छोरीमैंयाको खोजीका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २३ साउन । पाँच महिनाअघि बेपत्ता भएकी छोरीमैंया महर्जनको अनुसन्धान फितलो भएको भन्दै पीडितले तीनदिने अल्टिमेटमसहित प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सोमबार बिहान ११ बजेको समय दिएका प्रधानमन्त्री एक्कासि उपत्यकाबाहिर गएपछि पीडितहरूले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए ।
छोरीमैंया खोजी दबाब समूूह र परिवारले ज्ञापनपत्र बुझाउँदै ७२ घन्टाभित्र महर्जनको अवस्था सार्वजनिक नगरे जस्तोसुकै आन्दोलन गर्न सक्ने र त्यसको जवाफदेही राज्य नै हुनुपर्ने चेतावनीसमेत दिएका छन् । ‘परिवारलगायत छोरीमैंया खोजी दबाब समूहले छोरीमंैयाको अवस्था पत्ता लगाइदिन सुरक्षाका विभिन्न निकायमा याचना गर्दा पनि राज्य संयन्त्रले देखाएको संवेदनहीनतालाई राम्रोसँग चित्रण गरिएको छ,’ पत्रमा भनिएको छ, ‘सुरक्षा निकायले छोरीमैंयाको अवस्था सार्वजनिक गर्न नसक्नुले प्रशासन निरीह र लाचार देखिनु खेदजनक कुरा हो ।’
ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले महर्जनको केस जटिल भएको भन्दै आफू गम्भीर भएर लाग्ने आश्वासन दिए । ‘सोमबार नै प्रधानमन्त्री, म र मुख्यसचिव लीलामणि पौडेल सल्लाह गरी क्याबिनेटमा लैजान्छौँ,’ श्रेष्ठले भने ।
०६८ फागुन १६ गते बिहान ८:१५ मा कामको सिलसिलामा बानेश्वर साथीको घर जाने भनी घरबाट हिँडेकी महर्जन बेपत्ता भएकी हुन् । महर्जनले काठमाडौं महानगरपालिका–२१ जैसीदेवलमा कपडा व्यवसाय गर्दै आएकी थिइन् ।

प्रतिक्रिया