विषसेवनको कारण खुलेन

काठमाडौं, १० साउन । विषसेवन गरेपछि अचेत अवस्थामा आइसियुमा राखेर उपचार गरिएका निर्देशक ज्ञानेन्द्र देउजाको मंगलबार बिहान होस खुलेको छ । अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा उल्लेख्य प्रगति भएकाले उनी खतरामुक्त छन् ।

देउजालाई सोमबार साँझ काठमाडांैको गोकर्ण जंगलमा बेहोस अवस्थामा फेला पारिएपछि अस्पताल पुर्‍याइएको थियो । उनलाई सोमबार साँझै जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरेर आइसियुमा राखिएको थियो । होस खुले पनि देउजाका आफन्त र सीमित साथीभाइले मात्र भेट्न पाए । उनलाई भेट्न थुप्रै चलचित्रकर्मी तथा पत्रकार अस्पताल पुगेका थिए ।
देवजाले आत्महत्याको प्रयास गर्नुको कारण अझसम्म खुल्न सकेको छैन । मंगलबार प्रहरीले गरेको सामान्य सोधपुछमा देउजाले घरायसी कारण देखाएका छन् । बौद्धवृत्तका डिएसपी श्याम ज्ञवालीले अहिलेसम्म आत्महत्याको प्रयासबारे ठोस कारण पत्ता नलागेको बताए ।
निर्देशक देउजाका छोरा सुलभले बुबाको स्वास्थ्य अवस्थामा सुधार भएकाले बुधबार डिस्चार्ज हुनसक्ने आशा व्यक्त गरे । आत्महत्या प्रयास गर्नुको कारणबारे उनले केही बताउन चाहेनन् । ‘स्वाथ्य अवस्था नर्मल भएकाले आत्तिनु नपर्ने डाक्टरहरूले बताउनुभएको छ,’ उनले सौर्यसँग भने । होस आएपछि बुबाले आफूसित हाँसीखुसी कुरा गरेको पनि उनले जानकारी दिए ।
सुलभका अनुसार देउजा सोमबार अफिसबाट दिउँसो १२ बजे नै घर
आएका थिए । बुबा कुनै तनाबमा भएको आफूले महसुस नगरेको उनको भनाइ छ । ‘किन त्यसो गर्नुभयो, केही थाहा भएन,’ उनले भने ।
देउजा होसमा आएपछि नायिका सुमिना घिमिरेले मंगलबार भेट्ने मौका पाइन् । नेपाल मेडिकल कलेज जोरपाटीमा करिब २ बजे पुगेकी उनी देउजासित आधा घन्टा बसेकी थिइन् । घिमिरेले आफूसित देउजाले चलचित्रका बारेमा सामान्य कुराकानी गरेको बताए । आफूले आत्महत्या प्रयासको कारणबारे सोध्दा देउजाले हाँसेरै टारेको उनले बताइन् ।
देउजाका निकट साथी निर्देशक ओम प्रतीकले क्यासिनोमा पैसा हारेर विष खाएको हल्ला सत्य नभएको दाबी गरे । प्रतीक भन्छन्, ‘५० लाख क्यासिनोमा हार्दैमा उहाँले विष खानुहुन्छ जस्तो लाग्दैन । उहाँ आर्थिक रूपले सक्षम मान्छे हुनुहुन्छ ।’ उनले क्यासिनोमा जुवा खेल्नेबारे आफूलाई जानकारी नरहेको प्रतीकले बताए ।
त्यस्तै, चलचित्रकर्मी माधव पण्डितले देउजाको होस खुलेपछि हस्पिटल पुग्दा साधारण अवस्थामा पाएको बताए । ‘उहाँ ८० प्रतिशत स्वस्थ देखिनुभयो,’ पण्डितले भने । उनले पनि क्यासिनोमा पैसा हारेर विष खाएको कुरामा आफूलाई विश्वास नरहेको बताए । सोमबार बेलुकी केशव भट्टराई, सुरेशदर्पण पोखरेल, ओम प्रतीक, कृष्ण चापागाईं, प्रज्ञा जोशीलगायत चलचित्रकर्मी अस्पताल पुगेका थिए ।

प्रतिक्रिया