बर्दियामा तीन वर्षमा दोब्बर बाघ

काठमाडौं, १५ साउन । पछिल्लो तीन वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर भएको छ । तेस्रो विश्व बाघ दिवसका अवसरमा आइतबार सार्वजनिक गरिएको तथ्यांकअनुसार बर्दियामा बाघको संख्या १९ वटा थपिएर ३७ पुगेको छ । जसमा १५ भाले र २२ पोथी छन् ।
बर्दियामा यसअघि सन् २००८ मा १८ वटा बाघ थिए । त्यसबेला पहाडी क्षेत्रमा गणना गरिएको थिएन । यस वर्ष पहाडी क्षेत्रमा पनि गणना गरिएको र चोरी–सिकार नियन्त्रणमा प्रगति भएकाले बाघको संख्या दोब्बर भएको निकुञ्जका सहायक संरक्षक अधिकृत रमेश थापाले बताए ।
‘चोरी–सिकार नियन्त्रण गर्न चलाइएको अभियान र निकुञ्जको पहाडी क्षेत्रमा समेत गणना गरिएकाले बाघको संख्या दोब्बर बढेको हो,’ थापाले सौर्यसँग भने । उनले निकुञ्ज आसपासका गाउँबाट एक सय ३५ वटा भरुवा बन्दुक बरामद गरिएको जानकारी गराए ।
उनका अनुसार गत १८ फागुनदेखि २६ वैशाखसम्म गरिएको गणनामा निकुञ्जलाई चार खण्ड छुट्याएर प्रत्येकमा १५/१५ दिनका दरले दुई सय २३ ठाउँमा क्यामेरा ट्रयापिङ गरिएको थियो । त्यसका लागि ३२ जना प्राविधिक खटिएका थिए भने तीन सय फोटो खिचिएको थियो । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जलाई सन् १९८८ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो ।
त्यस्तै, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भने एक वर्षमा दुइटा बाघ बढेको जानकारी राजधानीमा आयोजित कार्यक्रममा दिइयो । शुक्लाफाँटामा सन् २०१० र २०११ दुवै गणनामा आठवटा बाघ भेटिएकामा एक वर्षपछि चार भाले र ६ पोथी गरी १० वटा बाघ फेला परेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो अध्यावधिक संख्यासँगै नेपालमा पाटे बाघको संख्या १ सय ५५ बाट बढेर एक सय ७६ पुगेको छ । बर्दियामा ३७ र शुक्लाफाँटामा १० बाहेक सन् २०१० को तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्ज र यसको चुरे क्षेत्रमा गरेर एक सय २५ र पर्सा वन्यजन्तु आरक्षमा चारवटा बाघ छन् ।
हाल नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रसिया, थाइल्यान्ड र भियतनाममा मात्रै बाघ पाइन्छ ।

राजेश हमाल बाघ संरक्षण दूत
काठमाडौं : ‘वन्यजन्तु अपराध रोकौँ, यस्तो मृत्यु गम्भीर छ’ भन्ने नाराका साथ नेपालमा पनि आइतबार तेस्रो विश्व बाघ दिवस मनाइएको छ । वन तथा भू–संरक्षण मन्त्रालय, डब्लुडब्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतले संयुक्त कार्यक्रम गरी बाघ दिवस मनाएका हुन् ।
कार्यक्रममा अभिनेता राजेश हमाललाई डब्लुडब्लुएफले बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको थियो । बाघ संरक्षणमा चासो देखाउँदै आएका अभिनेता हमालले करिब एक महिनाअघि बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणसमेत गरेका थिए ।
सद्भावना दूत घोषणापछि हमालले बाघसम्बन्धी जानकारले मात्रै नभई हरेकले संरक्षणमा चासो देखाउनुपर्ने बताए । ‘जसरी अर्कै क्षेत्रको भएर पनि वन्यजन्तु संरक्षणमा मलाई चासो लाग्छ त्यसैगरी हरेकले चासो लिए संरक्षण गर्नेलाई हौसला बढ्छ,’ उनले भने, ‘बाघ संसारकै सबैभन्दा ठूलो सेलिब्रेटी हो, यसलाई जोगाउनुपर्छ ।’
विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने उद्देश्यले चोरी–सिकार नियन्त्रणमा सफलता हात लागेकाले बाघको संख्या बढेको बताए । ‘वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गर्न सक्नुको परिणाम बाघको संख्यामा बढोत्तरी भएको छ,’ उनले भने, ‘यस्तै गरी संरक्षणका काम विस्तार गर्न सके बाघको संख्या दोब्बर बनाउन गाह्रो छैन ।’

प्रतिक्रिया