वैदेशिक रोजगारीले भत्कँदैछ घरजम

म्याग्दी : पर्वत, पाङका दीपक चापागाईं तनाबमा छन् । वैदेशिक रोजगारीका क्रममा कतार गएर घर फर्केको एक महिनामै बेनीमा सामान्य व्यापार गरी बस्दै आएकी पत्नी अर्को विवाह गरी भागेपछि उनी तनाबमा परेका हुन् ।
चापागाईँ कतारबाट एक वर्षपछि घर फर्केका थिए । पत्नी मञ्जु ३१ असारमा दुई छोरीलाई छाडेर भिनाजु नाता पर्ने राजु पौडेलसँग भागेकी हुन् । उनले तीन तोला सुनका गहना र १७ हजार रुपियाँ लिएर गएको चापागार्इँले बताए ।
‘एक वर्षमा कतारबाट सात लाख रुपियाँ पठाएको थिएँ,’ चापागाइँले भने, ‘तर तीन लाख रुपियाँको मात्र हिसाब छ ।’ उनको पत्नीको खोजीका लागि प्रहरीमा हुलियासहित जाहेरी दिएका छन् ।
कुवेतबाट ०६७ माघमा फर्केका पिप्ले–३ गैरीगाउँका क्षेत्रबहादुर जिसी बेपत्ता पत्नी केशकुमारीको खोजीमा छन् । तीन वर्षपछि घर फर्केका जिसीकी पत्नी २ पुस ०६७ मा दुई छोरा र दुई छोरीलाई अलपत्र छाडेर हराएकी हुन् । घर र छिमेकीसँग सापट मागेर उनले दस लाख रुपियाँ र पाँच तोला सुन लिएर फरार भएको भन्दै जिसीले बेनीमा पत्रकार सम्मेलन नै गरेर पत्नीको खोजी गरिदिन अपिल गरे । भारतमा १२ र कुवेतमा तीन वर्ष कमाइ गरेर ल्याएको रकम लिएर पत्नी फरार भएको उनले बताए ।
वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै पारिवारिक विखण्डन पनि बढेको छ । अर्थोपार्जनका निम्ति पति वा पत्नी वैदेशिक रोजगारीका लागि जानु नेपाली युवा र समाजको बाध्यताजस्तै बनेको छ । वैदेशिक रोजगारले धेरैलाई फलिफाप बनाए पनि बिस्तारै समाजमा घरबार भत्कने क्रम सुरु भएको समाचार आउन थालेका छन् । युवा उमेरका जोडी लामो समयसम्म छुट्टिएर बस्नुपर्दा अनेकौँ समस्याका साथै सामाजिक एवं पारिवारिक विखण्डनसम्म निम्तिने क्रम सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी दिनेशकुमार आचार्य बिदेसिएकाले पठाएको रकमबाट स्वदेशमा बस्नेले विलासी जीवनशैली अपनाउने, परपुरुष–परस्त्रीसँगको सम्बन्ध बढाउने विकृति बढेको बताउँछन् । वैदेशिक रोजगारीबाट व्यक्तिको आर्थिक हैसियत ह्वात्तै बढ्ने र सम्पत्तिको सही सदुपयोग हुन नसक्दा धेरै मानिसमा विचलन आएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा हराएको मानिस खोजीका लागि पर्ने उजुरी संख्या बढ्दो रहेको छ । यस्तै, जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि उकालो लागेको र बिदेसिएका पतिले घरमा पत्नीलाई रकम पठाए पनि घर आउँदा पत्नी र सम्पत्ति केही नहुने समस्या बढ्न थालेपछि पछिल्लो समयमा विदेशबाट संयुक्त खातामा रकम पठाउने क्रम पनि बढेको छ । म्याग्दीका १४ हजार युवा वैदेशिक रोजगारीमा छन् ।
म्याग्दी प्रहरीमा आव ०६८/६९ मा ५६ जना हराएको भन्दै खोजीका लागि उजुरी परेका थिए । हराउनेमध्ये २६ महिला थिए । हराएका महिलामध्ये चारजना मात्र भेटिएको जानकारी डिएसपी आचार्यले दिए । यसैगरी अघिल्लो आव ०६७/६८ मा ३६ जना हराएकामा १६ महिला थिए भने पाँचजना महिला पछि प्रहरी र परिवारको सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया