प्रथम चरणको प्रशिक्षण आजदेखि

काठमाडौं, १५ साउन । भारतमा आगामी वर्ष आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को १२औँ संस्करणलाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन सागअन्तर्गत प्रथम चरणको तयारी प्रशिक्षण सोमबारदेखि सुरु गर्ने भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोबारे जानकारी दिइएको हो । तीन भागमा विभाजन गरिएको मिसन सागको तयारी प्रशिक्षणको प्रथम चरण तीन महिनाको हुनेछ । प्रशिक्षणमा एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, उसु र जुडो गरी ६ खेलका एक सय एक पुरुष र ७६ महिलासहित एक सय ७७ खेलाडी सहभागी हुनेछन् । त्यसमा उपत्यकाबाहिर प्रशिक्षण गर्ने खेलाडीको संख्या ६३ रहेको छ । अन्य विभागीय टिमसहित एक सय १४ खेलाडीको प्रशिक्षण उपत्यकामा हुनेछ । सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत उक्त ६ खेलमा पहिलो र दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रारम्भमा प्रशिक्षणमा राखिएको हो । प्रशिक्षणमा सहभागीले दैनिक दुई सय ५० का दरले खर्च पाउनेछन् ।
गत कात्तिकको दोस्रो सातादेखि चार महिनाका लागि मिसन सागअन्तर्गत विभिन्न खेलका खेलाडीका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो । त्यसबेला १२औँ साग निर्धारित समयभन्दा करिब एक वर्ष ढिला हुने भएपछि प्रशिक्षण केही समयलाई रोकिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राखेप सदस्य–सचिव युवराज लामाले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको अधिकतम सम्भावना बोकेका खेलका खेलाडीलाई हाल प्रशिक्षणमा राखिएको जानकारी दिए । उनले क्रमैसँग यसबाहेक अन्य खेलका खेलाडीलाई प्रशिक्षणमा राखिने बताए । वैशाखमै प्रशिक्षण सुरु गर्ने योजना रहे पनि विविध कारणले हुन नसकेको सदस्य–सचिव लामाले बताए । ‘कथंकदाचित भारतको आन्तरिक कारणले साग फेरि स्थगित भए पनि फाइदा हामीलाई नै हुन्छ,’ सदस्य–सचिव लामाले भने, ‘किनकि यो प्रशिक्षण राष्ट्रिय टिमको तयारी पनि हो । यसले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई पनि सहयोग पुर्‍याउनेछ ।’
सदस्य–सचिव लामाले खेलाडीको सुविधा क्रमैसँग वृद्धि गर्दै लैजाने बताउँदै खेलाडीमा क्षमता भए पनि विगतमा प्रशिक्षण प्रक्रिया सही नभएकाले अपेक्षित नतिजा आउन नसकेको धारणा राखे । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले प्रशिक्षणले खेलाडीमा ऊर्जा सञ्चार गर्न मद्दत पुर्‍याउने बताउँदै ऐननियमको बर्खिलाप जाने संघलाई कारबाही हुने र त्यसमा सबैले साथ दिनुपर्ने बताए ।
तालिम तथा प्रशिक्षण विभाग निर्देशक हरिहर श्रेष्ठले खेलाडीलाई योजनाबद्ध र वैज्ञानिक पद्धतिमा आधारित प्रशिक्षण प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया