शीतलनिवासमा पनि दलहरुको दोहोरी

काठमाडौं, २२ साउन । राष्ट्रपति डा.रामवरण यादवले यथाशीघ्र सहमतिमा पुग्न दलहरूलाई आग्रह गरेका छन् । विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई आइतबार आफ्नै निवासमा बोलाएर राष्ट्रपति यादवले सहमति नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

दिउँसोको खानासहित भएको करिब पाँच घन्टा लामो छलफलमा राष्ट्रपति यादवले दलहरूबीच सहमति नहुँदा मुलुकमा अन्योल छाएको भन्दै गुनासो गरेका थिए । संविधानसभा विघटन भएको दुई महिना बित्दा पनि सहमतिको प्रयास नभएकोमा उनको चिन्ता थियो ।
‘धेरै समय खेर गइसक्यो, अब ढिलो नगर्नुहोस् । अर्कोपल्ट आउँदा सहमति गर्‍याँै भन्ने वातावरण बनाउनुस्,’ छलफलपछि राष्ट्रपति यादवको भनाइ उद्धृत गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पत्रकारसित भने ।

अहिलेकै अवस्था लम्बिइरहयो भने मुलुक असफलताको बाटोतिर लाग्ने चिन्ता राष्ट्रपति यादवले गरेको दाहालले बताए । ‘देश जोगाउने र चलाउने तपाईंहरूले नै हो, अहिलेकै अवस्थामा मुलुक धेरै दिन चल्न सक्दैन, भँड्खालोमा जान्छ,’ स्रोतका अनुसार राष्ट्रपति यादवले नेताहरूलाई भनेका छन् । यसअघि पटक–पटक सहमतिका लागि आग्रह गर्दासमेत ठोस पहल नै नभएकोमा उनले असन्तुष्टिसमेत व्यक्त गरे । राष्ट्रपति यादवले मुलुकको अवस्थाप्रति गम्भीर बन्न पनि नेताहरूलाई आग्रह गरेका थिए ।
दलका नेताहरूले राष्ट्रपतिसमक्ष सहमति गर्ने प्रतिबद्धता जनाए पनि सहमतिको ठोस आधार भने दिन सकेनन् । उनीहरूले पुरानै अडानसहित
आ–आफ्नो धारणा राखे । एमाओवादी र मधेसी मोर्चासहितका सत्तापक्षीय दलहरूले पहिले सहमति जुटाएर सरकार परिवर्तन गर्न सकिनेमा जोड दिए भने कांग्रेस–एमालेसहितका विपक्षी दलहरूले एमाओवादीले सरकार छाडेपछि सहमतिका लागि छलफल अगाडि बढ्ने बताए ।
स्रोतका अनुसार बैठकमा एमाओवादी अध्यक्ष दाहालले सीमित समयका लागि संविधानसभा पुन:स्थापना गरेर अहिलेको गतिरोधलाई अन्त्य गर्नु उत्तम उपाय हुने धारणा राखेका थिए । उनले निर्वाचनमै जाने विषयमा पनि आफ्नो पार्टी लचिलो भएर छलफल गर्न तयार रहेको जानकारी दिए । दलहरूबीच सहमति भए कांग्रेस नेतृत्वको सरकार आफूहरूलाई मान्य हुने उनले बताएका थिए ।
कांग्रेस–एमालेका नेताहरूले भने पहिला प्रधानमन्त्रीले पद छाडेर सहमतिको वातावरण बनाउनुपर्ने माग राखे । ‘प्रधानमन्त्रीले पद छाडेर सबै दल सरकारमा अटाउने ठाउँ बनाउनुपर्छ, अनि निकासका लागि छलफल गर्न सकिन्छ,’ स्रोतका अनुसार एमाले अध्यक्ष झलनाथ खनालले छलफलमा भनेका थिए । खनालकै बोली कांग्रेस नेताहरूले पनि बोलेका थिए ।
छलफलमा प्रधानमन्त्री डा.बाुबराम भट्टराईले दलहरूबीच सहमति भए आफू तत्काल पद छाड्न तयार रहेको जनाए । पार्टीभित्रको चर्को विरोधलाई सामना गर्दै आफूले शान्तिप्रक्रियाका काम अगाडि बढाए पनि दलहरूले सरकारलाई असहयोग गरेको गुनासो उनले छलफलमा गरेका थिए ।
‘दलहरूबीच सहमति हुन्छ भने म एकछिन पनि सरकारमा बस्दिन, मलाई मन पनि छैन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माले महासचिव सिपी मैनालीले पत्रकारसित भने । संविधान संशोधन र सरकारले घोषणा गरेको चुनाव गर्न असहयोग गरेका दलहरूले पछिल्लो समयमा सरकारलाई बजेटसमेत ल्याउन नदिएको गुनासो प्रधानमन्त्री भट्टराईले गरेका थिए ।
दलहरूबीच सहमति नभइकन आफूले राजीनामा दिँदा मुलुक थप संकटमा पर्ने उनले बताए । कांग्रेस–एमालेलगायतका विपक्षी दलहरूले आफ्नो राजीनामा माग्नुभन्दा सहमतिका लागि पहल गर्नु उत्तम हुने उनको धारणा थियो ।
छलफलपछि कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीको सत्ता छाड्ने भनाइले सहमतिको आशा जगाएको बताए । दलहरू मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘दलहरू मिले सत्ता छाड्छु भन्ने प्रधानमन्त्रीको भनाइले सहमतिको आशा जगाएको छ, दलहरूका अगाडि सहमतिको विकल्प छैन,’ उनले भने ।
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै दलहरू सहमतिमा पुगून् भन्ने उद्देश्यले छलफल बोलाएको बताए । ‘राष्ट्रपतिको चाहना दलहरू सहमति गरेर अगाडि बढून् भन्ने हो,’ उनले भने ।
यसअघि पटक–पटक सहमति जुटाउन दलहरूलाई घच्घच्याएका राष्ट्रपतिले संविधानसभा विघटन भएको दुई महिना बित्दा पनि सहमति हुन नसकेपछि नेताहरूसित सामूहिक छलफल गरेका हुन् । छलफलमा संविधानसभामा प्रतिनिधित्व गरेका दलका तीन दर्जनभन्दा बढी नेताहरूको सहभागिता रहेको थियो ।
हालै एकीकृत माओवादीबाट विभाजित भएको नेकपा–माओवादी, लोकतान्त्रिक फोरमबाट छुट्टिएर बनेको तराई–मधेस समाजवादी पार्टीका नेताहरू भने सहभागी थिएनन् । ती दलका नेताहरूसित राष्ट्रपति यादवले यसअघि नै छुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया