एमाओवादीबाट कम्युनिष्ट आन्दोलनलाई धोका

काठमाडौं, ७ साउन । एमालेका शीर्ष नेताहरुले क्रान्तिकारीको आवरणमा बसेर एकीकृत माओवादीले सत्ताकब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन् ।
युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले एमाओवादीको गतिविधि र क्रियाकलापले कम्युनिष्ट आन्दोलनलाई धोका र बद्नाम बनाएको दाबी गरे ।
वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको आरोप लगाए । ‘एमाओवादी प्रजातन्त्र माथिकै कलंक हो,’ उनले भने, ‘पैसा र सत्ताका लागि मरिहत्य गर्ने एमाओवादी सोही रुपमा चित्रित भएको छ ।’
नेता नेपालले एमाओवादी र मधेसी मोर्चाको गठबन्धनले सहमति भन्दा मुठ भेड निम्ताएको बताए । ‘एमाओवादी र मधेसी मोर्चा सहमति चाहदैनन्,’ उनले भने, ‘उनीहरुका पछिल्ला गतिविधि मुठ भेड तर्फ उन्मुख छन् ।’
एमाले वरिष्ठ नेता केपी ओली एमाओवादी एकतर्फि रुपमा सत्ताकब्जामा उन्मुख भएर लागेको बताए । एमाओवादीले दलहरु वीच भएका सहमति र सहकार्यलाई ओझेल परेको उनको भनाई छ ।
क्रान्तिकारीको खोल आडेर सत्ताकब्जाको रणनीतिमा लागेको बताएका ओलीले भने, ‘सत्ताकब्जा गर्ने एमाओवादीको रणनीति कहिल्यै पुरा हुँदैन ।’
एमाले सचिव शंकर पोखरेल क्रान्तिकारी आवरणमा अतिवादी लादेर एमाओवादीले मुलुक कब्जामा लागेको आरोप लगाए । उनले एमाओवादीका कारण मुलुकले सहमतिको बाटो भूलेको उल्लेख गरे ।

प्रतिक्रिया