कोइराला आए, ओली गए

काठमाडौं : नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै एमाले नेता केपी शर्मा ओली आइतबार भारतको दिल्ली प्रस्थान गरेका छन् ।
नियमित स्वास्थ्य जाँचका लागि भनिए पनि नेता ओलीले एक साता लामो दिल्ली बसाइमा राजनीतिक भेटघाट पनि गर्ने उनीनिकट स्रोतले बताएको छ । अब बन्ने सहमतिको सरकारका लागि कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार दिन नसके एमालेबाट उम्मेवारका रूपमा चर्चामा आएका ओलीले दिल्लीमा स्वास्थ्य परीक्षण र राजनीतिक भेटघाट गर्नेछन्  ।
‘अघिल्लै महिना स्वास्थ्य परीक्षणका लागि जानुपर्ने थियो, पार्टीको कार्यकर्ता भेलाका कारण जान सकिएन,’ ओलीले सौर्यसँग भने, ‘म राजनीतिक व्यक्ति पनि हुँ, गएपछि राजनीतिक भेटघाट पनि हुन सक्छ ।’
उनले कांग्रेस आई, भारतीय जनता पार्टी र कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ ।
कांग्रेस नेतृत्वमा सहमतीय सरकार गठन प्राथमिकतामा रहेको बताउँदै आएको एमालेले प्रधानमन्त्रीको उम्मेदवार छिटो तय गर्न कांग्रेसलाई आग्रह गर्दै आएको छ । कांग्रेस अग्रसर नभए आफू जिम्मेवारी लिन तयार रहेको एमालेले बताउँदै आएको छ । ओली दिल्ली जानुअघि कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला भारतीय नेताहरूसँग भेटघाट गरी आइतबारै स्वदेश फर्केका छन् । (सौस)

प्रतिक्रिया