कान्तिपुरमा आकस्मिक सेवा ठप्प

काठमाडौं, ९ साउन । नेपाल राष्ट्रिय कर्मचारी संगठनले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिको आकस्मिकलगायतका सेवा आज बिहानबाट बन्द गराएको छ ।
संगठनको मूल ईकाइले आफ्ना पेसागत मागलाई व्यवस्थापन पक्षले वेवास्ता गरेको भन्दै आकस्मिक सेवा समेत बन्द गराएको हो ।
संगठनका अध्यक्ष विकास अधिकारीका अनुसार अस्पतालका सम्पूर्ण अस्थायी कर्मचारीलाई स्थायी गरिनुपर्ने, व्यवस्थापन पक्षबाट एकतर्फीरुपमा कर्मचारी निष्काशन कार्य बन्द गर्नुपर्ने, निष्काशनमा परेका कर्मचारीलाई फिर्ता गरिनुपर्ने, तलबलगायतका सुविधा समयमा दिनुपर्ने रहेका छन् ।
अस्पताल व्यवस्थापनले अस्पतालको नियम विपरीत काम गरेका छ जना कर्मचारीलाई निष्काशन गर्ने सूचना हालै प्रकाशित गरेको थियो ।
करिब एक सय बेड क्षमताको सो अस्पताल कर्मचारी आन्दोलनकै कारण केही दिनदेखि साधारण सेवा समेत दिन सकेको छैन ।

प्रतिक्रिया