चितवन, १४ साउन । माओवादी लडाकु शिविर तेस्रो डिभिजन जुटपानी चितवनको शिविरबाट पुरानो घरको काठ चोरी गरी लैजाने क्रममा माओवादीका दुई पूर्व लडाकु सहित ४ जना पक्राउ परेका छन् ।
माओवादी शिविर भित्र रहेको घरहरु भत्काएर सालका काठहरु बिक्री गर्न लैजाने क्रममा तेस्रो डिभिजनका माओवादी पूर्व लडाकु विनोद कुंवर र विष्णु रानाभाट तथा जुटपानी–३ का राजकुमार श्रेष्ठ र दिवस कुमाललाई स्थानीयले पक्राउ गरेका हुन् ।
माओवादीका पूर्व लडाकुहरुले शिविर भित्रका घरहरु भत्काए काठ चोरी गरेर विक्री गर्ने क्रम बढ्दै गएपछि नेपाली सेना र उदयपुर सामुदायिक वन उपभोक्ता समूह जुटपानीका हेरालुहरुले संयुक्त गस्ति बढाएका छन् ।
शिविर भित्रका संरचनाहरु निर्माण गर्ने क्रममा उदयपुर सामुदायिक वनका काठहरु प्रयोग भएका थिए ।
गस्ति टोलीले पक्राउ गरेका व्यक्तिसँग एक थान रिक्सा र करिब १० क्यू फिट सालको काठ बरामद गरेर कारवाहीका लागि जिल्ला वन कार्यालय भरतपुर चितवन पठाएको वन समूहका अध्यक्ष केशव लामाले जानकारी दिए । (तस्विर गुगल)
प्रतिक्रिया