जितबहादुर केसी नेपाली खेलकुदमा छुटाउनै नहुने नाम हो । सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपअन्तर्गत म्याराथनमा कास्य पदक जितेर उनी नेपाली खेलकुदका लागि अन्तर्राष्ट्रिय पदक दिलाउने पहिलो खेलाडी भए । उनले सन् १९७२ मा जर्मनीको म्युनिखमा सम्पन्न ओलम्पिक खेलकुदअघि भएको एसियाली छनोटमा नै पहिलो भएर ओलम्पिक पदक जित्ने सम्भावना देखाएका थिए । विश्वप्रसिद्ध सञ्चारमाध्यम बिबिसीले त उनलाई कम्तीमा ओलम्पिक कास्य पदक विजेताका रूपमा उभ्याएको थियो । सन् १९७२ जुलाईमा अर्थात् आजभन्दा करिब ४० वर्ष अगाडि बिबिसी रेडियो हिन्दी सेवाले घोषणा गरेको थियो, ‘यस वर्षको ग्रीष्मकालीन ओलम्पिकमा म्याराथनमा नेपालले कास्य पदक प्राप्त गर्ने भएको छ । नेपाली धावक जितबहादुर केसीले म्युनिख ओलम्पिकमा म्याराथनको फाइनल दौड (हिट) का लागि भएको छनोट चरणमा एसियाका तर्फबाट पहिलो स्थान ल्याएका छन् । उनको टाइमिङ म्याराथनमा कास्य पदक पाउनका लागि चुनौतीहीन छ…।’
सबैतिर चर्चा निकै चल्यो तर नेपालमै बनेको ‘गह्रुँगो’ जुत्ता लगाएर प्रतिस्पर्धामा उत्रिएका जितबहादुर दौडिने क्रममा खुट्टाको मसल फुट्यो र उनी निर्धारित दूरी नै पार गर्न असफल भए । तापनि, ओलम्पिक खेलकुदमा पदक विजेताका रूपमा हेरिएका जितबहादुर अन्तर्राष्ट्रिय एथलेटिक्समा नेपालका तर्फबाट सबैभन्दा ठूलो उपलब्धि हात पार्ने खेलाडीका रूपमा छन् । उनले सहभागिता गरेको ४० वर्षपछि शुक्रबारबाट बेलायतको लन्डनमा अर्को ओलम्पिक संस्करण सुरु भइसकेको छ । आफ्नो सहभागिता अनुभवदेखि ओलम्पिक खेलकुदमा नेपालको सहभागिताबारे जितबहादुरको बुझाइ उनका आफ्नै शब्दमा–
हाम्रो समयमा खेलाडीले आपैँmले मिहेनत गर्नुबाहेकको विकल्प थिएन । खेलकुदको अवस्था त्यति राम्रो थिएन । प्रशिक्षणको वातावरण नै थिएन । त्यही भएर हामी आपैँm विदेश जाँदा अरूको हेरेर सिक्थ्यौँ । खेलाडीका लागि जुत्ता किनिदिनेसम्मका कुरामा सरकारी ध्यान पुगेको थिएन । यद्यपि, ओलम्पिक खेलकुदमा भने सहभागिता गर्न लैजान्थ्यो । हामीलाई ओलम्पिक सुरु हुनुभन्दा तीन महिनाअघि नै जर्मनी पुर्याइएको थियो ।
कोलोन भन्ने ठाउँमा बस्थ्यौँ । त्यहीँ हाम्रो ओलम्पिकका लागि एसियाली छनोट पनि भयो । मैले २ घन्टा २३ मिनेट समयका साथ दूरी पूरा गरेर पहिलो भएँ । मेरो समय त्यतिबेला विश्वमै चर्चाको विषय बन्यो ।
