पाँच खेलाडी, तीन प्रशिक्षक र तीन दर्जन पदाधिकारी

काठमाडौं, १३ साउन । एनओसी, अर्थात्, नेपाल ओलम्पिक कमिटी । हो, बस यही हो नेपालको ओलम्पिक फेसन ।
यो फेसन त्यत्ति नै बेलादेखि हो चल्तीमा आएको, जतिबेला सन् १९६४ देखि नेपालले पहिलोपटक ओलम्पिक खेलकुदमा भाग लिन थाल्यो । अब यहाँ सवाल यो होइन, नेपालले पहिलोपटक कहिले, कहाँ र कुन खेलमा भाग लियो ? तर हो के भने उसको गतिविधिले नेपाली खेलकुदमा कहिलेदेखि र कहाँसम्म प्रभाव पारिरहेको छ, अनि अब सम्बन्धित खेलाडीले के भनेर संयम धारण गर्ने ?
हरेक चार वर्षमा आउने ओलम्पिक खेलकुदले अनेक सम्भावना लिएर आउँछ । तर, नेपाली खेलकुद ती सारा सम्भावनाबाट च्युत हुन पुग्छ । आखिर किन ?
संसारको सबैभन्दा ठूलो, सबैभन्दा पुरानो, सबैभन्दा खर्चिलो तैपनि सबैभन्दा प्रतिष्ठित मानिएको कुनै खेलकुद प्रतियोगिता छ भने त्यो हो ओलम्पिक खेलकुद प्रतियोगिता । र, नेपालले प्रत्येक चार वर्षमा हुने यो खेलकृुदमा सन् १९६४ देखि भाग लिँदै आइरहेको छ ।
अनि फेरि बस्, कुराहरूको गुजुल्टो यहीँनिर छ । इतिहास घुम्दैफिर्दै फेरि त्यहीं ठाउँमा आइपुगेको छ । अर्थात्, खेलाडी एकाध र पदाधिकारी दर्जनौँ । ल, खेलाडी त फर्केलान्, उनीहरूले आफ्नो क्षमता पनि जथाभावी प्रस्तुत गर्लान् तर ती पदाधिकारीको प्रस्तुति भने के गर्ने ? उनीहरू फरक ढंगका हुन्छन् । उनीहरूले कसरी आफ्ना कुरा राख्न सक्छन् ? खैर, यी पनि सामान्य कुरा भए । गाँठी कुरा के हो भने, यो प्रवृत्ति कहिलेसम्म चलिरहने ?
नेपालले सन् १९६४ मा जतिबेला पहिलोपटक ओलम्पिक खेलकुदमा भाग लियो त्यतिबेलादेखि नै खेलाडीभन्दा पदाधिकारी धेरै जाने परम्पराको जग बस्यो । झन्डै एक खेलाडी बराबर पाँच वा सातजना पदाधिकारी पठाइने अघोषित परम्रपराको थालनी भयो । त्यही परम्परा अहिलेसम्म पनि जस्ताको तस्तै छ । अनि यो बेला गर्ने के ?
नेपालमा खेलकुदलाई राजनीतिले अत्यधिक गाँजेको परिस्थितिमा सधैँको एउटा निरस परम्परा देखिएको छ । खेलाडीभन्दा अन्य असम्बन्धित व्यक्तित्व ओलम्पिक भनेर धेरै सहभागी हुने । र, त्यसमा पनि के दुर्भाग्य छ भने ती असम्बन्धित व्यक्तिको नाम कहिल्यै मिडियामा सार्वजनिक हुँदैन । अब यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । अन्यको दाँजोमा खेलाडीले प्राथमिकता पाउनुपर्छ । अनि मात्र मुलुकको खेलक्षेत्रले विकासमा फड्को मार्न सक्छ ।

प्रतिक्रिया