काभ्रे, २२ साउन । ३१ असारमा बसको ठक्करबाट मृत्यु भएका जिल्ला शिक्षा कार्यालय काभ्रेका स्रोतव्यक्तिद्वयका परिवारलाई शिक्षकहरूको पेसागत संगठनको तर्फबाट राहत रकम हस्तान्तरण गरिएको छ ।
दुर्घटनामा परी डेगराज भट्टराईको घटनास्थलमै र नवराज तिमल्सिनाको उपचारका क्रममा २ साउनमा न्युरो अस्पतालमा निधन भएको थियो । बसका चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका शिक्षकले आइतबार पीडितको घरमा गएर २–२ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
संगठनका तर्फबाट शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमल्सिनाले भट्टराईको पत्नी ज्ञानु र तिमल्सिनाकी पत्नी ईश्वरीलाई चेक हस्तान्तरण गरेका थिए ।
यातायात व्यवसायीले पीडितको मागलाई बेवास्ता गरेको भन्दै शिक्षकहरूले घटनामा संलग्न दोषीलाई ज्यानसम्बन्धी महलको दफा १३ (३) अनुसार हदैसम्मको कारबाहीको माग गर्दै आइतबार सिडिओ रुद्रनाथ बस्याललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
यस्तै, शिक्षकहरूले क्षतिपूर्तिका लागि व्यवसायीसँगको वार्तामा नबस्ने निर्णय गरेका छन् । ‘विधि र प्रक्रिया पुर्याएर जिल्लाभरका शिक्षकको हितका लागि कोषको गठन गर्दै छौँ, कोषमा जम्मा भएको रकमबाट पीडित शिक्षकको परिवारलाई सहयोग गर्ने निष्कर्षमा पुगेका छौँ,’ युनियनका अध्यक्ष तिमल्सिनाले भने । ज्यान मुद्दाका लागि पीडित परिवारका तर्फवाट पेसागत संगठनले कानुन व्यवसायी राख्ने निर्णयसमेत गरेका छन् ।
यसअघि शिक्षकहरूले आन्दोलनमाथि दमन गर्ने काभ्रेका डिएसपी र चालकलाई कारबाही माग गर्दै धर्ना, जुलुस, पेन डाउन आन्दोलन गरिसकेका छन् ।
प्रतिक्रिया