लन्डन, २१ साउन । अमेरिकी पौडीवाज माइकल फेल्प्सले जारी लन्डन ओलम्पिक खेलकुदमा व्यक्तिगततर्फ अर्को पनि स्वर्णपदक जितेका छन् । बटरफ्लाइका अब्बल फेल्प्स जारी प्रतियोगिताको आफ्नो अन्तिम एकल स्पर्धामा शनिबार १०० मिटर बटरफ्लाइमा स्वर्णपदक जित्न सफल भए ।
जारी प्रतियोगितामा व्यक्तिगत स्पर्धामा दोस्रो स्वर्णपदक जित्नेक्रममा २७ वर्षीय फेल्प्स आफ्नो अतुलनीय क्षमतालाई शतप्रतिशत देखाउन सफल भए । पहिलो ५० मिटरसम्म सातौँ स्थानमा रहेका फेल्प्स त्यसपछि साँच्चिकै अपत्यारिलो पुनरागमन गर्दै ५१.२१ सेकेन्ड समयका साथ पहिलो स्थानमा आएका थिए । फेल्प्सले अन्तिम ५० मिटर दूरी २६.८६ सेकेन्डमा पूरा गरेका हुन् ।
ओलम्पिक खेलकुदमा फेल्प्सको यो १७औँ स्वर्णपदक हो भने समग्रमा २१औँ पदक जुन दुवै आफैमा कीर्तिमान बनिसकेका छन् । दुई दिनअघि २०० मिटर बटरफ्लाइमा रजतपदक जितेर फेल्प्सले ओलम्पिक खेलकुदमा आफ्नो पदक संख्या १९ पुर्याउँदै सर्वाधिक ओलम्पिक पदकविजेताका रूपमा कीर्तिमान बनाएका थिए । त्यसयता उनले २०० मिटर इन्डिभिजुअल मेड्लेमा स्वर्णपदक जितेका थिए । चारगुणा ४०० मिटर फ्रिस्टाइल रिलेमा उनीसहितको अमेरिकी टोलीले स्वर्णपदक हात पारेको थियो ।
फेल्प्सले १०० मिटर बटरफ्लाइमा लगातार तेस्रो ओलम्पिकमा स्वर्णपदक जितेका हुन् । गत बिहीबार २०० मिटर इन्डिभिजुअल मेड्लेमा स्वर्णपदक जितेर फेल्प्स ओलम्पिकको एउटा विधामा लगातार तीनपटक स्वर्णपदक जित्ने पहिलो खेलाडी भएका थिए । दोस्रो स्पर्धामा लगातार तेस्रोपटक स्वर्णपदक जित्ने क्रममा शनिबार भएको १०० मिटर बटरफ्लाइमा निकटतम प्रतिद्वन्द्वीद्वय दक्षिण अफ्रिकाका चाड ले क्लोस र रसियाका एभ्जेनी कोरोटिस्किनलाई समान ०.२३ सेकेन्डले पछाडि छाडेका थिए ।
१०० मिटर बटरफ्लाइका पछिल्ला दुई ओलम्पिक भिडन्तमा फेल्प्सले सन् २००४ को एथेन्स ओलम्पिकमा अमेरिकाकै इआन क्रुकरलाई ०.०४ र सन् २००८ को बेइजिङ ओलम्पिकमा सर्बियाका मिलोराड केभिकलाई ०.०१ सेकेन्डले पछि पारेका थिए ।
फेल्प्सले जारी ओलम्पिकमा तीन स्वर्णपदक र दुई रजतपदक गरी कुल पाँच पदक जितिसकेका छन् । अब उनले प्रतिस्पर्धा गर्न बाँकी रहेको चारगुणा १०० मिटर मेड्ले रिलेमा पनि अमेरिकालाई स्वर्णपदक विजेताको रूपमा हेरिएको छ । फेल्प्सले यस स्पर्धामा अहिलेसम्म स्वर्णपदक गुमाएका छैनन् । यदि यसमा कुनै तलमाथि भएन भने कुनै पनि अमेरिकी खेलाडीले छैटाँैपटक ओलम्पिक खेलकुदमा ६ वटा पदक जित्नेछन् । यसमा फेल्प्सले दुईपटक सो सफलता हात पारिसकेका छन् । फेल्प्सबाहेक मार्क स्पिट्ज (१९७२), म्याट बिओन्डी (१९८८) र नाटाली कोघलिन (२००८) ले पनि एउटै ओलम्पिक खेलकुदमा कम्तीमा ६ पदक जितेका थिए ।
अमेरिकाले पौडीमा १४ स्वर्णपदक जितिसकेको छ । सन् १९७२ मा पौडीतर्फ १७ स्वर्णपदक जितेको अमेरिका त्यसतर्फका सबै ओलम्पिक संस्करणमा पौडीतर्फ सर्वाधिक स्वर्णपदक विजेता बन्ने गरेको छ । यसै ओलम्पिकपछि फेल्प्सले सन्न्यास लिने बताइसकेका छन् । अमेरिकाकै १७ वर्षीय मिसी फ्रान्कलिनले २०० मिटर ब्याकस्ट्रोकमा विश्वकीर्तिमान समयसहित स्वर्णपदक जितिन् । जारी प्रतियोगितामा फ्रान्कलिनको यो तेस्रो स्वर्णपदक हो । उनले निर्धारित दूरी २ मिनेट ०४.०६ सेकेन्डमा पूरा गरी साविक विजेता किस्टी कोभेन्ट्रीद्वारा सन् २००९ मा २ मिनेट ०४.८१ सेकेन्ड समय निकाली बनाइएको कीर्तिमान तोडेकी हुन् ।
१०० मिटर ब्याकस्ट्रोक पनि स्वर्णपदक जितिसकेकी फ्रान्कलिन अब १०० मिटर चारगुणा फ्रिस्टाइल रिलेमा पनि खेल्दै छिन् । महिलाको ८०० मिटर फ्रिस्टाइलमा अमेरिकाकै १५ वर्षीय केटी लेडेस्की पहिलो भइन् । उनले निर्धारित दूरी ८ मिनेट १४.६३ सेकेन्डमा पूरा गरिन् । उनले साविक विजेता ब्रिटिस खेलाडी रेबेका एड्लिङ्टनलाई पछि पारेर स्वर्णपदक जितेकी हुन् ।
पुरुषतर्फ ५० मिटर फ्रिस्टाइलमा फ्रान्सका फ्लोरेन्ट मनाउडौले स्वर्णपदक जिते । उनले अमेरिकाका कुलेन जोन्स र ब्राजिलका विश्वकीर्तिमानी सिजर सिएलोलाई पछि पारेका थिए । जारी ओलम्पिक खेलकुदमा पौडीतर्फ फ्रान्सलाई यो चौथो स्वर्णपदक हो । फ्लोरेन्ट सन् २००४ को एथेन्स संस्करणका विजेता लाउरे मनाउडौका कान्छा भाइ हुन् ।
ब्याडमिन्टनमा चीनको पकड
चीनले ब्याडमिन्टनको मिश्रित युगलतर्फ स्वर्णपदक जितेको छ । झाङ नान र झाओ युन्लेईको चिनियाँ जोडीले चीनकै जु चेन र मा जिनको जोडीलाई हराएर स्वर्णपदक जित्यो । उक्त स्पर्धामा रजतपदक पनि चीनले नै हात पारेको हो । यसअघि महिला एकलतर्फ फाइनलमा पुग्ने पनि दुवै खेलाडी चीनका रहे । शीर्ष वरीयताकी वाङ यी हान र ली जुए रुई फाइनल पुगेका हुन् । पुरुष एकलतर्फ चीनकै साविक विजेता लिन डान र मलेसियाका ली चोङ वेई फाइनल पुगे । गत संस्करणमा पनि यी दुई खेलाडी फाइनल पुगेका थिए । यस टेबलटेनिसमा चीनले पुरुष र महिला एकलतर्फ दुवैमा स्वर्ण र रजतपदक जितेको थियो ।
अमेरिकालाई एथलेटिक्समा धक्का
४०० मिटरमा स्वर्णपदकका दाबेदार मानिएका साविक विजेता अमेरिकी धावक लेस्वान मेरिटले हिटचरणमा सहभागी भए पनि हयामस्ट्रिङका कारण त्यसपछि खेल परित्याग गर्न बाध्य भएका छन् । उनी चारगुणा ४०० मिटर रिलेमा सहभागी हुनेमा पनि आशंका गरिएको छ । चारगुणा ४०० मिटर रिलेमा पनि अमेरिका साविक विजेता हो । सन् २०१० मा तीनपटकको परीक्षणपछि डोपिङमा असफल हँुदै २१ महिना प्रतिबन्ध सजाय पाएका मेरिट गत वर्ष सम्पन्न विश्व च्याम्पियनसिपमा ४०० मिटरतर्फ दोस्रो भएका थिए । यस वर्ष उनी ४०० मिटरमा सबैभन्दा चाँडो दौड्ने खेलाडी हुन् ।
सेरेनालाई ओलम्पिक स्वर्णपदक
अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले एकल स्पर्धामा ओलम्पिक स्वर्णपदक जितेर ऐतिहासिक सफलता हात पारेकी छन् । शनिबार रसियन सुन्दरी मारिया सारापोभालाई हराउँदै स्वर्णपदक जितेकी सेरेना सबै चार ग्रान्डस्लाम र ओलम्पिक स्वर्णपदक जित्ने दोस्रो महिला टेनिस खेलाडी बनिन् । सन् १९८८ मा स्टेफी ग्राफले मात्र यसअघि उक्त सफलता हात पारेकी थिइन् । लामो समयसम्म चोटका कारण कोर्टबाहिर रहेकी सेरेना पछिल्लो समय उत्कृष्ट लयमा थिइन् । उनले केही साताअघि मात्र इंगल्यान्डमै वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन जितेर एकल स्पर्धामा व्यक्तिगत ग्रान्डस्लाम संख्या १४ पुर्याएकी थिइन् । यस सिजनमा फ्रेन्च ओपन जितेकी सारापोभाविरुद्ध सेरेना ६–० र ६–१ को दुई सेटमा सहजै विजयी भइन् । यसअघि सेरेनाले ओलम्पिकमा स्वर्णपदक जिते पनि त्यो युगल स्पर्धामा थियो । यसैबीच पुरुष एकलतर्फको स्वर्णपदकका लागि रोजर फेडेरर र एन्डी मर्रेबीच प्रतिस्पर्धा हुने भएको छ । एजेन्सी
स्वर्णको भोकले चीनमा देशभक्तिको तरंग
एएफपी
बेइजिङ, २१ साउन । लन्डन ओलम्पिक खेलकुदमा चीनको सफलताले मुलुकभर देशभक्तिको तरङ्ग फैलिएको छ भने यस भावनालाई त्यहाँ भएका विविध काण्डका समाचारले कमजोर बनाउन सकेको छैन ।
लन्डनमा टेबलटेनिस, सुटिङ, पौडीजस्ता खेलमा चीनका लागि स्वर्णपदकको थुप्रो लागेको छ र यी खेलका विषयमा राज्यका टेलिभिजनले गरेको प्रसारणले जनताको ध्यान निरन्तर तानेको छ ।
यसबीच पौडीमा शारीरिक शक्ति बढाउन औषधि प्रयोग भएको तथा ब्याडमिन्टनमा खेल निर्धारण गर्न प्रयास भएको आरोपका समाचारको विषयमा चिनियाँहरू आफ्ना खेलाडीको प्रतिरक्षामा देखिएका छन् । पौडी खेलाडीमाथि लागेको आरोप त प्रमाणित नै हुन सकेन ।
बेइजिङस्थित एक चमेनागृहमा खाना खाँदै एउटी बिक्री कर्मचारी हुआङ वेइवेइले चीनले प्रत्येक स्वर्णपदक जित्दा आफ्नो मुटुको धड्कन बढ्ने गरेको बताइन् । उनको आँखा चमेनागृहमा टाँगिएको टेलिभिजनमै गडेको थियो ।
यसबीच चीन पदक तालिकामा अमेरिकापछि दोस्रो स्थानमा पुगेको छ । चीनले शनिबार बिहानसम्म २० स्वर्ण तथा १३ रजतपदक प्राप्त गरेको छ । उसले यस खेलमा जित्न सक्ने पदकको संख्या अझै निकै छ ।
सान्लिटुन जिल्लाको एक पसलमा आफ्नो काम सकेपछि २६ वर्षीया हुआङ रातिको खाना खान्छिन् र मध्यरातसम्म ओलम्पिक हेरेर बस्छिन् । समयको फरकले उनले ओलम्पिकका खेलको प्रत्यक्ष प्रसारण हेर्न त पाउँदिनन् तापनि चीनका टेलिभिजन संस्थाहरूले खेलका बारेमा निरन्तररूपमा जानकारी दिने गर्छन् । राज्यद्वारा सञ्चालित टिभीको सिसिटिभी–५ लाई आधिकारिक ओलम्पिक च्यानलमा परिणत गरिएको छ । यस प्रसारणमा रातो झन्डामा ५ तारा निरन्तररूपमा देखिने गर्छ ।
सन् २०१२ को ओलम्पिक खेलका लागि चिनियाँ व्यक्तित्वहरू टेबलटेनिस खेलाडी झाङ जिके, पौडीवाज सुन याङ तथा ए सिवेन, वु मिनसिया तथा यी सिलिङ परेका छन् । चिनियाँले धेरै क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । सन् २००८ मा बेइजिङ खेलमा प्राप्त सफलताले खेलाडीलाई आत्मविश्वास बढाएको बेइजिङमा बसोबास गर्ने सुन युएले बताइन् ।
सही व्यवस्थापन तथा अभूतपूर्व बजेटका कारण चार वर्षअगाडि चीनले आयोजना गरेको ओलम्पिकले उसलाई विश्वमञ्चमा आफ्नो शक्ति देखाउने मौका दियो । एएफपीले कुरा गरेको अधिक संख्याका व्यक्तिले लन्डन ओलम्पिकले बेइजिङको प्रयासलाई प्रतिस्पर्धा गर्न नसकेको बताए । चीनले ओलम्पिक खेलका उपलब्धिलाई आफू विश्वको शक्ति भएको देखाउन पनि प्रस्तुत गर्ने गर्छ ।
१६ वर्षीय ए सिवेनमाथि लगाइएको र प्रमाणित हुन नसकेको शारीरिक क्षमता बढाउन औषधि प्रयोग गरेको आरोपले चिनियाँलाई क्रुद्ध बनाएको देखिएको छ । यसका विषयमा हजारौँ चिनियाँले इन्टरनेटमा आफ्नो क्रोध पोखेका थिए । उनीहरूमध्ये एक वाङ होउले पश्चिमी मुलुकले चिनियाँ पौडीबाजले निकै प्रगति गरे भन्ने कुरालाई स्वीकार गर्न नसकेको बताएका छन् ।
ब्याडमिन्टन खेलाडी यु याङलाई ओलम्पिक खेलमा अयोग्य घोषणा गरिएपछि र उनले खेलबाट सन्न्यास लिएपछि धेरै चिनियाँले खेलाडीभन्दा खेल प्रणालीलाई दोष दिएका छन् । बेलायती समाचारपत्र डेलीमेलले चीनको दक्षिणी नानिङ नगरमा एक जिमको अवस्था उल्लेख गर्दै यो ‘तालिम हो कि यातना हो ?’ भनी प्रश्न गरी एक लेख प्रकाशन गरेको थियो । लेखमा बालबालिकालाई ५ वर्षको उमेरदेखि नै प्रमुख प्रतिस्पर्धाको लागि तयार गर्ने गरिएको उल्लेख गरिएको छ ।
बिहीबार यिनै विषयमा सिसिटिभीको समाचार च्यानलको ‘डायलग’ कार्यक्रममा छलफल भएको थियो । आफ्ना खेलाडीलाई यस प्रकारको चिनियाँ तरिकाले तालिम नदिने हो भने चीनको स्थान पनि पदक तालिकामा भारतको जस्तै रहने धारणा विश्लेषक गाओ झिकाइले उक्त कार्यक्रममा व्यक्त गरेका थिए ।
भारतको जनसंख्या १.२ अर्ब छ र उसले बेइजिङ खेलमा एक स्वर्ण र एक कांस्यपदक प्राप्त गरेको थियो । लन्डन ओलम्पिकमा भारतले हालसम्म एक रजत र एक कांस्यपदक प्राप्त गरेको छ । ‘बाँकी विश्वले पनि नकारात्मक कुरामा ध्यान दिनुभन्दा चीनले यस्तो ठूलो प्रगति प्राप्त गर्न के गरेको छ भन्ने कुरालाई ध्यान दिनुपर्छ,’ विनाकुनै हिच्किचाहट गाओले थपे ।
जापान सेमिफाइनलमा
लन्डन : जापानले पुरुष फुटबलतर्फ सेमिफाइनल यात्रा तय गरेको छ । शनिबार भएको अन्तिम आठको भिडन्तमा एसियाली टोली जापानले इजिप्टलाई ३–० ले पराजित गर्यो । जापानको जितमा केनसुके नागाई, माया योसिदा र युकी ओट्सुले गोल गरे । ४१औँ मिनेटपछि १० खेलाडीमा सीमित भएको इजिप्टविरुद्ध जापानले त्यसअघि नै अग्रता लिइसकेको थियो । जापानले १४औँ मिनेटमा नागाईको गोलमार्फत अग्रता लिएको थियो । ७८औँ मिनेटमा योसिदाले गोल गरे भने अन्तिम गोल ८३औँ मिनेटमा ओट्सुबाट भयो । यसअघि समूहचरणमा स्पेनलाई हराएको जापानले स्वर्णको लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । इजिप्टका साद समिर सोझै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि जापानले खेल जित्न थप सजिलो भएको थियो ।
शनिबार नै भएको अर्को क्वार्टरफाइनलमा सेनेगललाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै मेक्सिको पनि सेमिफाइनलमा प्रवेश गरेको छ । अरू दुई क्वार्टरफाइनलमा ब्राजिल र होन्डुरस तथा बेलायत र दक्षिण कोरियाबीच शनिबार राति भिडन्त भइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया