आपराधिक क्रियाकलाप बढ्दो

ताप्लेजुङ : ताप्लेजुङमा आपराधिक क्रियाकलाप बढेको छ । आर्थिक वर्ष ०६७/०६८ मा जिल्ला प्रहरी कार्यालयमा एक सय आठवटा मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष ०६८/०६९ मा १ सय १० मुद्दा दर्ता भएका छन् । जसअनुसार कर्तव्य ज्यानका नौ, ज्यान मार्ने उद्योगका नौ, सवारी ज्यानका चार, जबर्जस्ती करणीका तीन र हातहतियार खरखजानाअन्तर्गत नौ मुद्दा दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आत्महत्याका शृंखलामा भने कमी आएको छ । ०६७/६८ मा आत्महत्याका १४ वटा मुद्दा दर्ता भएकामा ०६८/६९ मा ११ मा झरेको छ । यस्तै, चोरीका सात, नक्कली परीक्षार्थी चार, कुटपिट तथा अंगभंग एक, भवितव्य ज्यानका १४ र केही सार्वजनिक अपराधअन्तर्गत ३३ मुद्दा दर्ता भएका छन् ।
डाँका, ठगी, विष सेवन, बहुविवाह र जबर्जस्ती करणी उद्योगको एक–एक मुद्दा प्रहरीमा दर्ता भएका छन् । दर्ता भएकामध्ये ७८ मुद्दा फस्र्योट भएको इन्स्पेक्टर सञ्जीवबाबु खड्काले जानकारी दिए । (सौस)

प्रतिक्रिया