६० प्रतिशत जमिनमा मात्रै रोपाइँ

इलाम, ९ साउन । साउनको पहिलो साता बितिसक्दा पनि इलाममा भने ६० प्रतिसत जनिमनमा मात्रै रोपाइँ भएको छ ।

पानी नपरेपछि साउन पहिलो साता सम्म पनि इलामका किसानले धान रोप्न नसकेका हुन । अघिल्लो वर्ष समयमै मनसुन हुँदा असार मसान्तसम्म ८० प्रतिशत रोपाइँ सकिएकोमा यस पटक भने मनसुनकै कारण ढिला भएको हो ।
समयमा पानी नपरेका कारण अझै रोपाइँ गर्न नसकिएको सोयाङ्ग–६ का किसान दाताराम सञ्जेलले बताए । वर्षेनी एक मुरी बीउको धान रोप्दै आएका उनले पानी नभएकै कारण हालसम्म रोपाइँको सुरसार नभएको बताए । त्यस्तै मार्इं, जोगमाई, पुवामाई, रतुवा आसपासका बेंसी र दक्षिणी गाविस दानाबारी, चुलाचुली, महमाई, बाँझो, इभाङलगायतका क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन । कतिपय खेतमा मकै काटिसकेपछि मात्रै रोपाइँ गरिने भएकाले पनि धान रोप्न ढिला भएको किसानहरू बताउँछन् ।
साउन पहिलो सातासम्म आधाभन्दा केही बढी रोपाइँ सकिनु दुर्भाग्य भएको यस क्षेत्रका किसानको भनाइ छ । इलाममा १४ हजार आठ सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । जसमध्ये करिब सात हजार हेक्टरमा रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । जिल्लामा आधा खेतमा मात्र सिँचाइ सुविधा छ । धेरै ठाउँमा धान रोप्न किसानले आकासे पानीको भर पर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र मल्ले बताए । जिल्लामा मन्सुली, भाले मन्सुली, राधा १७, राधा १२, बासमती, मिथिला, सावित्री जातका धान लगाइने गरिन्छ ।
साउन दोस्रो सातासम्म पनि पानी नपरेमा यस क्षेत्रमा धान खेती लगाउने नसक्ने किसानहरु बताउँछन् । यदि यस्तो अवस्था सृजना भए ६ महिनापछि नै खाद्य संकट निम्तिन सक्ने उनीहरुको अनुमान छ ।
आधा खेत बाँझै

बाग्लुङ : समयमै पानी नपर्दा बाग्लुङका ५० प्रतिशत खेत अझै बाँझै छन् । असारको मध्यतिर केही दिन वर्षा भएर मूल फुटेका र कुलो भएका ५० प्रतिशत खेतबारीमा मात्र रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नहुँदा पहाडी क्षेत्रका उच्च भागमा समयमै रोपाइँ गर्न नपाउँदा कृषकहरू चिन्तित छन् । आकासे पानीको भरमा धान रोपाइँ गर्न बाध्य कृषकहरू राम्रो वर्षा नभएका कारण थप मारमा परेका छन् । अलिअलि पानी परेकाले रोपाइँ गर्न कठिनाइ भएको किसान गंगा थापा बताउँछन् । जिल्लाको दक्षिण कुश्मिसेरा, नारायणस्थान, पैयुपाटा, अमलाचौरजैदी, छिस्ती, अर्जेवाका साथै पश्चिम क्षेत्रको गलकोटका विभिन्न गाविसका फाँटका खेतमा रोपाइँ हुन नसकेको कृषि कार्यालयले जनाएको छ । साउन पहिलो सातासम्म पनि पर्याप्त पानी नपरेका कारण धान रोप्न ढिलाइ भएको हो ।
विशेष गरेर उच्च भेगका मकै छरेका खेतमा पानी अभावले रोपाइँ गर्न नसकेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए । अझै केही दिन राम्रो वर्षा भए उत्पादनमा खासै असर नपर्ने उनको दाबी छ । बाग्लुङमा पाँच हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमा एक हेक्टरमा ३ दशमलव ०१ मेट्रिक टन धान उत्पादन हुने र गत वर्ष १७ हजार आठ सय ८५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया