काठमाडौं, ९ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरित मुलुक चलाउन खोज्ने कुनैपनि शक्ति दीर्घकालसम्म जान नसक्ने बताएका छन् ।
मुलुकको संक्रमणकालको फाईदा लिएर अहिले एकीकृत माओवादी लोकतान्त्रिक मूल्य र मान्यताविपरित राज्य संयन्त्रमाथि हैकम जमाउने दुष्प्रयासमा लागेको दाबी गरे । उनले भने, ‘त्यसरी चल्ने शक्ति अनन्तकालसम्म जान सक्दैन ।’
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेपालले चार बर्षे कार्यकाल पूरा हुँदासमेत संविधान दिन नसकेर संविधानसभा विघटन गरेकोमा एमाओवादीप्रति आक्रोश जनाए ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईले अन्य दलहरुसँग परामर्श नगरेर एकतर्फीरुपमा घोषणा गरेको निर्वाचनलाई सत्ता लम्बाउने षड्यन्त्रको संज्ञा दिएका छन् । उनले भने, ‘अन्तरिम संविधानले दिएको अख्तियारीलाई नाघेर प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन असम्भव छ ।’
नेता नेपालले मुलुकलाई संक्रमणकालबाट अन्त्य गराउन प्रधानमन्त्रीले तत्काल मार्गप्रशस्त गर्नुपर्ने बताए ।
प्रतिक्रिया