युनियन कांग्रेसमा फेरि विवाद

काठमाडौं : कांग्रेस भ्रातृसंस्था नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र फेरि विवादमा फसेको छ । संस्थाको नाम परिवर्तन गरेर ट्रेड युनियन कांग्रेस राख्ने निर्णय भएपछि पूर्व नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघसमर्थकले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । उनीहरूले यो निर्णयले २०६५ चैतमा भएको एकता महाधिवेशनको भावनालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा सामूहिक नेतृत्वमा जाने ३५ बुँदे नीतिलाई बेवास्ता गरिएको, बहुमतको आडमा पूर्व महासंघनिकटप्रति पूर्वाग्रही बनेको र निर्णय प्रक्रिया पारदर्शी हुन नसकेको आरोप लगाइएको छ । असन्तुष्ट पक्षले केही दिनअघि भएको केन्द्रीय समिति बैठकमा नोट अफ डिसेन्टसमेत लेखेका थिए । उनीहरूले नेतृत्वले आफूलाई नसच्याए राजनीतिक र कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् । विगतमा कांग्रेस विभाजन हुनुअघि नै ट्रेड युनियन कांग्रेस विभाजन भएको थियो । पार्टी विभाजनपछि महासंघ कांग्रेस प्रजातान्त्रिकको भ्रातृसंस्थाका रूपमा रहेको थियो ।
विज्ञप्ति जारी गर्नेमा उपमहासचिव अयोध्याप्रसाद यादव, कोषाध्यक्ष ध्रुवचन्द्र गौतम, राष्ट्रिय परामर्श समितिका संयोजक राधाकान्त देव, महिला समितिकी संयोजक रमा पौडेल, केन्द्रीय सदस्य ऋषभदेव घिमिरे र ध्रुवराज पुरी छन् । यसैगरी, केन्द्रीय सदस्य कल्पना अधिकारी, नुरमोहम्मद रैन, ताराकुमारी राई, ललितकला गुरुङ तथा पश्चिमाञ्चल क्षेत्रका प्रमुख कमला लामिछानेलगायतले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । (सौस)

प्रतिक्रिया