एथेन्स, ११ साउन । आफ्नो ट्वीटरमा रंगभेदी आशय झल्किने टिप्पणी राखेको र त्यसले मुलुकभित्र ठूलो प्रतिक्रिया उठेपछि ग्रिसका ट्रिपल जम्प खेलाडी पारासकेभी पापाक्रिस्ताउलाई लन्डन ओलम्पिक खेलकुद टोलीबाट निष्काशित गरिएको छ । उनलाई बुधबार ग्रिक टोलीबाट निष्काशित गरिएको ग्रिक ओलम्पिक टोलीका प्रमुख इसिडोरस कोउभेलोसले जनाएकी हुन् । पापाक्रिस्ताउको ट्वीटर लेखनले गर्दा देशभित्र ठूलो होहल्ला मच्चिएपछि राजनीतिक दलहरूले उनलाई तत्काल ओलम्पिक सहभागिताबाट वञ्चित गर्नुपर्ने आवाज उठाएका थिए ।
‘ग्रिसमा यति धेरै अफ्रिकनहरू छन्… अब त वेस्ट नाइल (नदी) का लामखुट्टेले पनि कम्तीमा स्वदेश–निर्मित खाना पाउने भएका छन् † † †’ उनले आफ्नो ट्वीटर अकाउन्टमा पोस्ट गरेकी छन् ।
ग्रिक ओलम्पिक टोलीकी प्रमुखले पापाक्रिस्ताउले उक्त भनाइ आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेर ओलम्पिक मूल्यमान्यता भंग गरेका कारण ओलम्पिकमा सहभागी हुन नसक्ने बताइन् । ग्रिक स्काई टिभीसित कुराकानी गर्दै टोलीप्रमुख कोउभेलोसले भनिन्, ‘पापाक्रिस्ताउले ओलम्पिकका आधारभूत मूल्यमान्यताप्रति समेत कत्ति सम्मान व्यक्त गरिनन् । त्यसकारण उनी दुर्भाग्यपूर्वक ओलम्पिक सहभागिताबाट वञ्चित हुन पुगिन् । उनले ठूलो गल्ती गरिन् र जीवनमा आफूले गरेको गल्तीका लागि हामीले सजाय त भोग्नै पर्ने हुन्छ ।’ तेइस वर्षीय एथलिट पापाक्रिस्ताउले बुधबार निकै लामो क्षमायाचना गर्दै उक्त ट्वीटर कमेन्ट ‘दुर्भाग्यपूर्ण एवं रंग न ढंगको ठट्टा’ मात्र भएको जिकिर गरेकी छन् ।
कुकुरले टिकट खाइदिएपछि …
कुकुरले हवाईजहाजको टिकट टोकेका कारण इतिहास कायम गर्ने तरखरमा रहेकी अमेरिकी सुटरले यात्रामा समस्या भोग्नुपरेको छ । लगातार पाँचपटकको ओलम्पिकमा पदक जित्ने अभियानमा लागेकी किम रोड डेनमार्कको प्रशिक्षण शिविरमा सही समयमा पुग्न नसक्ने भएकी छन् । दुईपटकको यात्रा फेरिएपछि उनी कोपनहेगन प्रशक्षिण गर्न नगईकन सिधै लन्डन पुगेकी छन् । उनले यात्राको प्रयासका कारण थाकेको महसुस भए पनि ओलम्पिकका लागि हतोत्साही नभएको बताएकी छन् ।
‘मैले घरमै अभ्यास गरेँ, लसएन्जलसबाट सिधै लन्डन गए । तर, जेट एयरका केही कर्मचारीको व्यवहारले मलाई उदेक लागेको छ,’ उनले भनिन्, ‘मेरो श्रीमान्ले पासपोर्ट हराए र मेरो टिकट कुकुरले खाइदियो । मैले फोटो देखाएर आफूलाई प्रमाणित गर्ने कोसिस गरेँ तर जेटका कर्मचारीले पत्यारै गरेनन् ।’
ट्रायप र स्किटमा प्रतिस्पर्धा गर्ने रोडले बुधबार लन्डनमा टोलीका अन्य साथीसँग भेटेकी छन् । उनको खेल शनिबार परेको छ । ‘मेरा सबै साथीले डेनमार्कमा कडा अभ्यास गरे । मैले पनि लस एन्जलसमा गरेँ तर एक्लोपनको महसुस हुँदो रहेछ,’ उनले भनिन् ।
पाँचौँ पदक र तेस्रो स्वर्णका लागि प्रतिस्पर्धा गर्ने रोडले इतिहास कायम गर्ने कुरामा ध्यान दिएर आफ्नो ध्यान अन्यत्र मोड्न नचाहेको बताएकी छन् ।
तेक्वान्दो निर्णयमा विवाद नआउने
तेक्वान्दो अधिकारीहरूले लन्डन ओलम्पिक्समा स्कोरिङका लागि इलेक्ट्रोनिक्स साधनको प्रयोग गरिने भएपछि कुनै विवाद नहुने विश्वास व्यक्त गरेका छन् । बेइजिङ अेलम्पिकमा तेक्वान्दोका थुप्रै नतिजा विवादमा आए जसमा महिला हेभिवेट स्पर्धाको एउटा नतिजा नै उल्ट्याइएको थियो । अहिले प्रयोग गरिने इलेक्ट्रोनिक्स डिभाइसले स्कोर हुनेगरी जिउमा लागेको हो या होइन भनी छुट्याउने गर्छ । विश्व तेक्वान्दो महासंघका महासचिव जिन मारी आयरले लन्डन ओलम्पिकको तेक्वान्दो स्पर्धामा कुनै विवाद भए आफूलाई एकदमै चकित तुल्याउने बताए । उनले तेक्वान्दोलाई आकर्षक बनाउन टाउकोमा प्रहार गरिए बढी अंक पाउने प्रावधान राखिने बताए ।
प्रतिक्रिया