सलाम मन्डेला

‘सच्चा नेताले सबै कुरा आफ्ना जनताको स्वतन्त्रताका लागि बलिदान गर्न हरदम तयार रहनु पर्दछ ।’ यो महान् उद्गार रंगभेद विरोधी तथा लोकतान्त्रिक आन्दोलनमा आजीवन आफूलाई समर्पित गरेका गान्धीपथका अथक यात्री एवं स्वतन्त्रताका महासेनानी नेल्सन मण्डेलाको हो । जसले लाखौँ दक्षिण अफ्रिकी जनतालाई शदीयौँदेखिको दमन चक्रबाट छुटकारा दिलाएर स्वतन्त्र र सम्मानित नागरिकको दर्जा दिलाए । कर्णप्रिय तथा मनलाई समेत आह्लादित पार्ने तर व्यवहारमा चाहिँ अत्यन्तै दुर्लभ उक्त भनाइको तारतम्य जहाँकहीँ धर्तीमा पाउन कठिन छ । तर, आफ्नो भनाइलाई साँच्चिकै कर्ममा उतारेर संसारलाई देखाउने कर्मठ, साहसी अनि अद्वितीय पुरुष हुन नेल्सन मण्डेला । यसैकारण पनि उनको नाम विश्वका सम्पूर्ण स्वतन्त्रताप्रेमी जनताले सम्मानका साथ लिने गर्छन् । सारा विश्व उनीअगाडि नतमस्तक छ ।
सन् १९१८ को जुलाई १८ मा दक्षिण अफ्रिकाको ट्र्रान्सकेई भन्ने ठाउँमा जन्मेका उनले भर्खरै आफ्नो ९४औँ जन्मजयन्ती मनाए । सोही अवसरमा आर्किविसप डेसमन्ड टुटुले आफ्नो शुभकामना वक्तव्यमा सबै दक्षिण अफ्रिकी जनताले मन्डेलाको पदचिह्न पछ्याउन सकेमा त्यही नै देशका लागि सुन्दर उपहार हुने बताए । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले मन्डेलाको अघिल्लो ९३औँ जन्मजयन्ती तथा दोस्रो अन्तर्राष्ट्रि्रय नेल्सन मन्डेला दिवसका अवसरमा उनी असंख्य जनताका लागि एक रोल मोडेल तथा बुद्धि, साहस र इमान्दारिताका जिउँदा प्रतिमूर्ति भएको बताएका थिए ।
यदि मन्डेलाजस्तै कर्तव्यपरायण नेता अन्य देशले पनि पाएका भए नि:सन्देह यो संसारको रंगरूप नै अर्कै हुने थियो । आज संसारका कयौँ देशका जनता यस्तै नेतृत्वको खोजीमा छन् । कतै तानाशाह, त कतै आफूले नै चुनेर पठाएका शासकबाट जनताका सुखद् भविष्यका सपनाहरू खोसिएका छन् । उल्टै ती राज्यविहीनता र युद्ध विभीषिका भोग्न तथा नारकीय जीवन बाँच्न अभिषप्त तुल्याइएका छन् ।
इमान्दार नेतृत्वको खडेरी परेको हाम्रो मुलुकमा मन्डेलाको उपरोक्त भनाइ व्यङ्ग्यजस्तै लाग्दछ । आफ्नो व्यक्तिगत स्वार्थलाई सर्वोपरी ठान्दै देश र जनताको भविष्यलाई नै दाउमा राख्ने कथित देशभक्त नेताहरूको कमी नभएको हाम्रो नेपालमा उपरोक्त वाक्यको वास्तविक मर्म बुझ्नसक्ने मर्मज्ञको प्रतीक्षा अझै कति गर्नुपर्ने हो थाहा छैन । यसको जिम्मा भविष्यलाई नै छोडौँ । स्वार्थी र लोभी, पापी नेताहरूको झुन्डबाट दशकौँदेखि सताइएका नेपाली जनताको भाग्य कुन विधाताले लेखेका थिए कुन्नि ? सतीले सरापेको देश हुनुको नियतिलाई स्वीकार गर्दै अझै कति पुस्ता नेपालीले यसैगरी चित्त बुझाउँदै बाँच्नुपर्ने हो ।
कुनै पनि मुलुकको समृद्धि तथा विकास कुशल, असल र दूरदर्शी नेतृत्वमा सन्निहित हुन्छ । यो प्रमाणित सत्य हो । विश्व इतिहास यसको साक्षी छ । राज्य सुसञ्चालनको कौशल जो कोहीसँग हुँदैन । त्यसैले राजनेताको महत्त्व र महिमा सर्वत्र छ । एउटा सानो घरदेखि समाज र सिंगो राष्ट्र्र चलाउन सबैमा कुशल नेतृत्वको आवश्यकता पर्दछ । समयमै गुणी राजनेता पाएका देश अहिले सभ्यता र उन्नतिको चुलीमा छन्, जनता सुखी र खुसी छन्, भने अर्कोतिर खराब नेतृत्वको फेला परेका मुलुकहरूको अवस्था ठीक त्यसको उल्टो छ । जनता गरिबीबाट सताइएका छन्, अशान्ति, युद्ध, अभावआदिबाट प्रताडित छन् । आफ्नो दीर्घ जीवनको करिब तीन दशक जेलमै बिताएका गान्धीवादी नेता मन्डेलाको अदम्य साहस, निष्ठा र लगनका कारण दक्षिण अफ्रिकी कालाजातिको मुक्तिको चाहनाले सन् १९९० को दशकको पूर्वाद्र्धमा साकार रूप धारण गर्न सफल भयो । अल्पसंख्यक गोराको दशकौँको विभेदकारी शासन, शोषण तथा एकाधिकारबाट बहुसंख्यक कालाहरूलाई स्वतन्त्र नागरिक बनाउनुमा आफ्नो सिंगो जीवन अर्पण गरेका मन्डेला मानवताका अनुपम नमुना हुन् भन्दा अत्युक्ति नहोला ।
व्यक्तिगत आकांक्षा, चाहना अनि सुख–सयलको जिन्दगीभन्दा धेरै माथि उठेर बहुजन हितायलाई मूलमन्त्र बनाएका मन्डेला आज संसारभर उत्तिकै प्रिय एवं आदरणीय छन् । उनी स्वतन्त्रताका पर्यायवाचीजस्तै भएका छन् । भौगोलिक सीमा नाघेर धेरै फैलिसकेका उनलाई अन्य भूगोलका जनताले बुझे पनि नेताहरू यस कुरामा निक्कै पछाडि देखिएका छन् । नेपाली नेताले त यस दौडमा सहभागिता जनाउन पनि अनिच्छा गरेजस्तो लाग्दछ । के नेपाली माटोमा जर्ज वासिंग्टन, महात्मा गान्धी, विस्मार्क, चर्चिल, माओ, हो चि मिन्हजस्ता देशभक्त नेताहरूका अवतार पैदा हुन सक्दैनन् ? के नेपाली भूमि त्यति सार्‍हो बञ्जर छ र ? बुद्ध, जनक, सीता, भृकुटी, राम शाह, पृथ्वीनारायण, वीर भक्ति थापा, आदिले जन्म लिएको यो धर्ती रूखो हुनै सक्दैन । यो साँचो हो, राजनेता त्यसै जन्मदैन । त्यसका लागि पक्कै समय लाग्छ ।
नेपालमा पनि दूरदर्शी देशभक्त नेता नजन्मिएका होइनन् । तर, तीमध्ये धेरै क्रुर नियतिको सिकार हुन पुगे । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले जन्माएका केही नेताहरू जस्तै गणेशमान, कष्णप्रसाद भट्टराई, बिपी कोइराला जो पछि नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनपुगे, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललगायत केही आशलाग्दा प्रतिभाहरू थिए जसले धेरै वर्षसम्म निरंकुश पञ्चायती सत्ताविरुद्धको संघर्षमा बिताउनु परेकाले राष्ट्रका लागि यथोचित योगदान दिन सकेनन् । पहिलो जनआन्दोलन् ०४६ ले अगाडि ल्याएका बहुदलीय जनवादका प्रवर्तक प्रतिभावान् नेता मदन भण्डारीले पनि असामयिक मृत्युवरण गर्नुपरेकाले देशले उनबाट पनि खासै केही पाउन सकेन । माओवादी विद्रोहीलाई विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सफल तथा ०६२/६३ को दोस्रो जनआन्दोलनलाई कुशल नेतृत्व दिएर गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको उत्तराद्र्धमा उल्लेखनीय कार्य गरे । अहिले मुलुकमा सर्वमान्य नेतृत्वको खडेरीले गर्दा राजनीति पनि मुर्झाएको छ ।
औपचारिक रूपमा देशको सबैभन्दा ठूलो दल नेकपा एमाओवादीका नेता प्रचण्ड अर्को आशा गरिएका नेता थिए । सशस्त्र विद्रोहबाट आएका तथा क्रान्तिमार्फत आमूल परिवर्तनको नारा बोकेका तर व्यवहारमा जनतालाई सोको तात्विक भिन्नता महसुस गराउन नसकेको विडम्बनामा आज उनको पनि साख गिर्दो छ । जो बारम्बारको परीक्षामा फेल भएका परीक्षार्थीजस्ता भएका छन् । जुन उनको आफ्नै पार्टीको फुट तथा फरक मत राख्ने गुटलाई मिलाउन नसकेबाट पनि प्रस्ट हुन्छ । नेतृत्व जन्मसिद्ध गुण हो कि पछि सामाजिक अन्तरक्रियाका माध्यमबाट विकसित हुन्छ भन्ने सम्बन्धमा विद्वान्बीच फरक धारणा रहेको पाइन्छ तथापि व्यक्तिले यी सबै गुणको विकास र उपयोग समाजकै लागि गर्ने कुरामा चाहिँ दुईमत नहोला । आज धेरै थिति बिग्रिएका देशलाई जस्तै नेपाललाई पनि सही बाटोमा हिँडाउन सक्ने राजनेता चाहिएको छ । मुखुन्डोधारी नक्कली नेताबाट नेपाली जनताले पाउनुसम्मको दु:ख पाइसके र ठगिनुसम्म ठगिइसके । अब जनताको धैर्यको बाँध फुट्नुभन्दा पहिले तथा विश्वासको डोरी छिन्नु अगावै केही हुनुपर्दछ ।
अन्तमा, डेसमन्ड टुटुकै शब्दमा मन्डेला एक त्यस्ता व्यक्तित्व हुन जसमा अरूलाई सुन्ने तत्परता, सबैका विचारको खोजी गर्ने तथा उचित सम्मान दिने, मेलमिलाप र राष्ट्रि्रय एकतालाई सर्वोपरी मान्ने, सहिष्णुता र क्षमाशीलताजस्ता सबै गुणहरू छन्, जुन एक राजनेतामा हुनैपर्दछ । अर्को महत्त्वपूर्ण कुरा मन्डेलाले आफैँले आफूलाई, अरूलाई र त्यसभन्दा बढी देशलाई माया गर्न सिकाए । उनको मनमा कालाहरू मात्र नभई आफूलाई विभेद गर्ने गोराहरूका लागि पनि उत्तिकै दया र करुणा भरिएको छ । जसले गर्दा त दक्षिण अफ्रिकामा संक्रमणकालको सफल व्यवस्थापन र सत्ताको सफल हस्तान्तरण सम्भव भयो । नेपाली नेताजस्तो केही जात वा वर्ग विशेषको मात्र नेता हुन खोज्ने तथा देशमा जातीय विद्वेष फैलाउनेलाई नेपाली जनताले बेलैमा चिन्नु जरुरी छ । एउटा देशको मात्र पनि नेता हुन नसक्नेका अगाडि विश्वकै नेताका रूपमा मन्डेला एक विशिष्ठ उदाहरण भएर रहेका छन् । सलाम मण्डेला † तिमी युगयुग बाँच †

प्रतिक्रिया