काठमाडौं, १३ साउन । नन्दनकुमार दत्त कार्यवाहक अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले राजकिशोर यादव समूहले वीरगञ्जमा गरेको विस्तारित बैठक पार्टी विधान र कानून सम्मत नरहेको दावी गरेको छ ।
प्रवक्ता राजिव झाले आज विज्ञप्ति जारी गरेर फोरम गणतान्त्रिकको नाममा सूचना तथा सञ्चार मन्त्री समेत रहेका यादवले पदको दुरुपयोग गरेर गलत रुपमा विस्तारित बैठक बोलाएको आरोप लगाएका छन् ।
यादव कार्यबाहक अध्यक्ष रहेको गणतान्त्रिक फोरमले साउन ९, १० र ११ गते वीरगञ्जमा विस्तारि बैठक सम्पन्न गरेर संस्थापक अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता सहितका नेताहरुलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको थियो ।
अध्यक्ष गुप्ता भ्रष्टचार मुद्दामा जेल परिसकेकाले उनीसँग पार्टीको सम्बन्ध विच्छेद गर्दै कार्यबाहक अध्यक्ष दत्त, महासचिव आत्मारामप्रसाद साह, कोषाध्यक्ष सुरिताकुमारी साह, केन्द्रीय सदस्य राजिव झालाई पार्टीबाट निष्कासित गरेको थियो ।
प्रवक्ता झाले पार्टीबाट निष्कासित यादव र अनुशासन कारवाही प्रक्रियामा परेका केही केन्द्रीय पदाधिकारीहरुद्वारा पार्टी विरुद्ध गरिएको प्रचारबाजी प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘हाम्रो पार्टीको व्यानरको दुरुपयोग गरेर र संचार माध्यमद्वारा आम जनमानसमा यादवले भ्रम पैmलाउन खोजेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘पार्टी विधान विस्तारित वैठकको उच्चारण समेत नगरेको भए पनि राजकिशोरले विस्तारित वैठक बोलाई मनपर्दी प्रचारवाजी गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कथित विस्तारित वैठकले गरेका सम्पूर्ण निर्णयहरुको कुनै वैधानिक हैसियत नभएको हाम्रो ठहर छ ।’
२१ जना केन्द्रीय सदस्य मध्ये १४ जना आफूहरुसँग रहेको प्रवक्ता झाले दाबी गरेका छन् । फोरम गणतान्त्रिकमा दत्त र यादवले आआफू नेतृत्व गरेका पार्टी आधिकारीक रहेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया