काठमाडौं, २१ साउन । नियमविपरीत होटल र अस्पताल एकै भवनमा सञ्चालनको तयारी गरिरहेको अनमोल हस्पिटल एन्ड रिसर्च सेन्टर र अस्पताल राख्न लागिएको भवनका मालिकले अदालतको मानहानि गरेको पाइएको छ ।
पुनरावेदन अदालत पाटनले गत ८ साउनमै धुम्बाराहीस्थित सो भवनका धनी हरिभक्त श्रेष्ठलाई अस्पताल सञ्चालनका लागि घर भाडामा नदिन अन्तरिम आदेश दिएको थियो । तर, श्रेष्ठ र अनमोल अस्पतालले अदालतको आदेशको बेवास्ता गर्दै धमाधम काम अघि बढाइरहेका छन् । शनिबार साँझसम्म अस्पतालका कर्मचारीले अस्पताल सञ्चालनका लागि उक्त भवनमा उपकरण राख्नेलगायत तयारीका काम गरिरहेका थिए । नियमानुसार यस्तो समस्यामा अदालतको मानहानि गर्नेलाई ६ महिना कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।
श्रेष्ठले अनमोल अस्पताललाई घर भाडामा दिनुअघि नै धुम्बाराहीमै रहेको फेमेली हेल्थ केयर इन्टरनेसनल एन्ड रिसर्च सेन्टर प्रालिलाई १० वर्षका लागि भाडामा दिने सम्झौता २६ साउन ०६८ मा गरेका रहेछन् । उक्त सम्झौताविपरीत अनमोल अस्पताललाई घर भाडामा दिएपछि फेमेलीले श्रेष्ठविरुद्ध अदालतमा मुद्दा हालेको थियो । अदालतले फेमेली र श्रेष्ठबीच भएको सम्झौता र फेमेलीले सम्झौता गर्दा नै श्रेष्ठलाई १० लाख रुपियाँ बैना दिएको प्रमाणका आधारमा श्रेष्ठलाई ८ साउनमा सम्झौताविपरीत भवन तेस्रो पक्ष (अनमोल अस्पताल)लाई बहालमा नदिन र भवनलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।
अदालतले तेस्रो पक्षलाई भवन भाडामा नदिन र कामसमेत गर्न नदिन आदेश दिएको कुरा श्रेष्ठ स्विकार्छन् । आफू उपत्यकाबाहिर भएकाले शनिबारसम्म भवनमा काम भएको उनको भनाइ छ । ‘अदालतले काम अगाडि नबढाउनू भनेको पक्कै हो,’ उनले भने, ‘तर यही समयमा म उपत्यकाबाहिर गएकाले यहाँ काम भएको रहेछ । मैले आजदेखि काम रोकेको छु ।’
उनले शनिबार दिउँसोदेखि नै भवनका सबै सटर बन्द गरेर अस्पतालको काम रोकेको बताए पनि साँझ सौर्यको टोली त्यहाँ पुग्दा काम धमाधम भइरहेको थियो । अस्पतालका लागि खोलिएको फार्मेसी पनि खुला थियो ।
अनमोल अस्पतालका निर्देशक अबुल हसन अन्सारीले भवन आफूहरूलाई दिएकाले काम अगाडि बढाइएको बताए । अस्पतालको सबै काम लगभग सकिएको जानकारी निर्देशक अन्सारीले दिए । अदालतको आदेशबारे भने उनले कुनै प्रतिक्रिया दिएनन् ।
अदालतको आदेशविपरीत काम अगाडि बढाएको र पहिल्यै आफूहरूसँग १० वर्षका लागि सम्झौता गरेकाले भवन आफूले सञ्चालन गर्न पाउनुपर्ने भन्दै फेमेली श्रेष्ठ र अनमोल अस्पतालविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारीमा छ । फेमेलीकी अंशियार इन्दिरा शाक्यले अदालतले दिएको आदेशसमेत नमानी अटेर गरेकाले उनीहरूविरुद्ध पुन: अदालत जान लागिएको बताइन् ।
प्रतिक्रिया