मर्नेको संख्या १२ पुग्यो

कैलाली, २१ साउन । शनिबार डोटी गगुडा–५ तल्लागाउँका एक बालकको झाडापखालाका कारण मृत्यु भएपछि जिल्लामा झाडापखालाबाट मर्नेको संख्या १२ पुगेको छ ।

झाडापखालाबाट आठ वर्षीय वीरेन्द्र चन्दको मृत्यु भएको हो । जेठ अन्तिमबाट डोटीका विभिन्न स्थानमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । पखालाका कारण मर्ने र बिरामी हुनेको संख्या दैनिक बढिरहेको छ । शुक्रबार गाँजरी–२ सुकालाकी सात वर्षीया विपना कुँवरको गाँजरी उपस्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । पखालाका कारण वृद्धवृद्धा तथा बालबालिकाको ज्यान बढी गएको र उनीहरू नै बढी बिरामी परेको जनस्वास्थ्य कार्यालय डोटीका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
झाडापखाला नियन्त्रणका लागि जिल्लास्थित रेडक्रस, स्वास्थ्य कार्यालयलगायत संघसंस्थाले जनचेतना जगाउने कार्यक्रम तथा आवश्यक औषधोपचार गरिरहे पनि नियन्त्रणमा आउन नसकेको अधिकारीले बताए ।
जनस्वास्थ्य कार्यालय डोटीका अनुसार पखालाबाट बगलेक–३ का ७५ वर्षीय अबी साउँद, सोही ठाउँको वडा नम्बर ७ र ८ का पाँच वर्षीया गेडी कामी र ११ वर्षीया पित्तुली साउँद, कलेना–४ की ६५ वर्षीया खिन्तु आउजी, दिपायल सिलगढी–६ की १६ वर्षीया लक्ष्मी भण्डारी, सानागाउँ–८ का दुई वर्षीय सुरेश भुल, काडामाडौं–३ की ७० वर्षीया शारदा साउँद, वासुदेवी–६ की १२ वर्षीया पद्मा कुँवर, गाजरी–२ की सात महिनाकी विपना कुँवर र गगुडा–५ का आठ वर्षीय वीरेन्द्र चन्दको मृत्यु भएको छ ।
पखालाले विभिन्न स्थानमा पाँच सय बिरामी भएको र उनीहरूको स्थानीय स्वास्थ्यचौकी तथा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
डोटीका प्राय: पानीको मुहानमा कोलिफर्म नामक जीवाणु भेटिएकाले पखाला नियन्त्रण हुन नसकेको कार्यालयका सिनियर अहेव तेजविक्रम शाहीले बताए । केही दिनपहिले केन्द्रीय महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकु र विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले पखाला प्रभावित क्षेत्रको पानीको नमुना केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्म जीवाणु रहेको रिपोर्ट आएको हो ।
जीवाणु मानिसको दिसामा हुने र पानीमा दिसा मिसिएर सबै ठाउँमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पखालाबाट बच्न पानीको मुहान सफा, पानी शुद्धीकरणका लागि पानी ट्यांकीमा ब्लिचिङ पाउडर, उमालेको पानी प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया