ज्ञानका लागि परिश्रम

नारदले भने– पुण्य तुरुन्तै देखिँदैन, पाप प्रकट भइहाल्छ । कसैको हत्या गर्नेको पाप एकैक्षणमा देखिन्छ । तर, जीवनमा पुण्य विस्तार, विस्तार प्राप्त हुन्छ । पाप विस्तारै जल्छ, तर त्यो दिन्दिनै कति जल्छ तिमीलाई थाहा हुँदैन । म एउटा मन्त्र दिन्छु, गुरुमन्त्र । सूर्योदय अगाडि उठेर यसको जप गर्नु । जुन रूखमा तिमीले मलाई बाँधेका थियौ, त्यसैलाई परिक्रमा गर्दै गुरुमन्त्रको जप गर्नेछौ । किनभने बसेर जप्यौ भने तिमीलाई निन्द्रा लाग्छ, आलस्य लाग्छ । नित्य एक घन्टा यही रूखलाई प्रदक्षिणा गर्दै मैले दिएको गुरुमन्त्र जप गर्नेछौ ।
वाल्मीकिले त्यस दिनदेखि तीर कमान, धनुष छोडिदिए, नारदले दिएको मन्त्र जप गर्न थाले । एक वर्षमै उनको जीवनमा यति ठूलो परिवर्तन आयो भयंकर, घोर, अत्याचारी डाँका एउटा श्रेष्ठ कवि बन्न पुगे, साधु बन्न सके, सन्यासी बन्न सके, योगी बन्न सके । रामका लागि सीतालाई राख्ने उच्चकोटिका चरित्रवान् व्यक्ति बने वाल्मीकि । उनलाई लाग्यो वाल्मीकिको आश्रममा नै सीता सुरक्षित रहनेछिन् । हुन त त्यतिबेला अन्य ऋषि याज्ञवल्क्य थिए, कणाद, पुलस्त्य पनि थिए, अत्रि, वशिष्ठ, विश्वामित्र पनि थिए । तर, जति चरित्रवान् व्यक्तित्व वाल्मीकिको थियो त्यति अरू कसैको थिएन ।
यो एक परिवर्तन थियो । हर्षका साथ, उल्लासका साथ, आनन्दका साथ प्रात:काल गुरुमन्त्र जप गर्ने क्रियाले पूरा जीवनमा ल्याएको परिवर्तनको उदाहरण हाम्रा सामु छ ।
मैले यसअघि उल्लेख गरेको श्लोक वाल्मीकि रामायणको हो । उनले यस्तो उच्चकोटिको ग्रन्थ लेखे जसको तुलनामा आजसम्म अर्को ग्रन्थ लेखिएको छैन । रामको चरित्र जतिको श्रेष्ठतम, निष्पक्ष भावबाट वाल्मीकिले उतारेका छन् त्यतिको कुनै अरू रामायणमा छैन । सयभन्दा बढी रामायण लेखिएका छन्– दक्षिण भारत र उत्तर भारतमा पनि ।
आफ्ना गुरु नारदको आज्ञा पालन गरेर वाल्मीकि यति अद्वितीय व्यक्तित्व बन्नसके, रामायण जस्तो ग्रन्थ रचना गर्नसके । त्यही वाल्मीकि रामायणमा एक अत्यन्त सुन्दर प्रसंग छ– कसरी मानिस गुरुको मार्गमा हिँडेर श्रेष्ठ शिष्य बन्न सक्दछ ।
दशरथ जान्दथे– मेरा पुत्रहरू तेजस्वी बन्न सक्छन्, युगपुरुष बन्न सक्दछन् भने वशिष्ठको साथ बसेर होइन, विश्वामित्रक कै साथ चाहिन्छ । यद्यपि कुलगुरु र राजगुरु वशिष्ठ नै थिए । दशरथको सारा धर्मकार्य उनले नै सम्पन्न गराउँथे । तर, उनलाई थाहा थियो वशिष्ठको माध्यमबाट राम–लक्ष्मणलाई श्रेष्ठता प्राप्त हुन सक्दैन ।
राम–लक्ष्मणलाई विश्वामित्रको आश्रममा पुर्‍याइयो । उनी अत्यधिक कठोर, दृढ र अनुशासनशील थिए । यी राजपुत्र हुन् भन्ने कुराको उनलाई कुनै पर्वाह थिएन । एउटा गुरुले आफ्ना शिष्यलाई जसरी काम गराउँछन्, त्यसरी नै उनले रामलक्ष्मणलाई पनि गराउँथे ।
विश्वामित्रले रामलाई भने– तिमीले खाना बनाउनु, लक्ष्मणलाई अह्राए– यसले वनमा गएर दाउरा र घाँस काटेर ल्याउँछ । रामजस्तो महलमा बसेका राजपुत्रले कहिल्यै खाना पकाउने क्रिया सिकेकै थिएनन् । झाडु लगाउने काम जानेकै थिएनन् । विश्वामित्रले उनलाई सोझै त्यही काम लगाए । लक्ष्मणले पनि कहिल्यै जंगलबाट घाँस काटेर ल्याएका थिएनन् । दुवैलाई फरक फरक काम सुम्पे ।
राम चुल्होमा आगो फुकेर रोटी पकाउन थाले काँचो–पाको रोटी भयो । गर्मीले असिन–पसिन भए । अरू साठी–सत्तरी शिष्य थिए । उनीहरूका लागि खाना बनाउँदा बनाउँदै चार घन्टा लाग्यो । दाउराको भारीमाथि घाँस थपेर छ घन्टापछि पसिनाले निथु्रक्क भिजेका लक्ष्मणले विश्वामित्रको घरमा ल्याएर भारी फालिदिए । लक्ष्मण कराए– मलाई यसरी शिष्य बन्नुछैन । शिष्य बन्नु यही हो भने यिनको शिष्यता यिनकै साथ रहोस् । उनले रामसँग गुनासो गर्दै भने– ‘हामी कहाँ फस्न पुग्यौँ, तपाई पनि फस्नु भयो, म पनि फस्न पुगेँ । धुँवाले तपार्इंको त अनुहार नै कालो भइसक्यो । यीभन्दा त हाम्रा वशिष्ठ गुरु नै राम्रा थिए ।’ रामले सम्झाए– ‘तिमी गल्ती गरिरहेका छौ । सायद विश्वामित्रले केही सोचेर नै यस्तो काम दिएका होलान् । सोचेर नै निर्णय गरेका होलान्, त्यति मूर्ख विश्वामित्र छैनन् ।’ साँझपख राम र लक्ष्मण स्नान गरेर गुरुको नजिक बसे । लक्ष्मण रिसले चुर थिए । मनमनै सोच्दै थिए भोलिपर्सि घाँस काट्न जानुपर्ने होला । आज त, यी हातमा सबै छाला गयो । भोलि हँसिया कसरी समाउने, हामी यसकै लागि यहाँ आएको हो र, धनुर्विद्या सिक्न पो आएको । लक्ष्मणले उठेर भने– ‘महाराज म एउटा सानो बालक हुँ । तर, तपाईंसमक्ष के निवेदन गर्न चाहन्छु भने म राजपुत्र हुँ, तपाईं जुन ठाउँमा बसिरहनु भएको छ त्यो धर्ती हाम्रै हो । यो राज्य हाम्रै हो, म दशरथ पुत्र हुँ । तपार्इं मलाई घाँस काट्न पठाउनुहुन्छ । तपाई हामीलाई त्यही शिष्यता सिकाइरहनु भएको छ ? तपाईंले त धनुर्विद्या सिक्ने भनेर हामीलाई घरबाट ल्याउनु भएको हो । यही घाँसबाट धनुर्विद्या सिकिन्छ ?’
विश्वामित्रले जवाफ दिए– ‘तैँले आउँदो तीन, महिनासम्म घाँस काटेर ल्याउनुपर्छ । तेरो प्रश्नेको उत्तर यही हो, तीन महिनासम्म सोध्दै नसोधि बिहान छ बजे जाने सबै गाईलाई घाँसपानी गर्ने, यसबाहेक दाउरा पनि काटेर ल्याउने, तैँले अरू केही काम गर्नु नै पर्दैन । रामलाई म भोलिदेखि अर्कै काम सुम्पौँला ।’
रामले उठेर भने– ‘महाराज यो अवोध बालक हो, क्रोधमय बालक हो । केवल, यति बताइदिनुस् शिष्यको पहिचान के हो ? शिष्यले के गर्नुपर्छ ? मैले कर्तव्यको पालन गर्दै, तपाईंको आज्ञा शिरोधार्य गर्दै जुन उद्देश्यले तपाईंसामु उपस्थित भएको छु, त्यसलाई पूरा गर्न चाहन्छु । पक्कै कुनै कारणबस तपाईंले मलाई यो पाककलामा लगाउनु भएको हाला । लक्ष्मणलाई तपाईंले तीन महिनाको जुन आदेश दिनुभयो, पक्कै केही सोचविचार गरेरै दिनुभएको होला ।’ विश्वामित्रले भने– ‘राम, मैले जो दिएँ त्यो दिएँ । अब लक्ष्मण काम गरोस् या घर फर्कोस् मलाई कुनै चिन्ता छैन । अब रह्यो उसको राज्यमा बस्ने कुरा । साधुको कुनै राज्य हुँदैन । दशरथलाई मन लाग्छ भने यहाँ बस्न दिऊन् । नभए म कुनै अन्य राज्यमा जाउँला । साधुको लागि कुनै स्थान हुँदैन । साधु कुनै कुराको परवाह पनि गर्दैन । बरु तिमीहरूले यो कुराको ध्यान राख्नु कि म यहाँ बसेकाले दशरथमाथि ऋण लाग्न गएको छ । आफ्नो पितालाई भनिदिनु, दुई वर्षसम्म उनी यहाँ तिमीहरूलाई भेट्न पनि नआऊन्, मलाई त्यो उचित लाग्दैन ।’
अनुवाद : शिव ढकाल
(मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट)

प्रतिक्रिया