सर्वपक्षीय सहमतिपछि खेल सञ्चालन गर्ने सहमति

ताप्लेजुङ, १७ साउन । ताप्लेजुङमा जारी कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगितामा देखिएको विवाद साम्य पार्न सोमबार राति बसेको बैठकले खेललाई जारी राख्ने सहमति गरेको छ । खेल सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा बसेको सर्वपक्षीय बैठकले खेल सुचारु राख्ने सहमति गरेको हो । निर्णयअनुसार सोमबार दिउँसो डियर क्लब, तरहरालाई हराएर जितमा उक्लिएको एपिएफले अर्को खेलबाट विपक्षी टिमलाई वाकओभर दिएर जिताउनुपर्नेछ भने लाठी चार्जमा घाइते भएका तरहराका खेलाडीको उपचार खर्चमा समेत सहजीकरण गर्नुपर्नेछ । जात्रामा अवाञ्छित क्रियाकलाप हुन नदिन सुरक्षा सतर्कता अपनाउने र सुरक्षाको स्थिति मजबुत पारी खेलाडी तथा खेलप्रेमीहरूलाई कुनै संकट हुन नदिने निर्णय भएपछि आयोजक, खेललाई जारी राख्न सहमत भएको लाखेजात्रा खेल सञ्चालन समितिका कोषध्यक्ष नारायण थापाले जानकारी दिए ।
डियर क्लब, तरहरा तथा एपिएफ ताप्लेजुङबीच सम्पन्न सोमबारको अन्तिम खेल सकिएलगत्तै एपिएफका एक खेलाडीले तरहराका खेलाडी सुवर्ण लिम्बूलाई हातपात गरेको विषयलाई लिएर खेलमैदानमै तनाब भएको थियो । तनाब साम्य पार्न सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा तरहराका खेलाडी दिनेश थापा मगर घाइते भएका थिए । उनको देब्रे हात भाँचिएको थियो । प्रतियोगितामा यस वर्ष महिलातर्फका ४ टिम तथा पुरुषतर्फका २४ टिम प्रस्पिर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया