कराते महासंघको अध्यक्षमा दावा निर्विरोध

काठमाडौं, ९ साउन । नेपाल कराते डो महासंघको अध्यक्षमा दावा गुरुङ चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको महासंघको पहिलो साधारणासभाले दावाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन गर्‍यो । देवकुमार लामा उपाध्यक्षमा चुनिए भने सानुलाल श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।
प्रकाशमोहन धौबडेल, ध्वजमान मोक्तान, बलराम मित्र, विसनसिंह खड्का, श्याम शेर्पा, ओमकृष्ण प्रसाईं, नारायणबहादुर मगर, राधिका देउला, कपिल पाण्डे, कुवेरमान राई, इन्द्र वज्राचार्य तथा राजु थापा सदस्यमा चयन भए ।
निर्वाचित र मनोनितसहित केन्द्रीय कार्यसमितिको संख्या ३१ रहेको छ । अब समान ४–४ उपाध्यक्ष र सचिव, एक महासचिव र सात सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।
साधारणसभामा पाँच विकास क्षेत्र, गोजुरियो, वादोरियो/वादोकाई, सोतोकान, सितोरियो, कार्यसमिति अन्तर्गतको विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, निर्णायक, प्राविधिक कमिटी, प्रशिक्षक, दक्षिण एसियाली/एसियाली स्वर्ण विजेता तथा केन्द्रका गरी कुल ९७ प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा एसियाली कराते महासंघका अध्यक्ष चाङ कुवाङ हुइको शुमकामना पत्र वाचन गरिएको थियो भने करातेका विश्व च्याम्पियन स्पातारो एन्जेलोको पनि उपस्थिति थियो ।

प्रतिक्रिया