बाँकेका आधा खेत बाँझैँ

नेपालगन्ज, २१ साउन । मुलुकभर बाढीले ठूलो जनधनको क्षति पुर्‍याए पनि बाँकेका आधा खेतमा अझै रोपाइँ हुन सकेको छैन ।
पर्याप्त वर्षात् नहुँदा बाँकेका अधिकांश किसानले धानरोपाइँ गर्न सकेका छैनन् । आकासे खेतीमा भर पर्ने किसानले पानी नपरेकै कारण रोपाइँ गर्न नसकेको बताएका छन् । मध्य साउन भइसक्दा पनि धानरोपाइँ गर्न नपाएपछि किसानहरू उत्पादन घट्ने चिन्तामा छन् ।
लामो खडेरीका कारण वर्षायामको अन्य खेती पनि किसानले ढिलो गरी सुरु गरेका थिए । रोपाइँ भइसकेको खेत पनि पानी नपरेका कारण सुकेर चिरा परेको छ । न्यून सिँचाइ सुविधा रहेको बाँकेमा सिँचाइ नभएका ठाउँका किसानले धान रोप्न सकेका छैनन् ।
मनिकापुर–७ का किसान मेवालाल यादव पानी नपरेका कारण आफूले अहिलेसम्म पनि धानरोपाइँ नगरेको बताउँछन् । यतिबेला धान रोपेर हरियाली हुने बेला मनिकापुरका किसान सीताराम यादव भने ट्रयाक्टरबाट खेत जोत्ने कार्यमा लागेका छन् ।
वर्षात् नभएकै कारण धान रोप्न नसकेको उनको गुनासो छ । सोही गाविसका अर्का किसान सीताराम हरिजन खेतनजिकै खाल्डाखुल्टीमा जमेको पानी ल्याएर धान रोप्न लागेको बताउँछन् । बाँकेको इन्द्रपुर, बेलभार, मनिकापुर, कम्दी, वनकट्टी, होलिया, बेतहनी, पुरैनी, गनापुर, पुरैनालगायतका गाविसका अधिकांश किसानले सिँचाइ अभावका कारण धान रोप्न सकिरहेका छैनन् ।
२५ प्रतिशत मात्र सिँचाइ सुविधा भएको बाँकेमा सिँचाइ भएकै ठाउँका कतिपय किसानले पनि बिउ ढिलो राखेकाले समयमा रोपाइँ गर्न सकेनन् । बाँकेको माटो उर्बर भए पनि अधिकांश किसान आकासेखेतीमा भर पर्ने गरेका छन् । जिल्लाभर ५२ हजार ८ सय ३८ हेक्टर जमिन खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालय, बाँकेले जनाएको छ ।
जिल्लाको कुल जमिनको ३६ हजार ५ सय हेक्टरमा धानखेती लगाइन्छ । जिल्ला कृषि विकास कार्यालय, बाँकेका वागवानी विकास अधिकृत किशोरमान श्रेष्ठ कतिपय ठाउँमा ढिला रोपाइँ भएको र कतिपय ठाउँमा रोपाइँ नै नभएकोले स्वत: उत्पादन घट्ने बताए । हाल जिल्लामा ४७ प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास कार्यालयले जनाएको छ । उर्वर र खेतीयोग्य जमिन रहेको बाँकेमा सरकारले सबै ठाउँमा सिँचाइ सुविधा उपलब्ध गराउन सके किसानले दोब्बर उत्पादन गरी राष्ट्रिय उत्पादनमा टेवा पुर्‍याउन सक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया