काठमाडौं, ९ साउन । विभिन्न घटकका कम्युनिस्ट नेताहरूले जातीयता कम्युनिस्ट पार्टीको मुख्य मुद्दा नभएको बताएका छन् । कम्युनिस्ट पार्टीको गठन नै वर्ग आधारित भएकाले जातीय मुद्दालाई कम्युनिस्ट पार्टीले प्राथमिकता दिन नहुने उनीहरूको दाबी छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३४औँ स्मृति दिवसमा पुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार ‘पुष्पलाल र जातीय सवाल’ विषयमा गरेको कार्यक्रममा नेताहरूले जातीय समस्या र संघीय इकाइ गठनलाई सँगसँगै गाँसेर हेर्न नमिल्ने बताए । प्रतिष्ठानका अध्यक्ष एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेशहरू बहुजातीय हुनुपर्ने र मुलुकभित्रको जातीय समस्यालाई संघीय इकाइ गठनमा गाँस्न नहुने बताए । ‘देश, प्रदेश, जिल्ला गाविस कुनै पनि एकल जातीय हुँदैनन्’ नेपालले भने, ‘जातीय सवाललाई भूगोलको सिमानामा बाँध्न खोज्दा समस्या उत्पन्न भएको हो ।’ नेपालले जातीय उत्पीडनको अन्त्य गर्ने कुरा र राज्य पुन:संरचनामा संघीय इकाइ गठन फरक विषय भएको दलिल पेस गरे । नेपालले संस्थापक महासचिव पुष्पलालले वर्गीय उत्पीडन अन्त्य भए जातीय उत्पीडन नहुने विचार राख्ने गरेको पनि बताए । पछिल्लोपटक जनजाति नेताहरूले पनि आफूहरूले जातीय राज्य नचाहेको बरु सबै जातजातिलाई अधिकारसम्पन्न बनाउन चाहेको बताएर सकारात्मक बन्दै गएको नेपालले दाबी गरे । ‘जातीय आन्दोलनमा रहेका नेताहरूले पनि हामीले जातीय राज्य चाहेका होइनौँ, जातीय हिसाबले समानता मात्र चाहेका हौँ भन्नुभएको छ, यो सकारात्मक कुरा हो,’ नेपालले भने ।
एमाले उपाध्यक्ष वामदेव गौतमले पुष्पलालले वर्गीय आन्दोलनको अगुवाइ गरेकाले उनलाई जातीय सवालमा जोडेर कार्यक्रम गर्नु नै अनुपयुक्त भएको बताए । उनले समाजमा सम्बोधन गर्नैपर्ने जातीय समस्या रहेको तर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय समस्यालाई दुरुपयोग गरेर झन् समस्या थपेको दाबी गरे । ‘जातीय समस्या आजको होइन, पहिल्यैदेखि थियो,’ गौतमले भने, ‘जातीय समस्यालाई पुष्पकमलले मुलुक बर्बाद भए होस् पार्टी बनाउनुपर्छ भनेर दुरुपयोग गरेका मात्रै हुन् ।’
नेकपा–माओवादीका नेता सुरेश आलेमगरले भने माक्र्सवाद सबैखाले उत्पीडनविरुद्धको दर्शन भएकाले जातीय उत्पीडनलाई पनि वर्गीय उत्पीडनसँग गाँसेर हेर्नुपर्ने बताए । ‘जातीय मुद्दा कम्युनिस्ट आन्दोलनमा पछि आएको मुद्दा हो,’ आलेमगरले भने, ‘तर, पछि आए पनि यो वर्गसंघर्षकै एउटा रूप हो उत्पीडित वर्ग, जाति, क्षेत्र लिंग जोसुकैको संघर्ष पनि माक्र्सवादसम्मत छ ।’ उनले पुष्पलाल जीवित छँदा जातीय मुद्दा नउठेकाले उनले जातीय मुक्तिको कुरा अघि नबढाएको दाबी गरे । इतिहास अध्येता तथा प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितले जातीय आधारमा राज्य बनाउँदै गए मुलुकमा राज्य बढ्दै जाने र अर्थतन्त्रले धान्नै नसक्ने बताए । उनले पुष्पलाल वर्गसंघर्षवादी र पुष्पकमल दाहाल जाति संघर्षवादी भएको दाबी गरे । ‘कहाँको वर्गसंघर्षको कम्युनिस्ट सिद्धान्त, कहाँको जातीय विद्वेषको पुष्पकमलको काम, यसबीच कुनै सम्बन्ध छैन,’ प्रश्रितले भने, ‘पुष्पकमलले हतियार उठाउनु, हतियार बुझाउनु, १२बुँदे गर्नु, ७ बुँदे गर्नु आफूले गरेको सबै काम गल्ती भयो भनेर स्वीकार गरेका छन् ।’
कार्यक्रममा नेकपा संयुक्तका महासचिव सुनील मानन्धरले पनि संस्थापक महासचिव पुष्पलालले कहिल्यै जातीय कुरालाई प्रधान नबनाएको र आºनो नामको पछाडि पनि थर नलेखेको स्मरण गरे । उनले एकल जातीय पहिचानका राज्य बन्न नहुने धारणा अघि सारे । यस्तै, नेकपा माक्र्सवादीका माधव ज्ञवालीले पुष्पलालले वर्गसंघर्षलाई प्रधान बनाएर कम्युनिस्ट पार्टी गठनको अगुवाइ गरेको दाबी गरे ।
प्रतिक्रिया