किनभने, यो समय त त्यो बेला पदक विजेताले निकाल्ने गथ्र्यो । एसियन गोल्ड मेडलिस्टकै समय २ घन्टा ३० मिनेट थियो । पछि, ओलम्पिक खेलकुद सुरु हुँदासम्म मलाई पदक विजेताकै रूपमा हेरिएको थियो । खासमा मलाई कुनै पनि खेलाडीको डर थिएन । विश्वभरबाट सहभागी भएका सबै प्रतिद्वन्द्वी उस्तै लाग्थे । एसियन छनोटमा राम्रो नतिजा हात पारेको भएर पनि हुन सक्छ । यस क्रममा मैले त्यहाँ बंगलादेशका एसियन च्याम्पियन खेलाडीलाई पछि पारेको थिएँ । त्यसभन्दा दुई वर्षअघि भएको एसियन गेम्समा मैले सातौँ स्थान हात पारेको पनि थिएँ । पछि खेल्ने क्रममा धेरै पछिसम्म ऊ र म सँगै थियौँ ।
खासमा हाम्रो पालामा विश्वभर नै प्रविधिगत हिसाबले त्यति विकास भएको थिएन । तर, त्यसपछि विश्वमा नयाँ–नयाँ प्रविधि र तरिका भित्रिँदै गए । यसमा नेपालले आफूलाई ‘अपडेट’ गर्न सकेन । अहिले त यहाँ उही २० वर्षअगाडि सिकाएको कुरा मात्र दोहोर्याइन्छ । तर, बाँकी विश्व एउटै गतिमा रहेन । नयाँभन्दा नयाँ प्रविधिलाई उनीहरू आत्मसात् गरिरहेका छन् जसले गर्दा नेपाल दिन प्रतिदिन पछि पर्दै गएको छ । खासमा हामीसँग ‘टेक्निकल कोच’ छैनन् । उदाहरणका लागि यहाँ म्याराथन सिकाउने प्रशिक्षकले एक सय र दुई सय मिटरमा पनि प्रशिक्षण दिन्छन् । तर, यी दुई फरक एथलेटिक्स विधा हुन्, जसमा एउटै प्रशिक्षकले प्रशिक्षण गर्न सक्दैन । विदेशमा त एक सय मिटरमा दौडने खेलाडीलाई प्रशिक्षण गर्ने प्रशिक्षक पनि तीनजना हुन्छन्– सुरु, मध्य र अन्त्य हेर्ने । यसैका आधारमा खेलाडीलाई नयाँ कुरा सिकाइन्छ ।
यो त एउटा सामान्य उदाहरण मात्र हो, मेरो विधाको कुरा बताएको हुँ । पहिलो कुरा प्रशिक्षकलाई नयाँ–नयाँ कोर्सका लागि विदेश पठाउनुपर्छ अनि खेलाडीलाई पनि वैदेशिक प्रशिक्षणमा ध्यान दिइनुपर्छ । यसो भयो भने खेलाडीमा ज्ञान बढ्छ । मुख्य कुरा ज्ञान र प्रविधि हो । यसबारे राम्रो जानकारी राखेर अभ्यास गर्यो भने ओलम्पिकमा हाम्रो उपस्थिति बलियो हुन सक्छ । कम्तीमा ओलम्पिकमा छनोट हुन ‘वाइल्ड कार्ड’को भर पर्नुपर्ने अवस्था रहँदैन । मैले महसुस गरेको अहिलेको कठिनाइ भनेको खेलाडीमा अनुशासनको अभाव पनि हो । खेलाडी अनुशासित भएनन् भने उनीहरूले उपलब्धि हात पार्न सक्दैनन् । कम्तीमा खेलाडीले प्रशिक्षकले भनेको मान्नुपर्छ । प्रशिक्षकले भनेअनुसार खेलाडीले गरेन भने केही हुँदैन । तर, अहिले त खाना खाने कुरामा समेत खेलाडीले लापरबाही गर्छन्, यस्तो थिएन हाम्रो पालामा । प्रशिक्षक नभए पनि हामीमा अनुशासन थियो । आपैँm सबै कुरा भएकाले संवेदनशील हुन्थ्यौँ ।
प्रतिक्रिया