काठमाडौं, २१ साउन । एमालेको युवा संगठन युवा संघ नेपालले शनिबार साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा १२ जना घाइते भएका छन् ।
सरकारविरुद्ध आन्दोलनमा रहेको संघले शनिबार साँझ राजधानीको कमलादीबाट निकालेको मसाल जुलुस घन्टाघर हुँदै रत्नपार्क पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपमा संघका महासचिव निरज आचार्य, कोषाध्यक्ष निरु पाल, अन्य नेता रुमेश कटवाल, निरेशराज श्रेष्ठ, नितेष पौडेललगायत घाइते भएका हुन् । जुलुसपछि आयोजित कोणसभामा संघका अध्यक्ष महेश बस्नेतले नयाँ संविधान बन्न नदिई संविधानसभा विघटन गर्ने, महँगी, भ्रष्टाचार र राष्ट्रहितविपरीत काम गर्ने सरकारलाई यो महिना कट्न नदिने उद्घोष गरेका थिए ।
आन्दोलनका कार्यक्रम घोषणा
यस्तै, प्रतिपक्षी गठबन्धनका नौ युवा संगठनले शनिबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
घोषित कार्यक्रमअनुसार आइतबार उनीहरूले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी राजनीतिक निकासको पहल लिन स्मृतिपत्र दिने भएका छन् भने आइतबारदेखि नै दुई दिन बिहान ६ देखि १० बजेसम्म चारघन्टे चक्काजाम गर्ने भएका छन् । यस्तै २३ र २४ साउनमा उनीहरूले चारघन्टे नेपाल बन्द गर्ने कार्यक्रम अघि सारेका छन् । यसअघि संघले अघि सारेको २४ साउनसम्मको विरोध कार्यक्रमलाई अन्य संगठनले नैतिक समर्थन जनाएका छन् ।
प्रतिक्रिया