सुर्खेत, २२ साउन । प्रहरीले पाँच केजी तीन सय ग्राम लागुपदार्थ अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । रामघाटबाट कोहलपुर लैजाने क्रममा छिन्चुमा अफिमसहित महिला पक्राउ परेका हुन् ।
प्रहरीले कोहलपुर–२ की ३५ वर्षीया दिलमाया थापा र २९ वर्षीया सुस्मिता पुनलाई पक्राउ गरेको हो । कम्मरमा पटुकाले बाँधेको अवस्थामा पुनबाट दुई केजी आठ सय ग्राम र थापाबाट दुई केजी पाँच सय ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
तीन महिनाको अनुसन्धानपछि आइतबार बिहान ९ बजे उनीहरूलाई पक्राउ गरिएको एसपी गोविन्दराम परियारले जानकारी दिए । उनले पहिलोपटक यति ठूलो परिमाणमा अफिम पक्राउ गरिएको बताए । एक सय ग्रामभन्दा बढी मात्रामा अफिमसहित पक्राउ पर्नेलाई २० वर्ष कैद तथा ५ लाख रुपियाँ जरिवाना हुने कानुनी प्रावधान छ ।
प्रारम्भिक अनुसन्धानबाट महिलालाई भरियाको रूपमा मात्रै प्रयोग गरिएको खुलेको तर थप अनुसन्धान भइरहेको परियारले बताए । पक्राउ परेकी पुनले आफूलाई झुक्याएर अफिम बोक्न पठाएको बताइन् । ‘रामघाटबाट कोहलपुरसम्म पुर्याएको पाँच हजार रुपियाँ दिन्छु भनेका थिए,’ उनले भनिन्, ‘अफिम हो भन्ने थाहा थिएन ।’
पहिला सामान छ मात्रै भनेकाले आए पनि पछि अफिम बोक्न पठाएको उनले बताइन् । तर, अफिम बोक्न पठाउनेलाई राम्रोसँग नचिनेको उनको भनाइ छ । ‘सामान भनेपछि चामल, नुन, तेल वा अरू केही होला भनेर आएँ तर पटुकामा बेर्न लगाएर जंगलको बाटो भएर जान लगाइयो,’ उनले भनिन् । अर्की महिला थापाले कोहलपुरमा मजदुरी गर्दा चिनेको व्यक्तिले यस्तो काम लगाएको बताइन् । उनीहरूले पहिलोपटक यस्तो काममा संलग्न भएको दाबी गरेका छन् ।
एसपी परियार महिलालाई प्रयोग गरेर लागुऔषधको ओसारपसार बढेको बताउँछन् । ‘महिलालाई प्रहरीले पनि कम निगरानी गर्ने भएकाले गिरोहले पैसाको लोभ देखाएर प्रयोग गरेका छन्,’ उनले भने ।
भेरी र कर्णालीका पहाडी जिल्लामा अफिमको खेती हुने गरेको उनले बताए । अफिमको उत्पादन तथा कारोबारमा ठूलै गिरोह सक्रिय रहेको प्रहरीले दाबी गरेको छ । भेरीका जाजरकोट, दैलेख र सुर्खेत तथा कर्णालीका प्राय: जिल्लामा अफिमको उत्पादन हुने गरेको छ । एसपी परियारले अफिम युरोपसम्म निर्यात हुने गरेको जानकारी पाएपछि तीन महिनादेखि विशेष टोली निर्माण गरेर अनुसन्धान गरिएको जानकारी दिए ।
‘पक्राउ परेका व्यक्तिको प्रारम्भिक अनुसन्धानबाट ठूलै गिरोह सक्रिय रहेको खुलेको छ,’ एसपी परियारले भने, ‘अनुसन्धान तीव्र पारेका छौँ ।’ अफिम भारत हुँदै युरोपका मुलुकसम्म पुर्याउने गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया