कतारमा कामदारको माग उच्च

काठमाडौं, २३ साउन । नेपाली कामदारको मुख्य गन्तव्य मुलुकका रूपमा रहेको कतारले पछिल्लोपटक कामदारको माग बढाउन थालेको छ । सन् ०२२ मा हुने विश्वकप फुटबलका लागि भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको कतारले नेपाली कामदारको माग बढाउन थालेको हो ।
विश्वकप फुटबलका लागि रंगशाला र ठूला तारे होटल निर्माणका काम तीव्र भएपछि निर्माण क्षेत्रका लागि कतारले पछिल्लोपटक कामदारको माग उच्च बनाएको व्यवसायीका भनाइ छ । सन् ०१२ भित्रै कतारले करिब एक लाख विदेशी कामदार लिने भएपछि माग बढेको हो । अन्य मुलुकभन्दा नेपालबाट बढी कामदार लिने भएकाले नेपाली कामदारको माग उच्च भएको व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्णा श्रेष्ठ कतारले भौतिक निर्माणका कामलाई तीव्रता दिएकै कारण पछिल्लो समय कामदारको माग बढेको बताउँछिन् । उनले विभिन्न म्यानपावर कम्पनीलाई कतारले विश्वकप फुटबलका लागि निर्माण क्षेत्रमा धेरै माग पठाउन थालेको जानकारी पनि दिइन् ।
विगत एक वर्षदेखि नै कामदारको माग बढाएको कतारले सेवासुविधा समेत वृद्धि गरी माग पठाउने गरेको व्यवसायीको भनाइ छ । कतारले अहिले कामदारको न्यूनतम मासिक पारिश्रमिक आठ सय रियाल अर्थात् १६ हजार रुपियाँ पुर्‍याएको छ । अन्य मुलुकबाट भन्दा निर्माण क्षेत्रमा नेपाली कामदार बढी लिने इच्छा देखाएको कतारले उनीहरूको पारिश्रमिकसमेत बढाउँदै लगेको हो । कतारले नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, फिलिफिन्सलगायत मुलुकबाट कामदार लिने गरेको छ ।
ती मुलुकबाट आउने कामदारले कम पारिश्रमिकमा काम नगर्ने भएकाले पनि कतारले नेपालीलाई बढी माग पठाएको व्यवसायीको बुझाइ छ । यसअघि सरकारले नै नेपाली कामदारको न्यूनतम पारिश्रमिक अदक्ष कामदारको हकमा आठ सय रियाल अर्थात् १६ हजार रुपियाँ तोकेको थियो । भौतिक निर्माणको क्षेत्रमा रोजगारीको अवसर बढेपछि कतारले एक वर्षदेखि नेपाली कामदारको माग उच्च बनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०६८/६९ मा सबैभन्दा बढी कतार गएका छन् । विभागका अनुसार आव ०६८/६९ मा एक लाख पाँच हजार ६ सय ८१ जना वैदेशिक रोजगारीका लागि कतार गएका छन् । विगतमा सबैभन्दा बढी मानिस रोजगारीमा मलेसिया जानेगरेको भए पनि सो वर्ष कतार अघि आएको छ । यसमा ६१ हजार एक सय ४६ व्यक्तिगत र ४४ हजार पाँच सय ३५ व्यक्तिगत रूपमा रोजगारीमा गएको विभागले जनाएको छ । असारमा मात्र ६ हजार आठ सय ६० जना कतार गएका छन् । यद्यपि माग उच्च भए पनि अहिले विदेश जाने कामदार कम भएको व्यवसायीको भनाइ छ ।
वैदेशिक रोजगार विभागका अनुसार सो आवमा तीन लाख ८४ हजार दुई सय १० जना रोजगारीका लागि विदेश गएका छन् । यो संख्यो आव ०६७/०६८ भन्दा ८ दशमलव ३७ प्रतिशत बढी हो । सो आवमा तीन लाख ५४ हजार पाँच सय ४३ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

प्रतिक्रिया