भैरहवा : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय लुम्बिनी भैरहवाद्वारा बिक्री–वितरण गरेको नुनमा बालुवा मिसिएको पुष्टि भएको छ । नुनको प्याकेटमा बालुवा मिसिएको खबर सौर्य दैनिकले प्रकाशन गरेपछि क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले नुनको नमुना संकलन गरी परीक्षण गर्दा नुनमा बालुवा मिसिएको पुष्टि भएको हो ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाको रिपोर्टमा नुनमा अखाद्य वस्तु मिसिएको पुष्टि गरेको खाद्य प्रमुख किशोर खत्रीले बताए । उनले भने, ‘नुनमा बालुवा मिसिएको पुष्टि भएको छ ।’ बालुवा मिसिएको नुनबारे रुपन्देहीका सिडिओलाई पनि सोमबार नै जानकारी गराइएको र खाद्य ऐनअनुसार साल्ट ट्रेडिङ भैरहवाविरुद्ध मुद्दा चलाइने उनले बताए ।
पछिल्लो समयमा भैरहवा, बुटवल र बर्दघाटमा नुनमा बालुवा मिसिएको सार्वजनिक भएको थियो ।
यद्यपि, प्रयोगशालाको रिपोर्ट झन्डै एक महिनापछि आएको छ । रिपोर्टमा नुनमा हुनुपर्ने अन्य तत्त्व ठीक भए पनि अघुलनशील पदार्थ पनि भेटिएको प्रमुख खत्रीले बताए ।
भारतबाट इन्डो ब्रान्डबाट आएको झन्डै ५० हजार बोरामा नुनमा बालुवा मिसिएको आशंका अब प्रमाणित भएको छ । भारतबाट प्रतिबोरा ५० केजीमा आउने सो नुनलाई नेपाल साल्ट ट्रेडिङ लिमिटेडले आयो नुनको खोल भएको एक किलोमा पुन: प्याकिङ गरी बिक्री–वितरण गर्ने गर्छ । (सौस)
प्रतिक्रिया