काठमाडौं, १५ साउन । कांग्रेस सभापति सुशील कोइरालाले कामचलाउ सरकारले विधि र विधान मिचेर घोषणा गरेको नयाँ निर्वाचन संभव नरहेको बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा आजबाट शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेला उद्घाटन गर्दै कोइरालाले सत्ताको आयु लम्बाउन सरकारले निर्वाचन घोषणा गरेको आरोप लगाए । उनले भने, ‘सबै विधि, विधान मिचेरर घोषणा गरेको निर्वाचन संभव छैन ।’
वर्तमान सरकारलाई विस्तापित गरेर मुलुकलाई राजनीतिक निकास दिनुपर्ने भन्दै कोइरालाले निकासका लागि सरकारलाई तीन तरिकाले दबाव दिने बताए । उनले भने, ‘राष्ट्रपति, आन्दोलन र बार्ता मार्फत सरकार ढालेर निकास दिन कांग्रेसले पहल गर्छ ।’
एकीकृत माओवादीले विगतमा भएका सहमति र सम्झौताहरुको इमान्दारिताका साथ कार्यान्वनय नगरेको भन्दै उनले विश्वासको वातावरण बनाउन सुझाव दिए । ‘एमाओवादी प्रजातन्त्रको विपक्षमा लागेको छ,’ उनले भने, ‘प्रजातन्त्रको विपक्षमा लाग्ने जो कोहीको पतन अवश्य छ ।’
एमाओवादीले कब्जा गरेका घर, जग्गा, सम्पत्ति फिर्ता गर्नुपर्ने कोइरालाको आग्रह थियो । उनले सहमति अनुसार कब्जा सम्पत्ति फिर्ता नगरे मुलुकको समस्या साधान हुन अप्ठेरो हुने उल्लेख गरे ।
‘एमाओवादी इमान्दार छैन,’ उनले भने, ‘एमाओवादीले पटक/पटक धोका दिएको छ, विश्वासको वातावरण बनाउनु पर्छ ।’
वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका सवै विवादित विषयमा सहमति गरेर १५ दिनका लागि भएपनि संविधानसभा पुनःस्थापना गर्नुपर्ने बताए । सो विषयमा पनि सहमति नभए आयोग मार्फत संविधान बनाई जनमत संग्रहबाट अनुमोदन गराउनुपर्ने धारणा राखे । उनले तत्काल मुलुकमा चुनाव संभव नरहेको पनि उल्लेख गरे ।
उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले मुलुकमा जातीय संघीयताको वीउ रोपेको आरोप लगाए । उनले जातीय संघीयताले मुलुकमा द्वन्द्व निम्तने भन्दै सबैलाई समेटेर संघीयता बनाउनुपर्ने बताए ।
एमाओवादी भ्रष्टाचार र गलत कार्यमा लिप्त रहेको भन्दै पौडेलले त्यस विरुद्ध कांग्रेसले संघर्ष गर्ने बताए । उनले भने, ‘एमाओवादी मुलुकलाई जातीय द्वन्द्वमा फसाएर लुट मच्चाउन चाहन्छ ।’
उल्लेख्य कार्यकर्ताको उपस्थिति भएको सभापतिहरुको भेला मंगलबार सम्पन्न हुने छ । भेला उद्घाटन पूर्व काठमाडौंको कोटेश्वरबाट बाह्रविसेसम्म कांग्रेसले मोटर साईकल र्याली निकालेको थियो ।
प्रतिक्रिया