तालाचाबी प्रहरीमा, काम बाहिर–बाहिरै

काठमाडौं, २२ साउन । एकीकृत माओवादी विभाजनपछि नेपाल राष्ट्रिय कर्मचारी महासंघको भृकुटीमण्डपस्थित कार्यालय विगत डेढ महिनादेखि प्रहरी नियन्त्रणमा छ । भृकुटीमण्डप कार्यालयबाट ‘राजसी शैली’मा गतिविधि सञ्चालन गर्दै आएकामा पार्टीसँगै महासंघ पनि विभाजित हुँदा कार्यालयमा को बस्ने भन्ने विवादपछि दुवै पक्ष कार्यालयविहीन बन्न पुगेका हुन् ।
महासंघ विभाजन भएकाले भृकुटीमण्डप कार्यालय दुुवै पक्षले कब्जा गर्न खोजेका थिए । कार्यालय कब्जाको विषयमा एमाओवादीनिकट पवित्रा तिमिल्सिना र पार्टी फुट भई गठित नेकपा–माओवादीनिकट रुक्म लामिछाने नेतृत्वका कर्मचारी आक्रमणमै उत्रिएपछि प्रहरीले कार्यालय नियन्त्रणमा लिएको थियो । प्रहरीले दुवै पक्षबीच विवाद साम्य नभएसम्म कार्यालय सञ्चालनका लागि दुवै समूहलाई नदिने भन्दै तालाचाबी नियन्त्रणमा लिएर राखेको छ ।
‘यसअघि समाजकल्याण परिषद्को भृकुटीमण्डपस्थित साढे दुईतले भवनमा राम्रैसँग कार्यालय सञ्चालन गर्दै आएका थियौँ,’ एमाओवादीनिकट कर्मचारी महासंघकी अध्यक्ष तिमिल्सिनाले भनिन्, ‘तर, अहिले कार्यालयविहीन छौँ र इकाइ कार्यालयलाई सम्पर्कका रूपमा प्रयोग गरेर संगठनका काम गर्दै आएका छौँ ।’
उनले केन्द्रीय कार्यालयको विवाद चाँडै सुल्झिने आसमा रहेकाले नयॉ कार्यालयको व्यवस्था नगरिएको बताइन् । ‘बहुमत हामीतिरै रहेकाले कार्यालय भोगचलन हामीले गर्नेछौँ,’ उनले भनिन्, ‘यस विषयमा हाम्रो कुरा पनि भइसकेको छ ।’
तिमिल्सिनाको नेतृत्वमा रहेको महासंघले भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत निजामती कर्मचारी संगठनको इकाई कार्यालयलाई सम्पर्क कार्यालय बनाएको छ । ‘अहिले हामीले सम्पर्कका रूपमा सडक विभागमा रहेको इकाई कार्यालय प्रयोग गरेका छौँ,’ उनले भनिन्, ‘हामी शरणार्थीका रूपमा कार्यालय सञ्चालन गरेर भए पनि संगठन सुदृढीकरणको अभियानमा लागेका छौँ ।’
पार्टी तथा संगठन संक्रमणकालीन अवस्थामा रहेकाले कार्यालयलाई भन्दा पनि संगठनको काममा बढी ध्यान दिइएको उनले बताइन् । भनिन्, ‘हामीले सरकार र पार्टीलाई कार्यालयसम्बन्धी विवाद छिटो मिलाइदिन भनेका छौँ र उनीहरूले पनि हामीलाई केही दिनभित्र सबै समस्या सल्ट्याइदिने वचन दिनुभएको छ ।’
नेकपा–माओवादीनिकट कर्मचारी महासंघका केन्द्रीय सदस्य गोपालसिंह धामीले पनि आफूहरूले कार्यालयविहीन अवस्थामै संगठनका गतिविधि सञ्चालन गर्दै आएको बताए । भने, ‘हामीले भृकुटीमण्डपको खुला चउरलाई सम्पर्क स्थानका रूपमा प्रयोग गर्दै आएका छौँ ।’
उनले कार्यालय नहुँदा काम गर्न निकै अप्ठ्यारो परेको उल्लेख गर्दै केही दिनमै कार्यालयको विवाद टुंगो लाग्ने भएकाले नयॉ कार्यालय नखोजिएको बताए । आफूहरू पुरानै कार्यालयमा बस्ने दाबी गर्दै उनले भने, ‘महासंघमा हामी बहुमत छौँ र कार्यालय पनि हामीले नै सञ्चालन गर्नेछौँ ।’

प्रतिक्रिया