सडकमा साँढेको रजाइँ

सुर्खेत, १२ साउन । वीरेन्द्रनगरमा छाडा छाडिएका साँढे तथा पशु चौपायाका कारण सडक आवागमनमा अवरोध हुन थालेको छ । छाडा पशुको बथानसँगै ठूला साँढे पनि देखिन थालेपछि दुर्घटनाको भय बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कृष्णराज सापकोटा भन्छन्, ‘पछिल्लो समय सडकमा साँढेको रजाइँ छ ।’ छाडा पशु र साँढेका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको उनले बताए । ‘बीच सडकमा आएर बसिदिन्छन् जति हटाउन खोजे पनि मान्दैनन्,’ उनले भने, ‘सवारी दुर्घटनासमेत निम्तिने गरेको छ ।’
मंगलगढीचोकनजिकै चाट पसल गर्दै आएका बब्लु बर्मा साना पशुलाई हटाउन सकिने भए पनि ठूला साँढेलाई हटाउन नसकिने बताउँछन् । उनले विगत वर्षमा साना पशु मात्रै देखिने गरे पनि यो वर्ष आधा दर्जनभन्दा बढी ठूला साँढे सडकमा देखिएको बताए ।
सवारी चापले व्यस्त मुख्य राजमार्गमा साँढे र अन्य पशुको रजाइँ चलेको स्थानीय बताउँछन् । ‘सधँै सडकमै भेटिन्छन्, सवारी आवागमनका साथै पैदलयात्रुलाई समेत समस्या हुने गरेको छ,’ स्थानीय व्यापारी रामचन्द्र चौरसियाले भने ।
छाडा छाडिएका पशु–चौपायाका कारण सवारी दुर्घटना पनि बढेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाले छाडा पशु नियन्त्रणका लागि दुईवटा कान्जिहाउस निर्माण गरेको छ । बाख्रा र बंगुरका लागि एउटा र गाई, भैँसी, घोडा र खच्चडका लागि अर्को । तर, दुई वर्षदेखि ती कान्जिहाउस प्रयोगविहीन बनेको नगरपालिकाका कर्मचारी बताउँछन् । दुई वर्षअघिसम्म कान्जिहाउसबाट हजारौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको नगरपालिकाले दुई वर्षदेखि राजस्व उठाउन सकेको छैन ।
केही वर्षअघिसम्म छाडा पशुलाई कान्जिहाउसमा ल्याएर राखे पनि पशुधनी लिन नआएपछि नगरपालिकाले छाडा पशु नियन्त्रणमा लिनसमेत छाडेको छ । ‘जति दिन कान्जिहाउसमा राखे पनि धनी लिन आउँदैनन्,’ नगरपालिकाका योजना अनुगमन तथा प्रकाशन अधिकृत प्रकाश पौडेलले भने, ‘नगरपालिकाले सधैँ कान्जिहाउसमा राखेर पाल्न नसक्ने भएपछि भेरी लगेर छाड्न थाल्यौँ ।’

प्रतिक्रिया