देवप्रकाशको ‘प्रलय प्रारम्भ’

काठमाडौँ : वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको पहिलो उपन्यास प्रलय प्रारम्भको शनिबार रानधानीमा विमोचित भएको छ । दर्शन र पर्यावरण विषयमा आधारित उपन्यासको विमोचन भक्तपुरका किसानहरू काजीनरसिंह कौडी र कृष्णमान अवाल तथा विद्यार्थी प्रतिज्ञा तिवारीको हातबाट गराइएको थियो । त्रिपाठी राजनीतिक र जलविद्युत् उत्पादनमा व्यावसायमा समेत संलग्न छन् । साहित्य सिर्जनासँगै साथै कुची र रंगसँगसमेत
निकै परिचित बनाएका छन् उनले आफूलाई ।
धादिङको मलेखुमा जन्मिएका त्रिपाठीले जीवन र जगत् मात्र नभएर ब्रह्माण्डकै विषयमा चिन्तन गरेर उपन्यासमा जीवन र प्राकृतिका अनेक उतारचढावलाई दार्शनिक शैलीमा समेटिएको बताए ।
उपन्यासमा पृथ्वी, मानवजाति, मानवीय सभ्यता र सम्पूर्ण प्राणीजीवनको माया समेटिएको छ । वैश्विक उष्णता नियन्त्रणभन्दा बाहिर गयो भने पृथ्वीमा कस्तो भयावह स्थिति सिर्जना हुन सक्छ ? मानवजातिको निर्माण फेरि कसरी वैज्ञानिक सभ्यताको युगबाट नितान्त सभ्यताहीन नवआदिम युगमा प्रवेश गर्न सक्छ भन्ने स्वैरकल्पना उपन्यासभित्र गरिएको छ । दर्शनशास्त्रका प्राध्यापक डा. वीरेन्द्र मिश्र, पर्यावरणविद् डा. डिबी सिंह र विख्यात समीक्षक मोहनराज शर्माले उपन्यासबारे चर्चा गरेका थिए । विभिन्न साहित्यकर्मी, लेखक, पत्रकारलगायत कार्यक्रममा उपस्थित थिए । (सौस)

प्रतिक्रिया