काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले ओलम्पिक कमिटीलगायत विभिन्न राष्ट्रिय खेल संघको आर्थिक पक्षलगायत छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिलाई आफ्नै नाममा पनि पेस्की देखिए त्यसको छानविन गर्न निर्देशन दिएका छन् ।
समितिका संयोजक राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनालगायत समितिका अन्य सदस्य तथा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीको उपस्थितिमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा सदस्यसचिव लामाले उक्त कुरा भनेका हुन् । लामाले संघलाई समितिले दिएको समय सीमामा पेस्की फछ्र्यौट गर्न भन्दै त्यसो नगरेको खण्डमा समितिले तयार पारेको प्रतिवेदनलाई राखेप आफंैले अख्तियारमा पठाउने बताए ।
‘जनताको पसिनाबाट उठाइएको करबाट राज्यले प्रदान गरेको रकमलाई कसैले अपचलन गर्न पाउँदैन,’ लामाले भने, ‘समितिले दिएको समय सीमामा पेस्की फछ्र्यौट गर्नुस्, होइन भने समितिको प्रतिवेदनलाई हामी आफै अख्तियारमा पठाउछौँ ।’ सदस्य सचिवले यस्तो दाबी गरे पनि छैटाँै राष्ट्रिय खेलकुदका बारे अख्तियारमा मुद्दा चलिरहेको छ भने धनगढीमा उपयोग गरिएका होटलका बिलसमेत तिरिएको छैन । लामाले ओलम्पिक कमिटीलाई नेपालको झन्डा हस्तान्तरण गर्ने कुनै अधिकार नभएको बताउँदै त्यो अधिकार नेपाल सरकारमा मात्र रहेको बताए । तथापि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्ना मातहतका निकायलाई बेवास्ता गर्दै अन्य निकायसँग कुनै सरोकार राख्ने गरेको प्रचलन छैन ।
सदस्यसविच लामाले दक्ष खेल शिक्षक उत्पादन गर्न तालिम सञ्चालन गर्ने परिषद्को पवित्र उद्देश्यलाई केही समूहले अनावश्यक प्रचारबाजी गरी भ्रम सिर्जना गर्न खोजेकामा मात्र खेद व्यक्त गर्न सकिने बताए । सदस्यसचिव लामाले नेपालको खेलकुदको मोडल गन्तब्यहीन भएको बताउँदै अब राखेप, संघ र प्राविधिक टोली बसेर संघहरूले आफ्नो खेलको मोडल कस्तो हुने हो भनेर त्यो तय गर्न जरुरी भएकोमा जोड दिए । उनले पूर्वाधारको मोडल पनि तय हुन आवश्यक रहेको विचार व्यक्त गरे । (सौस)
प्रतिक्रिया