दाङ, २२ साउन । देउखुरीमा डुबानमा परेका बाढी प्रभावितलाई आइतबारबाट राहत वितरण सुरु भएको छ ।
सिसहनियाका एक सय ११, लालमटियाका १० र सोनपुरका ३५ परिवारलाई खाना, लत्ता, कपडा र बस्नका लागि त्रिपाललगायतका सामग्री वितरण गरिएको छ । बाढीपीडितलाई स्थानीय संघसंस्था, व्यापारी, उद्योग वाणिज्य संघ, रेडक्रसलगायतले सहयोग गरेका छन् ।
शुक्रबार बाढीबाट आफन्त गुमाउने दुई जनाको परिवारलाई ४० हजार रुपियाँका दरले किरिया खर्च वितरण गरिएको छ । १८ साउनमा आएको बाढीमा परेर ज्यान गुमाएकाका परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत वितरण गरेको हो । समितिका संयोजक एवं सिडिओ मधुसूदन बुर्लाकोटीले सिसहनिया–९ भगवानपुरका ४५ वर्षीय खैरुन निसा र गोबरडिहा–९ सुपेलाका ४० वर्षीय ज्ञानबहादुर पुनका परिवारलाई राहत वितरण गरेका हुन् ।
दैलेख चिसापानी घर भई सीमा सुरक्षा बल अर्जुनखोलामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार २७ वर्षीय रामबहादुर रानाका परिवारलाई शनिबार ४० हजार रुपियाँ वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । बाढीका कारण देउखुरीमा चार जनाले ज्यान गुमाएका छन् । प्रारम्भिक अनुगमनमा देउखुरीका ८२ घरपरिवार पूर्णरूपमा विस्थापन भएका छन् । घर पूर्णरूपमा क्षति भएका कारण ओढ्ने, ओछयाउन, लत्ताकपडा, भाँडाकुँडा पनि बाढीले बगाएपछि उनीहरू समस्यामा परेका छन् । ८२ घरका चार सय १७ सदस्य बाढीबाट विस्थापन भएका हुन् । सिसहनियाका ५५, सोनपुरका १५, लालमटियाका १० र गोबरडिहाका २ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । विस्थापितहरू कहलुवामा त्रिपाल टाँगेर बसेका छन् ।
गोबरडिहाका तीन, लालमटियाका ४६, सिसहनियाका चार सय ३७ र सोनपुरका एक सय २३ घरमा आंशिक क्षति पुगेको पाइएको छ । रेडक्रस उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईका अनुसार सिसहनियाको कोहलुवामा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ ।
गाउँका एक सय २८ मध्ये ११ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ४८ घरमा आंशिक क्षति भएको छ । देउखुरीमा प्रगन्ना सिँचाइ आयोजनाको काम समयमै पूरा हुन नसक्दा गाउँमा बाढी पसेको स्थानीयले बताएका छन् । स्थानीयले सिँचाइ आयोजनाको बाँध साँघुरो बनाइएकाले गाउँमा बाढी पसेको गुनासो गरेका छन् । उनीहरूले आयोजना राम्रोसँग नबनाइए फेरि बाढी आउने खतरा रहेको बताएका छन् । आयोजनाअन्तर्गत दोलही खोलाको दुवैतिर तटबन्धन गर्नुपर्ने सम्झौता भए पनि कार्यान्वयन हुन नसक्दा गाउँमा बाढी पसेको हो ।
प्रतिक्रिया